नेपाल-अमेरिका चलचित्र महोत्सवमा बंगाली चलचित्र उत्कृष्ट 

कान्तिपुर संवाददाता

न्यूयोर्क — विभिन्न विधामा एघार चलचित्रहरुलाई पुरस्कृत गर्दै तेस्रो नेपाल-अमेरिका चलचित्र महोत्सव मेरिल्याण्डमा सम्पन्न भएको छ । महोत्सवमा तउक्वीर अहमदले निर्देशन गरेको ‘फगुन हवे ’ ले उत्कृष्ट चलचित्रको पुरस्कार जित्यो । 

नेपाल-अमेरिका फिल्म सोसाइटीको आयोजनामा हालै सम्पन्न तीन दिने महोत्सवमा युकी कांगले निर्देशन गरेको ‘ल लिटल विस्डम ’ उत्कृष्ट वृत्तचित्र, इरानी निर्देशक मोहम्मद बोक्सीले निर्देशन गरेको ‘आर यु भलिबल ’ सर्ट फिल्मको विधामा पुरस्कृत भए ।

महोत्सव अवधिभर प्रदर्शित भएका विभिन्न विधाका चलचित्रहरुको मूल्यांकनका लागि नेपाली निर्देशक मिनबहादर भामको अध्यक्षतामा रहेको तीन सदस्यीय निर्णायक मण्डल गठन थियो । महोत्सवमा नेपाल सहित विभिन्न देशका ३४ वटा चलचित्र प्रर्दशन गरिएका थिए ।

स्पेशल मेन्सन विधामा ‘पोर ग्रेग डौंनिंग ’ र दीपक तोलंगेको निर्देशनमा बनेको ‘टहरा' परस्कृत भए भने ग्राण्ड जरी अवार्डमा मनोजबाबु पन्त निर्देशित ‘अवशेष' उत्कृष्ट भयो । अविनाशबिक्रम शाहको ‘तातिनी ’ लगायतका चलचित्र पुरस्कृत भए । आयोजक संस्थाका निर्देशक पुर्णसिंह बराइलीले कान्तिपुरसँगको कराकानी गर्दै भने, ‘यसपटकको महोत्सवको सफलताले आगामी समयका लागि हामीलाई उर्जा मिलेको छ । ’

विनोद पौडेलद्वारा निर्देशित बलबल चलचित्रको प्रर्दशनबाट सुरु भएको महोत्सवमा प्रविन स्याङ्ग्बोको ‘कथा ७२ ’ नामक चलचित्रसँग समापन भएको थियो ।

प्रकाशित : असार २४, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

असल बुहारीलाई सम्मान

कान्तिपुर संवाददाता

परासी — प्रविधिको बढ्दो प्रयोग र व्यस्त दैनिकीका कारण वृद्धवृद्धालाई हेरचाहका लागि सन्तानसँग समय कम छ ।अधिकांश पुरुष रोजगारीका लागि घरबाहिर छन् । महिला, बालबालिका र वृद्धवृद्धा मात्र घरमा भेटिन्छन् । सहाराको खाँचो पर्ने समयमा आफ्नै सन्तान साथमा नहुँदा उमेर ढल्किएका अभिभावकमा निराशा बढ्दो छ । 

स्थानीय तहको चुनावमा अधिकांश उम्मेदवारले हरेक वडामा वृद्धवृद्धाका लागि केन्द्र स्थापना गर्ने भने पनि अहिलेसम्म त्यो कार्यान्वयनमा आएको छैन । पछिल्लो समय वृद्ध बाबुआमालाई छोडेर सन्तान छुट्टिएर बस्ने प्रचलन बढो छ । कतिपय सहाराको अभावमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता पनि छ ।

वृद्ध उमेरमा आउने निराशा र सन्तानलाई आफ्ना अभिभावकप्रतिको दायित्व निर्वाह गर्न पश्चिम नवलरासीको बर्दघाट नगरपालिका–२ ले असल बुहारी सम्मान कार्यक्रम अगाडि बढाएको छ । वडामा रहेका ८० वर्ष पुगेका वृद्ध सासू–ससुराको राम्रो सेवा गर्ने १५ जना बुहारीलाई सम्मान गरेर त्यस्तो कार्यक्रमको सुरुवातगरिएको हो ।

कार्यक्रमले सासू–ससुराको राम्रो हेरचाह गर्नुपर्ने छोरा–बुहारीमा कर्तव्यबोध गराउने र त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने वडाध्यक्ष दया दर्लामीले बताइन् । ‘पछिल्लो समय अभिभावकप्रति आफ्ना सन्तानले दायित्व निर्वाह गर्न नसकेको गुनासो प्रशस्त आएका छन्,’ उनले भनिन्, ‘यसरी असल व्यवहार गर्ने बुहारीलाई सम्मान गरेपछि अन्यलाई पनि यसले शिक्षा प्रदान गर्छ भन्ने विश्वास गरेका छौं ।’

कार्यक्रममा बुबाआमाले सानामा जसरी बालबालिकालाई हुर्काएका थिए, बुढेसकालमा सन्तानले पनि त्यस्तै व्यवहार वृद्धवृद्धालाई गरेर हुर्काउनुपर्ने सन्देश प्रस्तुत गरिएको थियो । ‘नेपालमा प्रायः पुरुष कामको सिलसिलामा घरबाहिर हुन्छन् । घर र परिवारको रेखदेखको जिम्मा महिलाको हुन्छ,’ स्थानीय हिमाकुमारी वलले भनिन्, ‘घरका सासू–ससुरा र ज्येष्ठ सदस्यको हेरचाहमा बुहारीले विशेष भूमिका हुने भएकाले बुहारी सम्मान कार्यक्रम ल्याइएको हो ।’

वडा २ बाट सुरु भएको यो अभियान अब नगरका सबै वडामा सञ्चालन गरिने बर्दघाट नगरपालिका उपप्रमुख माया पौडेलले बताइन् । यसले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै असल छोरी मात्र असल बुहारी बन्नसक्ने बताउँदै ज्येष्ठ नागरिकलाई सबैले माया र सम्मान दिनुपर्ने उनले बताइन् ।

प्रकाशित : असार २४, २०७६ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्