१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेलायती स्थानीय चुनाव : नेपालीमूलका आधा दर्जन विजयी

नवीन पोखरेल

लन्डन — बेलायतको संसदीय निर्वाचनमा हालसम्म एक मात्र उम्मेदवार बने पनि स्थानीय तहमा भने विजयी हुने नेपालीमूलका व्यक्तिको संख्या बढ्दाे छ । 

बेलायती स्थानीय चुनाव : नेपालीमूलका आधा दर्जन विजयी

बिहीबार सम्पन्न स्थानीय निर्वाचनबाट करिब आधा दर्जन नेपालीमूलका उम्मेदवार काउन्सिलर बने । हार्ने क्षेत्र रोजेर नेपालीलाई उम्मेदवार बनाइने चर्चा चल्ने गरे पनि यसपटक भने केही उम्मेदवारले पुरानो पकड तोडेका छन् ।

नेपालीहरूको उल्लेख्य बसोबास रहेको बेलायतको अल्डरसटमा युवा व्यवसायी प्रवेश केसीले ३ सय २८ मत ल्याएर जिते । केसीले कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरोअन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलरमा उम्मेदवारी दिएका थिए । उनका प्रतिद्वन्द्वी लेबरका उम्मेदवारले २ सय ८६ र लिब्डेम उम्मेदवारले जम्मा ८५ मत ल्याए । यसअघि उक्त क्षेत्रमा लेबरले जित्दै आएको थियो ।

त्यसैगरी, केन्टको मेडस्टोन बरो काउन्सिलमा लिबरल डेमोक्रयाटस उम्मेदवार दिनेश खडका ८ सय ५२ मतले विजयी भए । उनका प्रतिद्वन्द्वी कन्जरभेटिभका उम्मेदवारले ३ सय ६० र लेबर उम्मेदवारले ३ सय ४६ मत ल्याए । जितपछि कान्तिपुरसँग कुरा गर्दै काउन्सिलर खडकाले समाज विकास र वातावरणीय व्यवस्थापनमा काम गर्ने अठोट व्यक्त गरे ।

फुड साइन्समा पीएचडी गरिरहेका खडका १८ वर्षदेखि बेलायतमा छन् । सन् २०१० देखि लिब्डेममा लागेका उनले बेलायतको राजनीतिमा माग भए पनि नेपालीमा दक्षता र स्रोत साधनको अझै कमी रहेको टिप्पणी गरे ।

हेमेल हयाम्सटेडअन्तर्गत डेकोरम बरो काउन्सिलको काउन्सिलर पदमा गोवर्धन सिलवाल 'सागर' दोस्रो पटक चुनिए । कन्जरभेटिभ पार्टीबाट तर्फबाट सिलवालले ७ सय २४ मत ल्याए । ललितपुरको गोदावरीका सिलवाल २० वर्षदेखि बेलायतमा छन् ।

त्यसैगरी, नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलबाट डा. जगन्नाथ शर्मा तेस्रो पटक निर्वाचित भए । कन्जरभेटिभ दलका उनी उक्त काउन्सिलको पूर्वडेपुटी मेयर हुन् ।

यही मे २० तारिख हुने मेयर निर्वाचनका लागि पनि उनले उम्मेदवारी दिएका छन् । त्यसैगरी, केन्टको मिडवेबाट कन्जरभेटिभका टासी तामाङ भुटियाले पनि काउन्सिलर पद जितेका छन् । यस पटकको निर्वाचनमा नेपालीमूलका कतिपय उम्मेदवारले लज्जास्पद पराजय पनि भोगेका छन् ।

बेलायतमा नेपाली समुदायबाटै पहिलो पटक सन् २००७ मा काउन्सिलर जितेका धन गुरुङ यस पटक भने पराजित भएका छन् । फोक्सटन एन्ड हिथ डिस्टि्रक्ट काउन्सिलमा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेका उनी पहिलो पटक जित्दा लिब्डेममा आबद्ध थिए ।

त्यस्तै, हयाम्पसायरको हार्ट डिस्टि्रक्ट काउन्सिलमा लीला सेलिङ माबो पनि काउन्सिलर पदमा पराजित भइन् । लेबर पार्टीकी उम्मेदवार लीलाले जम्मा १ सय २९ मत पाउँदा विजयी उम्मेदवारले १८ सय ३२ मत ल्याए । लीलाले यसअघि पनि पराजय भोगेकी थिइन् ।

उता गिल्डफोर्डबाट निर्वाचन लडेकी लेबर पार्टीकी उम्मेदवार २२ वर्षीया आकांक्षा गुरुङले पनि पराजय भोग्नुपरेको छ । निर्वाचित कन्जरभेटिभ पार्टीका उम्मेदवारले ३ सय ९२ मत ल्याएकामा उनले ६३ मत मात्र पाइन् ।

पूर्व काउन्सिलर स्वर्गीय गमबहादुर गुरुङकी छोरी आकांक्षाले उम्मेदवारी दिँदा कलिलै उमेरमा राजनीतिमा प्रवेश गरेको भन्दै निकै चर्चा भएको थियो ।

एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य बेलायतको राजनीतिमा प्रवासी नेपालीको बढदो सहभागिताले नेपाली डायस्पोरा थप बलियो हुँदै जाने विश्वास व्यक्त गर्छन् । इंग्ल्यान्डका २ सय ४८ काउन्सिलमा भएको निर्वाचनमा ८ हजार ४ सय २५ सिटका लागि प्रतिस्पर्धा भएको थियो । सत्तारूढ कन्जरभेटिभले यस पटक विगत तुलनामा १२ सयभन्दा बढी काउन्सिलमा हारेको छ ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?