कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घले दम्पती अस्ट्रेलियाको ८५औँ धनी

नारायण खडका

अस्ट्रेलिया — नेपाली मूलका व्यवसायी दम्पती शेष घले तथा जमुना गुरुङ अस्ट्रेलियाको ८५औं र ८६औं धनी बनेका छन् । अस्ट्रेलियाको प्रतिष्ठित पक्रिका द अस्ट्रेलियनले शनिबार सार्वजनिक गरेको अस्ट्रेलियाका २ सय ५० धनी व्यत्तिहरूको सूचीमा उनीहरू गत वर्षको भन्दा २ सय २४ मिलियन अस्ट्रेलियन डलर जोडदै यो सूचीमा परेका हुन् । 

घले दम्पती अस्ट्रेलियाको ८५औँ धनी

करिब १० वर्षदेखि अस्ट्रेलियाका धनीहरूको सूचीमा नामांकित हुँदै आएका उनीहरू द अस्ट्रेलियनको सूचीअनुसार पहिलोपटक बिलिनियरको सूचीमा पर्न सफल बनेका छन् । सूचीअनुसार उनीहरूको कुल सम्पत्ति १ दशमलव १ बिलियन डलर रहेको छ ।


हरेक वर्ष अस्ट्रेलियाका धनीहरूको सूची सार्वजनिक गर्दै आएको बीआरडब्लु म्यागजिनका अनुसार उनीहरूको गत वर्षको सम्पत्ति ८ सय ७६ मिलियन डलर रहेको थियो ।


अस्ट्रेलियाको मेलबर्नमा रहेर व्यवसायमा संलग्न उनीहरूले आफ्नो व्यवसायलाई घरजग्गा, होटल, शिक्षालगायत विभिन्न क्षेत्रमा बढाएका छन् । करिब दुई दशक पहिले नेपालबाट विद्यार्थीका रूपमा आएका उनले सुरुका समयमा सामान्य विद्यार्थीहरूसरह नै मिहिनेत गरेका थिए ।


कान्तिपुरसँग केही पहिलेको कुराकानीमा उनले कुन र कस्तो सूचीमा पर्नु आफूहरूको कहिल्यै उद्देश्य नरहेको बताएका थिए । घलेले एकै व्यवसायमा लगानी गर्नुभन्दा पनि लगानीलाई धेरै क्षेत्रहरूमा विस्तार गरेर लगानी गरेको खण्डमा सफलता हात लाग्ने अनुभवसमेत सुनाएका थिए । हरेक वर्ष सयौं मिलियन डलर आफ्नो कुल सम्पत्तिमा थप्दै आएका उनको सम्पत्ति दुई वर्षअघि सन् २०१७ मा ६ सय ४७ मिलियन रहेको बीआरडब्लु पत्रिकाले जनाएको थियो ।


आप्रवासी नेपालीहरूको संगठन एनआरएनका दुई कार्यकालसम्म नेतृत्व सम्हालिसकेका घलेले नेपालमा भूकम्प गएको समयमा भूकम्प प्रभावित क्षेत्रमै गएर पीडितहरूलाई सहयोग पुर्‍याएका थिए । गोरखाको लाप्राकमा भूकम्पपीडितहरूका लागि बनेको घरहरू निर्माणमा समेत उनको महत्त्वपूर्ण हात रहेको थियो । ‘पैसा कमाउनुभन्दा पनि आवश्यक परेको समयमा सहयोगी मन र कार्य गर्नु नै मानिसको सबैभन्दा ठूलो आम्दानी हो ।’कान्तिपुरसँगको कुराकानीमा उनले भनेका थिए ।


घले दम्पतीले अहिले मेलबर्नमा करिब ४ सय ५० मिलियन डलरको लागतमा दुईवटा भवन बनाउने तयारीसमेत सुरु गरेका छन् । यसैगरी उनको मेलबर्नमा रहेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा समेत सयौंको संख्यामा अन्तर्राष्ट्रिय तथा स्थानीय विद्यार्थीहरू विभिन्न विषयहरू अध्ययनरत छन् ।


उनको कलेज एमआईटीमा ब्याचलरदेखि सर्टिफिकेट तहसम्मका विभिन्न कोर्सहरू अध्यापन गराइँदै आएको छ । यसबाहेक करिब ५ अर्बको लागतमा उनले नेपालमा समेत होटल बनाउन सुरु गरिसकेका छन् ।


सूचीमा कार्बनबोर्ड र प्रशोधनको व्यवसायमा लागेका एन्थोनी प्राट १३ दशमलव १४ बिलियन डलरसहित पहिलो नम्बरमा छन् भने जिना र्‍यानहार्ट र ह्यारी ट्रिगुबोफ क्रमशः १३ दशमलव १२ बिलियन र १२ दशमलव ३१ बिलियनसहित दोस्रो र तेस्रो नम्बरमा छन् ।

प्रकाशित : चैत्र १७, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?