१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

८१ वर्षीय प्रेमध्वजले लन्डनमा गाए 'घुम्तीमा नआउ है...'

काठमाडौँ — 'घुम्तीमा नआउ है, आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन...'

८१ वर्षीय प्रेमध्वजले लन्डनमा गाए 'घुम्तीमा नआउ है...'

लन्डनस्थित नेपाली दूतावास भवनको प्रेक्षालयमा उक्त कालजयी गीत गुन्जिरहँदा छिचोलिनसक्नु भीडले तालीको गडगडाहट दिइरह्यो । उमेर ८१ भए पनि गायनमा उस्तै उर्जा र जोस् बोकेका ती ज्येष्ठ स्रष्टाले नेपाली समयानुसार राति तीन बजेसम्म गाए ।


आधुनिक नेपाली संगीतका मुर्धन्य स्रष्टा संगीत साधक प्रेमध्वज प्रधान शुक्रबार साँझ श्रुतिमधुर र कालजयी केही थान गीतसँगै प्रस्तुत भए लन्डनमा । 'गोरेटो त्यो गाउँको लौन आज...' बुढ्यौली उमेरमा पहिलो पटक बेलायत टेकेका उनले अर्को कोसेली प्रस्तुत गर्दा संगीत सन्ध्या अझ रोमाञ्चक बन्यो । 'स्वास्थ्यका लागि पनि म गाउँछु', प्रधान स्वस्थ्य रहने 'टिप्स' दिँदै थिए ।


'पारिदेखि जुनकिरीले डोर्‍याई ल्यायो', 'हाँस्ने रहरहरु आँसुमा डुबे' लगायत गीत गाइरहँदा उनले विदेशमा देश चिनाउने माध्यम गीत, संगीत भएको पनि बताए । 'जुन देशमा भए पनि नेपाली भएरै बाँच्नु पर्छ', उनले भने, 'हामीले नेपाली कला संस्कृति, संगीत, भाषा र परम्परा भुल्यो भने नयाँ पिंढीले नेपाली भन्न पनि बिर्सन्छ ।'


विगत ६७ वर्षदेखि गायनमा सक्रिय प्रधान ५० हजार रुपैयाँ राशिको 'बसुन्धरा श्री पुरस्कार ०७५' थाप्न बेलायत आएका हुन् । कार्यक्रमबीच बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्री (राजदूत) र कोषाध्यक्ष श्रीमती पुनमराज्य लक्ष्मी सुवेदीले प्रधानलाई पुरस्कार प्रदान गरे ।


'नेपाली गीत, संगीत एवं वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन प्रधानको अतुलनीय योगदान भएकाले पुरस्कृत गरिएको हो', राजदूत सुवेदीले भने । नेपाली संगीतका सबैभन्दा ज्येष्ठ गायक प्रधानका करिब ७ सय बढी गीत छन् ।


दूतावासमा प्रधानलाई सम्मान गर्न स्थानीय कलाकारहरु दीपक थापा, चोक गुरुङ, सितु खरेल, गंगा राज, थीर थापा, बिसी राई, प्रमोश शर्मा, आशिष राज, शर्मिला बर्देवा र सपनकुमार राईले एक एक गरी प्रधानका दस चर्चित गीत गाए । सयपत्री सांस्कृतिक समूहले उनकै गीतको धुन प्रस्तुत गर्‍यो ।


गायक प्रधान ३० मेमा लन्डनस्थित नेपाली दूतावासले म्यानचेस्टरमा गर्न लागेको गणतन्त्र दिवस समारोह र १ जुनमा मगर संघ यूकेले फार्नबोरोमा गर्ने कन्सर्टमा सहभागी हुनेछन् ।


प्रकाशित : जेष्ठ ११, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?