विद्यार्थीको समस्या सुन्दै दूतावास

नारायण खड्का

अस्ट्रेलिया — पछिल्लो समय अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीमा धेरै समस्या देखिएको गुनासो आएपछि दूतावासले विद्यार्थीहरुको समस्या बुझ्ने पहल सुरु गरेको छ ।

सामाजिक सञ्जाल तथा समाचारमाध्यमबाट अस्ट्रेलियाका विद्यार्थीहरुले समस्या भोग्नु परेको गुनासो आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले विद्यार्थीसँग अन्तरक्रिया गर्न सुरु गरेको हो।

कार्यक्रमबाट विद्यार्थीहरुबाटै उनीहरुको वास्तविक समस्याको पहिचान हुने र त्यसलाई बिभिन्न तहबाट समाधान गर्नका लागि आग्रह र पहल गरिने दूतावासको दाबी छ।

विद्यार्थीहरुको वास्तविक समस्या के हो? यसको निराकारणको उपाय के हुनसक्छ भन्ने नै कार्यक्रमको मुख्य उद्देश्य रहेको अस्ट्रेलियाका लागि नेपालकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाको भनाई छ।दूतावासले विद्यार्थीको समस्या समाधानका लागि गर्नसक्ने सबै सहयोग गर्ने नभए यहाँ देखिएका समस्याहरुलाई पहिचान गरेर परराष्ट्र मन्त्रालय अन्तरगत विभिन्न सरोकारवाला निकायहरुमा पठाइने उनको भनाई छ।

सापकोटाले यदि अस्ट्रेलियामा रहेका शैक्षिक निकायहरुबाट पनि केही समस्या भएको भए त्यसका लागि समेत दूतावासले छलफलमार्फत समस्याको समाधान निकाल्ने प्रयास गर्ने सुनाइन्। ‘विद्यार्थी संख्या झण्डै ४० हजार भएको सन्दर्भमा उनीहरुको कुनै समस्या भए त्यसलाई कसरी हल गर्न सकिन्छ भन्ने सरकारी निर्णय अनुसार नै यो कार्यक्रम सुरु गरिएको हो,’ सापकोटाले कान्तिपुरसँग भनिन्।

यही कार्यक्रम अन्तरगत दूतावास र अवैतनिक वाणिज्य दूतावासले एनआरएनसँग समन्वय गरेर दक्षिण अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुसँग पहिलोपटक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थीहरुले कार्यक्रमको उद्देश्यकै बारेमा आफूहरुलाई प्रष्ट नभएको बताएका थिए।

उनीहरुले दूतावास आफ्नो समस्या सुन्न आएको भए पनि दूतावासलाई आफूले के प्रश्न सोध्ने र दूतावासबाट के अपेक्षा गर्ने त्यसबारेमा कुनै जानकारी नै नभएको बताएका थिए। यसका साथै दूतावासले नेपाल सरकारमार्फत विद्यार्थीलाई अस्ट्रेलिया ल्याउने कन्सल्टेन्सीहरुलाई कडा नियमन गर्नुपर्ने आवाज समेत उठाएका थिए।

कार्यक्रममा विद्यार्थीहरुमा पछिल्लो समयमा देखिदैँ आएको मानसिक समस्या, उनीहरुलाई सल्लाह सुझाव दिने भरपर्दो निकायको अभाव, विभिन्न कारणले ठगिने लगायतका समस्या राख्दै दूतावासले यस विषयमा गम्भिर हुनुपर्ने बताएका थिए। उनीहरुले दूतावास विद्यार्थीहरुको आफ्नै हो भन्ने भावनाको विकास हुने किसिमका कार्यक्रमहरु गर्न समेत सुझाव दिएका थिए। यसका साथै अस्ट्रेलिया अध्ययन गर्न आउनुअघि नै विद्यार्थीहरुलाई यहाँको बारेमा जानकारी दिने व्यवस्था मिलाउन पनि सुझाएका थिए।

कार्यवाहक राजदूत सापकोटा, तृतीय सचिव यादव कोइराला, अवैतनिक वाणिज्यदूत दीपक धमला र एनआरएन उपाध्यक्ष अशोक केसीले विद्यार्थीहरुका प्रश्नको उत्तर दिएका थिए। सापकोटाले दूतावास विद्यार्थीहरुको आफ्नै भएकाले केही समस्या परे सहयोगका लागि तयार रहेको बताएकी थिइन्। उनले विद्यार्थीहरुबाट आएका समस्यालाई नेपाल सरकारलाई पठाएर नीतिगत रुपमै कार्यन्वयनमा ल्याउन पहल गर्ने आश्वासन दिएकी थिइन्।

प्रकाशित : असार ७, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्

सबै प्रकारका विभेद समाप्त पार्नु साझा दायित्व : राष्ट्रपति

अवधेशकुमार झा

राजविराज — राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान सबै प्रकारका विभेदलाई जरैदेखि समाप्त पार्नु साझा दायित्व भएको बताएकी छिन् । सप्तरीको डाकनेश्वरी नगरपालिका तरही स्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्तीका अबसरमा शनिबार विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले मुलुक बनाउने साझा राष्ट्रिय कार्यभार भएकोले सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिइन् । 

‘कोशी, कमला, वलान जस्ता नदी सभ्यताका रुपमा चिरपरिचित यो भूमि राजा जनक, विद्वान अष्टावक्र तथा विदुषीहरुको तपोभूमि हो’ राष्ट्रपति भण्डारीले मिथिलाञ्चलको चर्चा गर्दै भनिन्,‘प्रसिद्ध समाज सुधारक सलहेस, दिनाभद्री लगायतकाको सहिष्णुताको भावनालाई आत्मसाथ गर्दै महाकवि विद्यापति जस्ता प्रसिद्ध साहित्यकारद्वारा समृत मैथिली साहित्यको विकासमा हामी सबैले ध्यान दिनुपर्ने आवश्यकता छ।’

हरेक वर्ष सप्तरी लगायत तराई क्षेत्रमा बाढीबाट हुने जनधनको क्षतिप्रति दुखः ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले बाढी, नदी कटान र शितलहरजस्ता प्राकृतिक विपत्तिको पूर्व तयारीमा रहन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन्।

राष्ट्रपति भण्डारीले सप्तरीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरि त्यसको सुव्यवस्थित संचालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन्। उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई साधन स्रोत सम्पन्न बनाउनु पर्ने पनि औल्याइन्।

कृषि क्षेत्रको विकासका लागि सिंचाईको विकासमा ध्यान दिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले सार्वजनिक स्थलमा शौचालय निर्माणको कार्यलाई प्राथमिकतामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरिन्।

प्रदेश २ सरकारले संचालन गरिरहेको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले उक्त कार्यक्रम महिलाको हितमा रहेकाले सफल बनाउन सबै पक्ष अग्रसर हुनुपर्नेमा जोड दिइन्। आवश्यक पूर्वाधारसहितका स्वास्थ्य केन्द्रहरु विस्तार गरि जनतालाई सहज रुपमा स्वास्थ्य सेवाको उपलब्धताको सुनिश्चतता गर्न उनले आग्रह गरिन्।

कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य विना मुलुकको समृद्धि हुन नसक्ने भएकाले विकासको पहिलो आधार शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लाग्नु सबैको दायित्व भएको बताए।

उनले निःशुल्क शिक्षा र आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने नीति अनुरुप सरकार अघि बढिरहेकोले यसमा सहयोग गर्न उनले सबैमा आग्रह गरे।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले महिलालाई शिक्षामा पहुँच बढाउनुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले शिक्षामा छोरीहरुको पहुँच बढाउन प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ अभियान संचालन गरिइरहेको बताउँदै प्रदेश सरकारले विपन्न, आर्थिक रुपमा कमजोर र पछाडि पारिएका समुदायलाई शिक्षाको मूलधारमा ल्याउने प्रदेश सरकारको नीति अनुरुप कमजोर परिवारका बालिकालाई मासिक रुपमा प्रोत्साहन स्वरुप पाँच सय रुपैया प्रदान गरिने बताए।

बालबालिकालाई विद्यालयमा टिकाउनका लागि प्रदेश सरकार र सबै प्रदेशवासी एकमत भएर लाग्नुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए। कार्यक्रममा प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा राष्ट्रपति भण्डारीले नव निर्मित चारकोठे भवनको उद्घाटन गर्नुका साथै विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेकी थिइन्।

प्रकाशित : असार ७, २०७६ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्