बाबुको पदचाप पछ्याउँदै गायनमा

नारायण खड्का

अष्ट्रेलिया — पहिलोपटक विदेशी भूमिमा गायकका रुपमा कार्यक्रम गर्ने अवसर पाएका मर्कस दासलाई अष्ट्रेलियाका नेपालीहरुले उनले सोचेभन्दा धेरै मन पराइदिए ।

बाबुको पदचाप पछ्याउँदै गायनमा

उनी दक्षिण अष्ट्रेलियाको एडिलेडमा भएको नेपाल महोत्सवमा मात्र नभएर सिड्नीमा समेत दर्शकहरुको वाहवाही बटुल्न सफल भए । ब्रिसबनमा आयोजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिनेछन् ।


पेशाले काठमाडौंको एकस्टिक इन्टरनेसनलमा साउण्ड टेक्निसियनको काम गर्ने मर्कसले आफ्ना बाबु गायक कर्ण दासको साथले मात्र नभई आफ्नै मेहनतले गायकी यात्रा तय गरिसकेका छन् ।


बाल्यकालदेखि नै सांगितिक वातावरणमा हुर्किएका उनले संगीत क्षेत्रमा कम्पोजर, एरेन्जर र गायक हुने उद्देश्य पालेका छन् । मेलिना राईसँगै दुईवटा गीत सार्वजनिक गरेर गायन क्षेत्रमा अघि बढिसकेका उनले अष्ट्रेलियाका दर्शकहरुको मन त जिते नै फ्यानहरु समेत प्रशस्त कमाए । 'दर्शकहरुको माया र साथले नै मलाई अझ अघि बढ्न र गायन क्षेत्रमा लागिरहन प्रेरित गर्नेछ,' कान्तिपुरसँगको भेटमा उनले भने ।


गायक बुबासँग बिभिन्न देशहरु घुम्ने क्रममा नै उनले दर्शक र गायकबीचको सम्बन्धका बारेमा स्वाद पाएका थिए । 'साँच्चै भन्ने हो भने मेरो चाहना बुबा जत्तिको बन्ने तर फरक पहिचान बनाउने हो,' अष्ट्रेलिया पहिलोपटक आएका उनले पहिलो कार्यक्रममा नै हजारौं दर्शकअघि गाउन पाउनु आफ्नो लागि गर्वको अनुभव भएको सुनाए ।


हुनत, अष्ट्रेलियामा रहेका दर्शकहरुले समेत उनलाई राम्रो स्वर र कला भएको दर्शकका रुपमा स्वीकारे । नेपालमा छँदै विद्यालयदेखि नै गाउन सुरु गरेका उनले पोखराको प्रतिबिम्ब ब्याण्डमा समेत 'लिड भोकलिस्ट' भएर केही समयसम्म कार्यक्रमहरु गरेका थिए ।


चर्चित गायकहरु जीवन शर्मा, बद्री पंगेनी, कालीप्रसाद बाँस्कोटा, कर्ण दास लगायतका चर्चित कलाकारहरुसँगै स्टेजमा उपस्थित हुन पाएका उनको प्रस्तुतिले विशेष गरेर युवा दर्शकहरुको वाहवाही र वान्समोर पाएको थियो ।


अहिलेको नेपाली सांगितिक क्षेत्रमा युवाहरुको खाँचो भए पनि संघर्ष धेरै गर्नुपर्ने उनी बताउँछन् । सांगितिक क्षेत्रमा केही समस्या पर्दा आफ्ना बाबुुसँग सरसल्लाह लिने बताउँदै उनले चाँडै आफ्नो एकल एल्बमको तयारी भइरहेको जानकारी दिए ।


उनले पहिलोपटक विदेशमा गरेको कार्यक्रमले अझ अघि बढ्न प्रेरित गरेको सुनाउँदै आफू संगीतको विशेष विधाभन्दा पनि सबै क्षेत्रमा लागिपर्ने बताए ।

प्रकाशित : वैशाख ८, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?