बेल्जियमस्थित जनसम्पर्क समितिको अधिवेशन गराउन गएका प्रतिनिधिले गरे विघट्नको घोषणा

पार्टी एकलौटी रुपमा चलाउन खोजियो : केसी 
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको बेल्जियमस्थित जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति एकपक्षीय रुपमा भंग गरिएको भन्दै पार्टीको संस्थापन इतरपक्षले विरोध गरेको छ । अधिवेशन गराउन तोकिएका प्रतिनिधिले समिति नै विघट्न गरेर फर्केपछि संस्थापन इतरपक्षीय नेताहरुले सभापति शेरबहादुर देउवाकै भूमिकाथि नै आशंका प्रकट गरेका छन् ।

संस्थापन पक्षले भने अधिवेशन गराउन नसकेको र मार्च ५ बाटै कार्यकाल सकिएकाले विघट्न भएको बताएको छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी कब्जा गर्ने रणनीति अन्तर्गत नै बेल्जियमको जनसम्पर्क समितिलाई एकपक्षीय रुपमा विघट्न गरिएको दाबी गरे । ‘सल्लाह नै नगरी अधिवशेन गराउन खटाईएका प्रतिनिधिले कार्यसमिति नै विघट्न गरेर तदर्थ समिति बनाउनु अवैधानिक छ,’ केसीले भने, ‘यस्तो निर्णय हामीलाई मान्य हुने छैन ।’

संस्थापन पक्षले सापकोटा नेतृत्वको कार्यसमितिले समयमै अधिवेशन गराउन नसकेको कारण जनाउँदै समिति विघट्न भएको जनाएको छ । विवाद मिलाएर अधिवेशन गराउन पार्टीले आमन्त्रित सदस्य किरण पौडेललाई केन्द्रीय प्रतिनिधिको रुपमा बेलिज्यम पठाएको थियो । उनी ३३ दिन त्यहाँ रहँदा संस्थापन र संस्थापन इतरपक्षबीचको विवाद मिलाएर अधिवेशन गराउन नसकेपछि समिति नै विघट्न भएको सूचना दिएर फर्केका थिए ।

निर्वाचित कार्यसमिति विघट्न गरी माधव सापकोटा नेतृत्वमा तदर्थ समिति बनाइएको जानकारी पौडेलले पार्टी नेताहरुलाई गराएका छन् ।
‘समयै छँदा दुई–दुईपटक अधिवेशनका लागि प्रतिनिधि पठाउन त्यहाँको निर्वाचित कार्यसमितिले केन्द्रीय कार्यसमितिमा आग्रह गरेको हो । तर, समय सकिएपछि मात्रै प्रतिनिधि पठाईयो,’ केसीले थपे, ‘निर्वाचित कार्यसमितिलाई एकातिर पन्छाएर आफ्नो अनुकुलको समिति ल्याउन खोजेपछि विवाद भयो । जालसाजीरुपमा कार्यसमिति विघटन गर्ने नियत राखेर काम गरियो । यो असंवैधानिक छ ।’

आमन्त्रित सदस्य पौडेलले लामो समयदेखिको विवाद मिलाएर अधिवेशन गराउने प्रयास सफल नभएपछि पुरानो समिति विपघटन गरेर तदर्थ समिति बनाइएको बताए ।

बेल्जियममा धेरै अघिदेखि नै संस्थापन र संस्थापन इतरपक्षीय ‘गुट’ बीच विवाद छ । सापकोटा संस्थापन इतरपक्षीय हुन् । उनले एकलौटी रुपमा संगठन चलाएको भन्दै संस्थापन पक्षले सुवास गुरुङको नेतृत्वमा केही समयदेखि नै समान्तर समिति गठन गरेको थियो ।

‘दुई पक्षलाई मिलाएर एकताको घोषणा पनि भयो । सीता सापकोटालाई संयोजक तोकेर अधिवेशनको तयारी गरौं, तर उहाँ अधिवेशनका लागि तयारी हुनु भएन,’ पौडेलले भने, ‘अधिवेशन नै नभएपछि विवाद पनि बल्झियो, त्यसैले पुरानो समिति भंग गरेर तदर्थ समिति बनाइएको हो ।’
सापकोटाले आफू अनुकुलको नेतृत्व ल्याउने र महाधिवेशन प्रतिनिधि समेत अधिवेशनकै बेला तय गर्ने गरी केन्द्रीय प्रतिनिधिले पूर्वाग्रही भूमिका खेलेपछि समस्या आएको बताइन् ।

‘मलाई हटाउने हो भने केन्द्रीय प्रतिनिधिले होइन, सभापतिले हटाउनु पर्यो’ उनले भनिन,‘विवाद मिलाउन गएका प्रतिनिधिले एकपक्षीय भूमिका खेलेपछि कसरी अधिवेशन हुन सक्छ ?’ उनले निष्पक्ष र पारदर्शी रुमपा अधिवेशन गराउन केन्द्रीय सभापतिलाई आग्रह समेत गरिन् ।

प्रकाशित : वैशाख ९, २०७६ १६:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एथलेटिक्समा आर्मी टिम च्याम्पियन

कृष्ण र राजपुरालाई म्याराथन स्वर्ण
ध्रुव तुलाधर

दाङ — कृष्ण बस्नेतको म्याराथनसँगै २१ स्वर्ण त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा टिम च्याम्पियन भएको छ । बेलझुण्डीस्थित नवर्निमित सिन्थेटिक ट्रयाकमा आर्मीले अन्तिम दिन सोमबार ८ विधामा ६ स्वर्ण पदक जितेको थियो ।

अर्का विभागीय टोली पुलिस र एपीएफले १-१ स्वर्ण पदक जितेका छन्। एपीएफ ८ स्वर्णसहित दोस्रो भयो भने पुलिसको पोल्टामा ३ स्वर्ण थियो। पुलिसका लागि सोमबार राजपुरा पछाईले महिला म्याराथनमा पहिलो स्थान हात पारेकी थिइन्। प्रदेश ३ ले दुई तथा कर्णाली प्रदेश र प्रदेश ५ ले १-१ स्वर्णमा नाम लेखाए। गण्डकीले रजत र कांस्यमा नाम लेखाउदा सुदूरपश्चिम र प्रदेश २ एथलेटिक्समा पदकविहीन भए। प्रदेश १ ले ३ कांस्य जितेको छ ।

सोमबार म्याराथनमा आर्मीले स्वर्ण जित्दा कर्णालीका दुर्गा बुढाले रजत र एपीएफका खिमबहादुर खत्रीले कांस्य जितेका थिए। १४ सहभागीमा ११ जनाले दुरी पार गरेका थिए।

महिला म्याराथनमा एपीएफकी पुष्पा भण्डारी र सरिता बासीले रजत र कांस्य पदक जिते। यसमा ६ जना सहभागिता हुदा सबैले पूरा गरेका थिए।

पुरुष ८ सय मिटर दौडको स्वर्ण आर्मीका उमेश मस्र्याङदी मगरले जितेका थिए। उनले १ मिनेट ५७.५५ सेकेन्ड लगाए। आर्मीका टंक कार्कीले रजत र प्रदेश ३ का सुवास थापाले कांस्य जिते। महिला ८०० मिटरको स्वर्ण आर्मीकी तुलसा श्रेष्ठले जितिन्। आर्मीकी तुलसा खत्रीले रजत र प्रदेश ४ की कल्पना श्रेष्ठले कांस्य जितेका थिए।

महिला ४०० मिटर हर्डल्समा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन भइन्। उनले स्वर्ण जित्दा आर्मीकी सुनमाया कार्की र एपीएफकी फुलमती रानाले रजत र कांस्य जितेका थिए। सोही इभेन्टको पुरुषतर्फ एपीएफका नीरप्रताप महतोले स्वर्ण जिते।

यस प्रतियोगिताको उनको तेस्रो स्वर्ण पदक हो। आर्मीका जीवन चौधरी र अशोक कुँवरले रजत र कांस्य जितेका छन्। सोमबारै भएको ४ गुणा १०० मिटर रिलेमा दुवै स्वर्ण आर्मीले जित्यो। पुरुषतर्फ एपीएफ र पुलिस तथा महिलातर्फ प्रदेश ५ र एपीएफले क्रमशः रजत र कांस्य पदक जितेका छन्।

प्रकाशित : वैशाख ९, २०७६ १६:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT