एनआरएन अस्ट्रेलियामा दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा

नारायण खड्का

अस्ट्रेलिया — दुईवर्षे कार्यकालका यही जुलाई ६ मा हुने निर्वाचनमा एनआरएन अस्ट्रेलियाका आकांक्षीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि हालसम्म सबै राज्यमा प्रजातान्त्रिक र समावेशी प्यानल बनाएर उम्मेदवारले मत माग्न सुरु गरिसकेका छन् ।

कांग्रेस निकटको प्रजातान्त्रिक समूहले आपसी खिचातानीका कारण २ प्यानल बनाएर मैदानमा उत्रिएको छ भने वामपन्थी निकट समावेशी टिमले दिनेश पोखरेलको नेतृत्वमा अलग टिम निर्माण गरेको छ । प्रजातान्त्रिक समूहबाट अहिलेका उपाध्यक्षद्वय केशव कँडेल र नन्द गुरुङ प्यानलसहित प्रतिस्पर्धामा देखिएका छन् । पोखरेलले पनि सबै राज्यमा प्यानलसहित उम्मेदवारी दिइसकेका छन् । केशव कँडेलको समूहबाट महासचिव, सचिव, कोषाध्यक्ष र युवा संयोजकमा क्रमशः डा. ज्ञानेन्द्र रेग्मी, प्रनेश घिमिरे, अनिल पोखरेल र इर्साद अहमद छन् भने नन्द गुरुङको प्यानलमा डा. शंकर ढकाल, सरोज पाण्डे, कुशल केसी र विजय पौडेलले उम्मेदवारी दिएका छन् ।

समावेशी समूहबाट अध्यक्षमा दिनेश पोखरेलका साथै महासचिवमा सन्तोष दाहाल, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा कपिल पाण्डे र युवा संयोजकमा विनोद पौडेलको उम्मेदवारी परेको छ । एनआरएन आईसीसी सदस्य गोकुल घिमिरे प्यानलसहित चुनावी प्रतिस्पर्धा भएपनि निर्णय मतदाताको हातमा भएको बताउँछन् । उनले भने, ‘प्यानल बनाएर निर्वाचनमा उठेको भएपनि एनआरएन मतदाताले कसको एजेन्डा राम्रो छ र कसले नेपाली समाजलाई योगदान गर्नसक्छ भन्ने आधारमा मत दिने हो ।’ अस्ट्रेलियाका ६ राज्य तथा २ टेरिटोरीमा समेत प्रजातान्त्रिक र समावेशी समूहअन्तर्गत नै प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, अन्तर्राष्ट्रिय समन्वय समितिको ७ पदमा १४ जनाले उम्मेदवारी दिएका छन् । दक्षिण अस्ट्रेलियाबाट नवराज (नवीन) पन्त र रेणुका लामाले संयोजकका लागि प्रतिस्पर्धामा उत्रेका छन् । क्यापिटल टेरिटोरीबाट सञ्जय घिमिरे र चूडामणि सापकोटा, न्यु साउथ वेल्समा देव गुरुङ र डिला खरेल, भिक्टोरियामा महेन्द्र केसी र प्रेम कँडेल, पश्चिम अस्ट्रेलियाबाट कृष्णमान श्रेष्ठ र नवीन भण्डारी तथा क्वीन्सल्यान्डबाट धीरेन्द्रराज थापा र उमेश खडकाले नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

नर्दन टेरिटोरी र तास्मानियाबाट क्रमशः हेम पुन र सन्देश परियार निर्विरोध हुने भएका छन् । यसैगरी महिला संयोजकमा सन्ध्या शाह निर्विरोध भएकी छन् । निर्वाचनलाई पारदर्शी बनाउन पूर्वअध्यक्ष मन केसीको नेतृत्वमा सबै राज्यमा निर्वाचन समिति गठन गरिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।

प्रकाशित : असार ३, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्

कतारमा सात नेपाली अलपत्र

डम्बरसिं राई

खोटाङ — कतारको दोहास्थित अल्सादमा ७ नेपाली २५ दिनदेखि अलपत्र परेका छन् । मेनपावर कम्पनीले सम्झौता गरे अनुसारको काम नदिएकाले मे २२ तारिखदेखि अलपत्र परेका हुन् । 


खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय सुमन तामाङ, २१ वर्षीय तेजबहादुर अधिकारी, २४ वर्षीय टिकाराम खत्री, १९ वर्षीय कविराज खत्री अलपत्र परेका हुन्। त्यस्तै काठमाडौं थानकोटका २१ वर्षीय भुवन तामाङ, काभ्रे धुलिखेलका २३ वर्षीय सनकुमार तामाङ, रसुवाको कालिका गाउँपालिका–२ का २४ वर्षीय राजन मोक्तान पनि अलपत्र परेका छन्।

उनीहरू काठमाडौंको गोंगबुस्थित पश्चिम नेपाल ओभरसिज प्रालि मार्फत कतार पुगेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका सुमन तामाङले बताए। ‘हामीलाई १२ देखि १४ सयसम्म दिने भनेर प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिएको हो।’ तामाङले भने, ‘अहिले न काम पाइएको छ, न खाना नै।’

सबैलाई एकै ठाउँ काम पाइने आश्वासन दिएको तर अहिले भने नपाएको तामाङले दुखेसो सुनाए। यसबारेमा त्यहाँस्थित नेपाली राजदूतावासमा फोन गर्दा समेत बेवास्ता गरेको तामाङले गुनासो सुनाए। ‘हाम्रो बेहाल भएपछि एमबेसीमा फोन गर्‍यौँ।’ तामाङले भने, ‘दूतावासले आफूहरूलाई बोलाए पनि जाने खर्च नहुँदा समस्या छ।’

सन्देश केसी नाम बताउने मेनपावर कम्पनी सम्बद्ध व्यक्तिलाई आफूहरू अलपत्र परेको जानकारी गराउँदा उल्टै थर्काएको तामाङले सुनाए। ‘पैसा मैले मात्र खाएको छैन, त खातेहरूले जे–जे गर्छस् गर भनेर थर्कायो।’ तामाङले भने, ‘यसो भनेपछि हामी ठगिएको थाहा भयो।’

प्रकाशित : असार ३, २०७६ १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्