अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलकाको पहुँच

नारायण खड्का

(अस्ट्रेलिया) — नेपाली मूलका युवा प्रमेज श्रेष्ठलाई सत्तारुढ दल लिबरलले सांसदको उम्मेदवार बनाएसँगै अस्ट्रेलियामा रहेका नेपाली मूलकाले राजनीतिक क्षेत्रमा समेत फडको मारेका छन् ।

अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलकाको पहुँच

यही मे १८ मा घोषणा गरिएको केन्द्रीय निर्वाचनमा तेस्रो ठूलो दल मानिएको गि्रन्सबाट पश्चिम अस्ट्रेलियाबाट अर्का नेपाली मूलका युवा भुवन खडका माथिल्लो सदन 'सिनेट' को सदस्यमा सिफारिसमा परेका छन् ।


लिबरलबाट नेपाली मूलकाहरुको बाक्लो बसोबास रहेको क्षेत्र बार्टनबाट सांसदको उम्मेदवार बनेका २६ वषर्ीय श्रेष्ठ प्रचारप्रसारमा व्यस्त छन् । १ लाख ७ हजार मतदाता रहेको उक्त क्षेत्रमा विपक्षी दल लेबरकी प्रभावशाली नेतृ लिन्डा बर्नी, गि्रन्सका कोनोर पेरिसिस, युनाइटेड अस्ट्रेलियाका बेन ल्यु लगायतका सँग उनले प्रतिस्पर्धा गर्दै छन् । २०१३ को निर्वाचनमा सत्तारुढ दल लिबरलकै उम्मेदवारको जित भएका कारण समेत यस वर्ष हुने निर्वाचनमा आफ्नो राम्रो सम्भावना रहेको श्रेष्ठको भनाइ छ ।


निर्वाचन हुन करिब ३ साता मात्र बाँकी रहेकाले आफू जतिसक्दो सबैको घरदैलोमा गएर आफ्नो एजेन्डाहरु बताउन लागिरहेको उनको भनाइ छ । अर्काेतिर, पहिलो पटक कुनै नेपाली मूलको युवाले सांसदको उम्मेदवारको जिम्मेवारी पाएका कारण समेत आफू थप गम्भीर र जिम्मेवार भएर निर्वाचनमा होमिएको उनी सुनाउँछन् । उनलाई नेपाली मूलका मात्र नभएर यहाँका स्थानीय कार्यकर्ताहरुले समेत सहयोग पुर्‍याइरहेका छन् । आफ्नो उम्मेदवारीले अस्ट्रेलियामा भएका नेपाली मूलहरुलाई यहाँको केन्द्रीय राजनीतिमा अवसरको सृजना गरिदिएको समेत दाबी गर्छन् ।


पश्चिम अस्ट्रेलियामा बसोबास गर्दै आएका खडका पनि तेस्रो ठुलो दल गि्रनबाट सिनेट सदस्यका लागि मनोनयनमा परेपछि अहिले निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । उक्त पार्टीबाट चौथो तहको सिनेट सदस्यमा मनोनयमा परेका उनी पनि अबको ३ सातापछि हुने निर्वाचनमा जित हासिल गर्न लागिपरेका छन् ।


उनी निर्वाचनमा हारजित जे भए पनि नेपालबाट आएको युवालाई ठूलो दलले विश्वास गरेर सिनेटमा मनोनयन गर्नु नै महत्त्वपूर्ण भएको बताउँछन् । उनी सिड्नीमा प्रमेजलाई सत्तारुढ दलबाट सांसदको उम्मेदवार बनाइनु र आफूलाई पर्थबाट गि्रनले उम्मेदवार बनाउनुले यहाँ रहेका नेपाली मूलकाहरुलाई अस्ट्रेलियाली राजनीतिमा बिस्तारै सम्भावना बढदै गएको सुनाउँछन् । २ वर्ष अघि पश्चिम अस्ट्रेलियाको बेलमोन्ट क्षेत्रबाट राज्यस्तरीय निर्वाचनमा गि्रनबाटै उम्मेदवारी दिएका उनले हार बेहोरेका थिए ।


अस्ट्रेलियाको जनगणना अनुसार ५५ हजार नेपालीको जनसंख्या रहेको अस्ट्रेलियामा यसअघि स्वतन्त्र रूपमा तल्लो तहका निर्वाचनहरुमा केहीले सहभागिता जनाएका भए पनि पार्टीगत रूपमा भने यो पहिलो अवसर हो । सत्तारूढ दल लिबरल समर्थक नेपाली मूलकाहरुको संस्था लिबरल फ्रेन्डस अफ नेपालका अध्यक्ष श्री नापित छोटो समयमै राजनीतिक तहमा ठूलो फडको मारेको दाबी गर्छन् । 'निर्वाचनमा होमिएपछि हारजित हुनु सामान्य हो तर ठूला दलहरुको विश्वास पाएर अघि बढ्न पाउनु महत्त्वपूर्ण हो,' नापित भन्छन् ।


अस्ट्रेलियामा हुने निर्वाचनले तल्लो सदनका लागि १ सय ५० सांसदहरु निर्वाचित गर्छ भने माथिल्लो सदन सिनेटमा ७६ जना चुनिन्छन् । बहुमतको सरकार निर्माणका लागि ७६ सिटको आवश्यक पर्नेछ ।

प्रकाशित : वैशाख ११, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?