मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियाको राजधानी क्वालालम्पुर विमानस्थल नजिकै नेपाली कामदार बोकेको बस आइतबार राति ११ः३० बजे दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ । एकको अवस्था गम्भीर छ । ९ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

नेपाली दूतवासका अनुसार रामु चौधरी र जगरनाथसिंह दनुवारको घटनास्थलमै ज्यान गएको हो । केशव थापाको अवस्था गम्भीर छ । उनलाई सीसीयू कक्षमा राखिएको छ । घाइतेहरूको पान्टीङ, सेराङ र पुत्राजय अस्पतालमा उपचार भइरहेको छ ।

कम्पनीको वासस्थानबाट ड्युटी जानेबेलामा दुर्घटना भएको हो । तीव्र गतिमा रहेको बस एक्कासि सडकको ढलमा खस्न पुगेको थियो । ती कामदारलाई मोतिहार काया मक्स कम्पनीले क्वालालम्पुर विमानस्थलको मास कार्गो कम्पनीमा सप्लाई गर्दै आएको थियो ।

प्रकाशित : चैत्र २५, २०७५ १९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मौसम पूर्वानुमान प्रणाली भारतमा प्रभावकारी, नेपालमा उपकरण नै भएन

'मौसममा आकस्मिक परिर्वतन भन्ने हुँदैन, प्रभावकारी अनुमानले विपत्‌बाट हुने क्षति कम गर्न सकिन्छ ।' - सती देवी, राष्ट्रिय मौसम पूर्वानुमान केन्द्र प्रमुख, भारत
प्रविधि र जनशक्तिको सीमितताका कारण बारा-पर्सामा भएजस्तो छोटो अवधिभित्र निश्चित क्षेत्रमा विकसित हुने मौसमी गतिविधि आकलन गर्न सकिँदैन । - सरजुकुमार वैद्य, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, नेपाल 
सुरेशराज न्यौपाने, अब्दुल्लाह मियाँ

नयाँदिल्ली/काठमाडौं — बारा र पर्सामा गत आइतबार साँझ अचानक आएको हावाहुरीले २९ जनाको ज्यान लियो । सात सयभन्दा बढी घाइते भए । दुई हजार भन्दा बढी घरमा क्षति भयो । उक्त प्राकृतिक विपत् लगत्तै हावाहुरीको भविष्यवाणी किन हुन सकेन भन्ने विषयमा बहस सुरु भएको छ । मौसममा हुने परिवर्तन र त्यसबाट हुन सक्ने प्राकृतिक विपत् अनुमान गर्ने जिम्मेवार निकाय जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारको विपत्‌बारे जानकारी दिएको थिएन ।

जबकि भारतको जल तथा मौसम पूर्वानुमान विभागले विहार र उत्तर प्रदेश राज्य र त्यससँग जोडिएका नेपालका सीमावर्ती क्षेत्रमा त्यस दिन आँधीबेहरी आउने र पानी पर्न सक्ने अनुमान गरेको थियो। नेपालमा पनि विपत् अनुमान गरेर सूचना प्रवाह गरेको भए सर्वसाधारणले सुरक्षा व्यवस्था अपनाउन सक्थे, कम्तीमा मानवीय क्षति हुँदैनथ्यो भन्ने तर्क आइरहेका छन्। नेपालको मौसम पूर्वानुमान महाशाखाले त्यो दिन मेघगर्जनसहित वर्षा हुने मात्र अनुमान गरेको थियो।

भारतीय विज्ञहरू अचानक आउने हुन्डरी वा चक्रवातजस्ता प्राकृतिक विपत्लाई रोक्न सम्भव नभए पनि आधुनिक प्रविधि, दक्षजनशक्ति र सम्बन्धित निकायहरूबिच उचित समन्वय भए मौसम अनुमान गर्न सकिने र ठुलो जनधनको क्षतिबाट बच्न सकिने बताउँछन्। 'प्राकृतिक विपत्लाई रोक्ने भन्ने हुँदैन, त्यसबाट हुने क्षतिलाई सकेसम्म कम गर्ने हो। त्यसका लागि अनुमान प्रणाली अत्याधुनिक र प्रभावकारी हुनुपर्छ,' भारतको मौसम विज्ञान विभागअन्तर्गतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रकी प्रमुख सती देवीले भनिन्। नेपालको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले भने नेपालमा स-साना भूभागमा हुनसक्ने मौसमी भविष्यवाणी गर्न आवश्यक राडार, बेलुनलगायतका प्रविधिका साथै दक्ष जनशक्ति नै नभएको बताउँछन्।

अत्याधुनिक प्रविधि, पद्धति, जनशक्ति र त्यसअनुसारको सञ्जालका कारण भारतीय निकायहरूको मौसमी भविष्यवाणी मिल्ने गर्छ। दिल्लीस्थित राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले देशभरका ३६ वटा उपकेन्द्रलाई हरेक दिन चारपटक मौसम पूर्वानुमानको जानकारी दिन्छ। सम्भावित शीतलहर, अत्यधिक गर्मी र आँधीहुरीको चेतावनी पनि दिने गर्छ। त्यस्तो जानकारी बिहान ८ बजे, दिउँसो १ बजे, साँझ साढे ४ बजे र राति करिब ८ः३० मा दिने व्यवस्था छ। दिउँसो १ बजेको अनुमान र चेतावनी भने अलि विस्तृतमा हुने गर्छ। नेपालमा भने केही महिना यता महाशाखाले तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै आएको छ। वर्षा, मेघ गर्जन र गड्याङगुडुङको अनुमान गर्दागर्दै आएको छ भने चट्याङ परिसकेपछि त्यो स्थानको पहिचान गर्ने गरेको छ।

भारतमा उपकेन्द्रबाहेक पनि ६ वटा सहरमा क्षेत्रीय मौसम पूर्वानुमान केन्द्र छन्। दिल्ली, मुम्बई, नागपुर, कोलकाता, गुवाहाटी र चेन्नईमा रहेका ती क्षेत्रीय पूर्वानुमान केन्द्रअन्तर्गत नै प्रदेश मौसम विभागका शाखा छन्। यिनै क्षेत्रीय र प्रदेश स्तरीय केन्द्र र मौसम विभागले जिल्ला तहमा आउन सक्ने हावाहुरीलगायत प्राकृतिक विपत् भविष्यवाणी गर्छन्। विपत्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्ला तहमा रहेका विपत् व्यवस्थापन केन्द्रसँग समन्वय गरिन्छ।

प्रत्येक दिन बिहान करिब १० बजे दिल्लीस्थित मुख्यालयले देशभरका क्षेत्रीय केन्द्र र राज्यका मुख्यालयस्थित कार्यालयसँग प्रत्यक्ष भिडियो कन्फरेन्स गर्छ। नेपाल सङ्घीय संरचनामा गइसके पनि प्रदेशअनुसार मौसम विभाग छैन। सङ्घीय सरकार मातहत (केन्द्र) रहेको विभागले नै त्रिभुवन विमानस्थलबाट चौबिसै घण्टा मौसमसम्बन्धी जानकारी दिने गरेको छ।

भारतमा सामुदि्रक क्षेत्रको मौसम अनुमानका लागि बेग्लै विभाग छ। जसले तटीय क्षेत्रकालागि 'कोस्टल' र 'हाई सी' प्रणालीअन्तर्गत मौसम अनुमान गर्छ। मुम्बई, चेन्नई र कोलकातामा 'साइक्लोन वार्निङ डिभिजन' तथा अहमादावाद, त्रिवेन्द्रम, विशाखापटनम् र भुवनेश्वरमा 'साइक्लोन वार्निङ सेन्टर' छ। बङ्गलादेश, म्यानमारमा रहेका केन्द्रले पनि बंगालका खाडी र त्यस क्षेत्रको आउन सक्ने सामुदि्रक आँधी अनुमान गर्छन्। नेपालको जल तथा मौसम विज्ञान विभागका विभाग महानिर्देशक वैद्य अहिलेको प्रविधि र जनशक्तिले बारा र पर्सामा आएकोजस्तो शक्तिशाली हावाहुरीका लागि 'फरकास्ट' ले नभ्याउने भएकाले 'नाउकास्ट' नै गर्नुपर्ने तर्क गर्छन्।

महाशाखाले 'डब्लुआरएफ मोडल' का आधारमा देशभरको एकै पटक मौमसी अवस्थाबारे अनुमान गर्दै आएको छ। 'अहिलेको प्रविधिले छोटो अवधिभित्र सीमित क्षेत्रमा विकसित हुने मौसमी गतिविधि आकलन गर्न सकिँदैन' वैद्यले भने। उनका अनुसार मुलुकभरको मौसमी अवस्था प्रक्षेपण गर्न कम्तीमा पनि तीन वटा 'राडार' जडान गर्नुपर्छ। मौसम बेलुनमार्फत वायुमण्डलीय तात्कालिक अवस्थाबारे जानकारी लिनुपर्छ। 'वायुको गति, दिशा, सापेक्षिक आद्रता, तापक्रम, प्रेसर र वायुमण्डलको अवस्था कस्तो छ भन्ने थाहा नपाई मौसम फरकास्ट गर्न सकिँदैन,' वैद्यले थपे, 'त्यही प्रक्षेपण खटकंदा बारा र पर्सामा क्षति व्यहोर्नुपरेको हो। सीमित क्षेत्रको फरकास्ट र नाउकास्टका लागि वायुमण्डलको अवस्था, वायुको गति, दिशा र प्रेसर, तापक्रमका साथै सापेक्षिक आद्रतासंगै आवश्यक तथ्याङ्क जुटाउनुपर्छ।'

भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रकी प्रमुख सती देवी मौसम अनुमानका लागि वायुमण्डलको तल्लो भागमा भइरहेको परिवर्तनको सूक्ष्म अवलोकन न्यूनतम सर्त भएको बताउँछिन्। 'वायुमण्डलको वर्तमान अवस्था थाहा पाएपछि त्यसमा आउन सक्ने परिवर्तन अनुमान गर्न सकिन्छ,' उनले भनिन्, 'त्यसैले मौसम अनुमानका लागि अत्याधुनिक अवलोकन -अब्जर्भेसन) प्रणालीलाई प्राथमिकतामा राख्नुपर्छ।'

भारतमा जमिनको सतह, सामुदि्रक, वायुमण्डल, भूउपग्रह र राडार प्रणालीबाट मौसमको अवस्थाको सूक्ष्म अवलोकन गरिन्छ। यसका लागि अत्याधुनिक सञ्जाल विकास गरिएको छ। 'वायुमण्डलमा क्षणभरमै परिवर्तन आउन सक्छ। त्यस्तो परिर्वतन कतिपय अवस्थामा छिमेकबाट सुरु हुन्छ। त्यसैले छिमेकी मुलुकबाट पनि जानकारी लिनुपर्छ,' सती देवीले कान्तिपुरसँग भनिन्। मौसमको पछिल्लो अवस्था थाहा पाउन अन्तर्राष्ट्रिय रूपमै उचित साझेदारी आवश्यक पर्ने उनले बताइन्। 'त्यसका लागि सूचना प्रणाली आधुनिक हुनुपर्छ,' उनले भनिन्। भारतमा सतह र भूउपग्रह गरी दुई किसिमका सूचना प्रणाली प्रयोग हुँदै आएका छन्।

आधुनिक सूचना प्रणाली र अवलोकन प्रणालीबाट प्राप्त सूचनालाई आधुनिक प्लेटफर्ममा केलाइन्छ र त्यही विश्लेषणका आधारमा मौसम अनुमान गरिन्छ। पहिले नक्सालाई हेर्दै विश्लेषण गर्ने सिनोप्टिक विधि अपनाउने गरिएकामा अहिले अत्याधुनिक 'डिसिजन सपोर्ट सिस्टम' अन्तर्गतको विधि प्रयोग गरिँदै आएको छ। विभिन्न कार्यालयहरूबाट प्राप्त हावाको तीव्रता, तापक्रम, आद्रता सम्बन्धी तथ्याङ्क पनि अति महत्त्वपूर्ण हुन्छन्। ती तथ्यांकलाई सुपर कम्प्युटरमार्फत प्रशोधन गरिन्छ। यिनै सूचना र तथ्यांकका आधारमा आगामी पाँच दिनका लागि मौसम अनुमान र हावाहुरी वा अन्य कुनै विपदको चेतावनी जारी गरिन्छ। त्यसका अतिरिक्त प्रत्येक दिन आगामी दुई दिनको प्रक्षेपण पनि सँगै हुन्छ। पाँच दिनको अनुमानमा हावाहुरी, चक्रवात, आँधी, लु -हिट वेभ), शीतलहरूको फैलावट र सघनताको पनि जानकारी दिइन्छ। सघनता सीमाभन्दा बढी छ भने चेतावनी जारी गरिन्छ।

केन्द्रकी प्रमुख सती देवी आधुनिक अवलोकन प्रणाली र त्यसको बृहत् सन्जाल, तथ्याङ्क विश्लेषण गर्ने विधि र दक्ष जनशक्ति भए मौसमको सटिक अनुमान गर्न सकिने दाबी गर्छिन्। 'अहिलेको जमानामा फ्रिक वेदर इभेन्ट्स (मौसममा हुने आकस्मिक परिर्वतन) भन्ने हुँदैन, त्यो त बहाना मात्र हो,' उनले भनिन्। उनले मौसमको अनुमान र चेतावनीसम्बन्धी जानकारी सर्वसाधारणले पाउने गरी प्रणाली विकास गर्नुपर्ने पनि बताइन्। 'अनुमान सही भए पनि सर्वसाधारणसम्म सूचना नपुगे प्राकृतिक विपद्बाटहुने क्षति कम गर्न सकिँदैन,' उनले भनिन्।

प्रकाशित : चैत्र २५, २०७५ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT