न्युजिल्यान्डमा सगरमाथा दिवस
अस्ट्रेलिया — न्युजिल्यान्डको संसद् भवनमा पहिलोपटक सगरमाथा दिवस मनाइएको छ । न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पहिलो पाइला राखेको सम्झना स्वरूप हरेक वर्ष न्युजिल्यान्डमा ‘एभरेस्ट डे’ मनाइने गरिन्छ ।
संसद् भवनमा आयोजना गरिएको कार्यक्रममा न्युजिल्यान्डका मन्त्री, सांसदहरूका साथै एडमन्ड हिलारीकी श्रीमतीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा इथ्निक मन्त्री जेनी सालेसा, अन्डर सेक्रेटरी माइकल उड, सांसदहरू डङन वेब, मेलिसा ली, सिमिओन ब्राउन, प्रियंका राधाकृष्णनका साथै न्युजिल्यान्डमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । हरेक वर्ष प्रवासी नेपालीको संगठन एनआरएनले यो दिवस मनाउने गरेको भए पनि यस वर्ष नेप्लिज सोसाइटी अफ वेलिङटनको सक्रियतामा संसद् भवनमै पहिलोपटक आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रमिल अधिकारीले जानकारी दिए ।
कार्यक्रममा एडमन्ड हिलारीकी श्रीमती जुन हिलारीको उपस्थितिले कार्यक्रमलाई अझ रोचक बनाएको थियो । प्रायः सबै नेपाली कार्यक्रममा उपस्थिति जनाउने उनले नेपाल आफूलाई दोस्रो घर लाग्ने बताउँदै कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिएकी थिइन् । कार्यक्रममा मन्त्री सालेसाले सगरमाथाको देशमा जन्मिएका नेपालीहरू भाग्यमानी भएको बताउँदै यस्ता कार्यक्रमले नेपाल र नेपालीको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएकी थिइन् ।
कार्यक्रममा नेपाल र न्युजिल्यान्डका साथै अन्य देशका व्यक्तिहरूले समेत सहभागिता जनाएका थिए । न्युजिल्यान्ड नेपाल सोसाइटीका अध्यक्ष दिनेश खडकाले यस कार्यक्रमले न्युजिल्यान्डमा नेपालीहरूको पहिचानलाई अझ फराकिलो बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनसमेत हुने बताए ।
प्रकाशित : जेष्ठ २८, २०७६ ०९:०६