इराकमा नेपालीद्वारा नेपालीको हत्या

शव नेपाल पठाउन चन्दा संकलन
होम कार्की

काठमाडौँ — इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा बर्दीयाका विशाल पौडेलले देवदह नगरपालिका–९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेका छन् ।

इराकमा नेपालीद्वारा नेपालीको हत्या

एउटै कोठामा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा झगडा हुँदा पौडेलले सुनारको घाँटीमा चक्कु प्रहार गरेका थिए । प्रहरीले पौडेललाई पक्राउ गरेको छ ।


इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले सुनारको शव नेपाल पठाउनको लागि अनुमति दिइसकेको छ । तर, शव पठाउन लाग्ने आवश्यक खर्च जुट्न सकेको छैन । प्रवासी नेपाली समाज, इराकका अध्यक्ष कमल वाइवाले शव पठाउनको लागि नेपालीबीच चन्दा संकलन भइरहेको बताए । शव पठाउन झन्डै ३ हजार डलर खर्च हुन्छ ।


मीनबहादुरका सहोदर पदमबहादुरका अनुसार उनी दुबईबाट कुर्दीस्थान गएका थिए । ‘चार वर्षदेखि दुबईमा काम गर्दै आएका थिए । गाडी चलाउने काममा चार महिना अगाडि मात्रै कुर्दीस्थान पुगेका थिए,’ उनले भने, ‘चक्कु हान्ने मान्छे र भाई एउटा कोठामा बस्दा रहेछन् । त्यो मान्छेले पहिला पनि चक्कु देखाएकै कारण होटलबाट निकालिएको रहेछ । सानो विवादमा मेरो भाइको ज्यान गयो ।’


मीनबहादुरकी श्रीमतीले दोश्रो बिहे गरिसकेकी छिन् । उनको ६ वर्षको छोरा पदमबहादुरसँगै बस्छन् । ‘घर बनाउँदै थिए । पिल्लर हालेका थिए । यो घर सक्न अन्तिम पटकको लागि भन्दै इराक गए । इराकमै उनको सपना लुटियो,’ उनले भने, ‘हामीमाथि ठुलो आघात आइपर्‍यो ।’


उनले शव आउन ढिलाई भएको बताए । ‘आज भोली भन्दाभन्दै शव कुरेको महिना दिन भइसक्यो । के के प्रक्रिया पुरा गर्नुपर्छ भनिरहेका छन्,’ उनले भने, ‘हामीले दिनहुँ जसो इराकमा फोन गरिरहेका छौं ।’

प्रकाशित : असार ११, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?