एनआरएन क्षेत्रीय सम्मेलन सिड्नीमा हुने
अष्ट्रेलिया — प्रवासी नेपालीहरुको संगठन एनआरएनको ओसिनिया क्षेत्रको सम्मेलन सिड्नीमा आयोजना हुने भएको छ । 'समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि' नारासहित आयोजना हुने कार्यक्रममा विभिन्न देशका दर्जंनौ प्रतिनिधीहरुले सहभागिता जनाउने भएका छन् ।
आउँदाे शनिबार र आइतबार आयोजना गरिने कार्यक्रममा अष्ट्रेलियाका उच्च राजनीतिक नेताहरुका साथै नेपालबाट कानुनमन्त्री भानुभक्त ढकालको उपस्थिती रहने एनआरएनका ओसिनिया संयोजक धर्मराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार कार्यक्रममा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान, एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीका साथै अन्य विभिन्न देशका एनआरएन प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा विभिन्न विषयहरुमा दर्जन बढी कार्यपत्रहरु समेत प्रस्तुत गरिनेछ । आयोजकका अनुसार लगानी, पर्यटन र सृजना विषयमा अमेरिका, अष्ट्रेलिया क्यानाडा लगायतका देशमा रहेका विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।
कार्यक्रमबाट निस्किएको निष्कर्षले एनआरएनलाई अघि बढ्न मार्गदर्शन गर्नुका साथै नेपालको विकासमा सघाउन समेत महत्वपुर्ण भुमिका खेल्ने संयोजक अधिकारीले दाबी गरे । उनले ओसिनिया क्षेत्रले समग्र एनआरएनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै कार्यक्रमको माध्यमबाट नेपालमा कसरी लगानी बढाउन सकिन्छ भन्ने बारेमा समेत छलफल हुने बताए । सम्मेलनको मुख्य उद्देश्य समृद्ध नेपालको लागि सबै प्रवासी नेपालीहरु सधैं अग्रसर रहेको सन्देश दिने रहेको समेत अधिकारीले सुनाए ।
प्रकाशित : वैशाख २४, २०७६ ११:४३