१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोर्खा कपमा ४२ टोली

नवीन पोखरेल

लन्डन — बेलायती नेपाली डायस्पोराको सबैभन्दा बृहत इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपालि ४२ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । आउँदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु खेल मैदानमा हुने १७ औं संस्करणमा ३२ मुख्य र १० भेट्रानको सहभागिता रहेको आयोजक तमुधिं यूकेले जनाएको छ ।

प्रतियोगिता हेर्न करिब १० हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ । प्रतिस्पर्धाका लागि नेदरल्यान्ड्स, आइसल्यान्ड, बेल्जियम, आयरल्यान्ड र हङकङबाट समेत टिमले सहभागिता जनाउने भएका छन् । करिब ६५ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिता विजेताले २५ सय पाउन्ड नगद जित्ने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको जनाइएको छ ।


तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खा कप नेपाली समुदायबीच एकताको सन्देश दिने एउटा मुख्य इभेन्ट भएको सुनाए । आयोजक तमुधिं यूके भए पनि इभेन्ट सबै नेपालीको साझा भएको बताउँदै उनले युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, खाना, वेशभूषाको समेत प्रवर्द्धन हुने जनाए ।


गोर्खा कप हेर्न बेलायतभरबाट नेपाली ओइरिन्छन् । कतिपयले यसलाई डेटिङ स्पटका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । स्थानीय रसमोर बरो काउन्सिलले उक्त इभेन्टलाई आफ्नो वाषिर्क क्यालेन्डरमै राखेको छ । खाना तथा हस्तकलाका स्टल, एफए कप डिस्प्ले, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति कार्यक्रमका थप आकर्षण हुन् ।


कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले खेलमा स्वास्थ्य तथा सुरक्षाप्रति विशेष प्राथमिकता दिइने जानकारी दिए ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?