१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मलेसियामा पक्राउ परेका नेपाली कलाकार ‘फिर्ती केन्द्र’ मा

स्वदेश फर्काउने तयारी

मलेसिया — मलेसियामा पक्राउ परेका ३ जना नेपाली कलाकारहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको छ । एसएसओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि करिब तीन साताअघि मलेसिया आएका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि हाल फिर्ती केन्द्रमा राखिएको छ ।

मलेसियामा पक्राउ परेका नेपाली कलाकार ‘फिर्ती केन्द्र’ मा

उनीहरुलाई गत बिहीबार स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतले तोकेको जरिवाना रकम तिरेपछि उनीहरुलाई क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा राखीएको नेपाली दूतावासले जानकारी दिएको छ । पक्राउ परेकाहरुको अवस्थाबारे बुझी थप कानुनी प्रक्रिया अपनाउन दूतावासले वकिलको व्यवस्था मिलाएको थियो ।


दूतावास स्रोतका अनुसार स्वदेश फर्काउनका लागि आवश्यक पर्ने आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा भइसकेको छ । हवाई टिकट लगायत केही प्रक्रिया मात्र बाँकी रहेको र उक्त काम भइरहेको जनाइएको छ ।


‘अब केही दिनमै हवाई टिकटको व्यवस्था गरी उहाँहरुलाई स्वदेश फर्काउन सकिनेमा हामी आशावादी छौं,' दूतावासका एकजना अधिकारीले भने ।


पक्राउ परेकाहरुको उद्धारको पहल गर्न एवं पछिल्लो अवस्थाबारे बुझ्न गैरआवासीय नेपाली संघका महासचीव सुन्दर आले र सदस्य दिल कुमार केरुङ सोमबार क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा पुगेका थिए ।


कार्यक्रममा सहभागी हुन आएका ती कलाकारहरुसहित स्थानीय नेपाली कलाकार र आयोजक टोलीसहित ३२ जना अध्यागमन उल्लंघन गरेको आरोपमा यसै महिना ६ तारिक मा कार्यक्रमस्थल हुने भनिएको स्थान क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै पक्राउ परेका थिए ।


दूतावासका अनुसार पक्राउ पर्ने अन्य कतिपय छुटिसकेका छन् भने कतिपय अदालतको फैसलापछि जेल र फिर्ती केन्द्रमा छन् । मलेसियामा अदालती फैसलाअनुसार जरिवाना रकम तिरेका र जेल सजाय पूरा गरिसकेपछि फिर्ती केन्द्रमा राख्ने गरिन्छ । फिर्ती केन्द्रमा रहेकाहरु हवाई टिकटको व्यवस्था मिलाएर स्वदेश फर्कन पाउँछन् ।

प्रकाशित : असार ९, २०७६ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?