कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

आफ्नो पार्टी निर्वाचित भए १ मिलियन डलर सहयोग गर्ने अध्यागमन मन्त्रीकाे घोषणा

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले एक सातापछि हुने निर्वाचनमा लिबरल सरकार पुनः निर्वाचित भए नेपाली सामुदायकाे भवन निर्माण गर्न १ मिलियन डलर (करिब ८ करोड रुपैया) सहयोग दिने घोषणा गरेका छन् । 

आफ्नो पार्टी निर्वाचित भए १ मिलियन डलर सहयोग गर्ने अध्यागमन मन्त्रीकाे घोषणा

मन्त्री कोलम्यानले नेपालीहरुलाई आफ्नो कार्यक्रमहरु आयोजना गर्नका लागि सामुदायिक भवन निर्माणमा सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । अष्ट्रेलियामा नेपालीहरुको जनसंख्या बढिरहेको सन्दर्भमा आफ्नो भवन महत्वपूर्ण हुने भन्दै यसको निर्माणका लागि मरिसन सरकारले पुनः निर्वाचित भएको खण्डमा सहयोग दिने घोषणा गरेका हुन् ।

प्रवासी नेपालीहरुको संगठन एनआरएनको ओसिनिया क्षेत्रको क्षेत्रिय सम्मेलनमा बोल्दै उनले आफूसँग सामुदायिक भवन निर्माणका लागि सहयोगको आग्रह गरिएको बताउँदै एक सातापछि हुन लागेको निर्वाचनमा निर्वाचित भए उक्त सहयोग रकम उपलब्द्ध गराइने बताएका हुन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको उच्च प्रशंसा गरेका उनले अष्ट्रेलियामा ६० हजारबढी नेपालीमूलका ब्यक्तिहरु रहेको जानकारी दिए । उनले नेपाल र अष्ट्रेलियाको बीचमा अत्यन्त सकारात्मक सम्बन्ध रहेको सुनाउँदै विशेष गरेर शिक्षाको क्षेत्रमा नेपालीहरु तेस्रो स्थानमा रहेको समेत सुनाए ।

गत वर्षमात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिषा दिएको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालीहरुले अष्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउनका लागि महत्वपूर्ण सकारात्मक भूमिका खेलेको समेत बताए ।

पछिल्लो केही वर्षमा नेपालीसँग मिलेर काम गरिरहेको जानकारी गराउँदै मन्त्री कोलम्यानले नेपालीहरु अष्ट्रेलियाको लागि महत्वपूर्ण अंग रहेको बताए । नेपालीहरुको आफ्नै भवन निर्माणार्थ सहयोगका लागि अष्ट्रेलियन नेप्लिज एसोसिएसन मार्फत नेपालीहरुले पहल गर्दै आएका थिए । अष्ट्रेलियामा यही मे १८ मा हुन गइरहेको निर्वाचनमा नेपाली मतदाताहरुको मत आफ्नो पार्टीको पक्षमा पार्न समेत यो घोषणा आएको विश्लेषण गरिएको छ ।

'इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम' नारा दिएर शनिबारदेखि सुरु भएको ओसिनिया सम्मेलनमा अष्ट्रेलियाका अन्य नेताहरुका साथै विभिन्न देशका एनआरएन प्रतिनिधिहरुका साथै नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटा, एनआरएन अध्यक्ष भवन भट्ट, महासचिव बद्री केसी, उपादक्ष्यहरु कुमार पन्त र कुल आचार्य, पूर्व अध्यक्ष शेष घले, ओसिनिया संयोजक धर्मराज अधिकारी, अष्ट्रेलिया अध्यक्ष टोनु घोताने लगायतका उपस्थित छन् । दुईदिनसम्म चल्ने सम्मेलनले नेपालमा लगानी विस्तार, पर्यटन प्रबर्द्धन लगायतका क्षेत्रमा महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ ।

प्रकाशित : वैशाख २८, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?