अस्ट्रेलियामा नेपाली विद्यार्थी ५० प्रतिशतले बढे

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या एक वर्षमा करिब ५० प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांकअनुसार सन् २०१७ मा ३५ हजार २ सय १२ विद्यार्थी भर्ना भएकामा २०१८ मा यो संख्या बढेर ५२ हजार २ सय ४३ पुगेको छ । जुन गत वर्षको तुलनामा ४८ दशमलव ४ प्रतिशतले बढी हो ।

अस्ट्रेलियामा नेपाली विद्यार्थी ५० प्रतिशतले बढे

अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा चीन र भारतपछि नेपाल तेस्रो स्थानमा छ । विभागले अध्ययनका लागि अस्ट्रेलियाका विभिन्न शैक्षिक निकायमा भर्ना भएका ८ लाख ७६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालका विद्यार्थी ६ प्रतिशत रहेको जनाइएको छ । भिसा दिने प्रक्रियामा पछिल्लो समयमा केही चुस्तता अपनाएको भए पनि नेपाली विद्यार्थीको संख्या बढ्नु उत्साहप्रद रहेको यस क्षेत्रमा काम गरिरहेकाहरूको दाबी छ ।


विभागले नेपाली विद्यार्थीहरू सबैभन्दा धेरै उच्चशिक्षा अध्ययन गर्न आएको उल्लेख गरेको छ । त्यसपछि क्रमशः व्यावसायिक तालिम, अंग्रेजी अध्ययन र विद्यालय अध्ययनका लागि आएको तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार उच्चशिक्षा अध्ययनका लागि २८ हजार ३ सय र व्यावसायिक शिक्षाका लागि १९ हजार ४ सय भर्ना भएका छन् । अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या विगत ४ वर्षको अनुपातमा करिब २ सय ५० प्रतिशतले वृद्धि भएको छ ।


अस्ट्रेलियाले केही वर्षअघिदेखि विद्यार्थी भिसालाई व्यवस्थित गर्दै अनुमतिप्राप्त शैक्षिक संस्थालाई यससम्बन्धी धेरै अधिकार दिएको छ । जसले गर्दा पनि अध्ययनकै लागि आउने विद्यार्थीलाई सहज भएको बताइन्छ ।


परामर्शदाताका रूपमा काम गर्दै आएका सञ्जीव पाण्डे नेपाली विद्यार्थीको संख्या अन्य देशको तुलनामा वृद्धि हुनु राम्रो संकेत भएको बताउँछन् । नेपाली विद्यार्थी बढ्नुको कारणमा स्थायी बासिन्दाको अनुमतिपत्र -पीआर) पाउन अन्य देशको तुलनामा सहज हुनु, विश्वस्तरका शैक्षिक संस्थामा अध्ययन गर्न पाउनु, आफन्त तथा साथीभाइ धेरै हुनु र भाषाको सहजता हुनु रहेको दाबी गर्छन् ।


अस्ट्रेलियाले अध्ययनका लागि आउने विदेशी विद्यार्थीलाई दुई साताको ४० घण्टा कानुनी रूपमा काम गर्ने अधिकार दिएको छ । त्यसबाहेक पढाइ बिदा भएको समयमा आफूले चाहेजति काम गर्नसमेत छुट दिइएको छ । अस्ट्रेलियामा विद्यार्थीहरूले सामान्य काम गरेर पनि न्यूनतम प्रतिमहिना १ हजार ६ सय डलर -करिब १ लाख ३० हजार रुपैयाँ) कमाउन सक्छन् ।


प्रकाशित : चैत्र १५, २०७५ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?