‘युवतीहरू काममा फर्किनु सकारात्मक’

चीनमा नेपाली कामदार
लक्ष्मी लम्साल

(बेइजिङ) — चिनियाँ रोजगारदाता कम्पनीले सेवा सुविधाका सर्त उल्लंघन गरेको भन्दै काम बहिष्कार गरेका नेपाली युवती र सम्बन्धित म्यानपावर कम्पनीबीच वार्ता सकारात्मक रूपमा अघि बढेको छ ।

उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तको तानतोङ सहरस्थित गार्मेन्टमा गत मे १२ मा काम गर्न पुगेका ४४ नेपाली युवतीमध्ये अधिकांशले सम्झौताबमोजिमको सेवासुविधा नपाएको भन्दै काम ठप्प पारेका थिए ।

काठमाडौं गौशाला पिंगलास्थानस्थित कम्पास रिक्रुटमेन्ट म्यानपावरमार्फत पहिलो पटक यति ठूलो संख्यामा वैदेशिक रोजगारका लागि चीन आएका नेपाली युवतीहरू पर्याप्त परामर्श, चिनियाँ जीवनशैली, खानपान, सम्पर्क भाषा लगायतबारे अनभिज्ञ भएपछि अप्ठ्यारोमा परेका थिए ।

त्यसमाथि म्यानपावर र गार्मेन्टबीचको मिलेमतोमा तोकिएको तलब, कार्यअवधि र कामको प्रकृति नमिलेको भन्दै उनीहरूले बेइजिङस्थित दूतावास र म्यानपावर कम्पनीलाई नेपाल फर्काइदिन वा सर्त पालनाका लागि दबाब दिन अनुरोध गरिरहेका थिए । कामदारको मागबारे छलफल गर्न गत आइतबार कम्पनीका सञ्चालक गिरिराज घिमिरे र राम कार्की कारखानास्थल पुगेका थिए ।

‘विगत दुई/तीन दिनको वार्ताबाट हामी सकारात्मक भएका छौं,’ काम छोडेकी एक युवती सुमित्रा बराइलीले भनिन्, ‘साथीहरूलाई काममा फर्काउन कम्पनीले प्रयास गरिरहेको छ । तलब थप्ने, कामका सेवासर्त पालना गर्ने प्रतिबद्धता आएको छ ।’

यसअघि ज्याकेट उत्पादन गर्ने उक्त गार्मेन्ट कम्पनीले प्रतिमहिना ४ सय अमेरिकी डलर, ८ घण्टा कामलगायतका श्रमिक सर्तसम्बन्धी सबै प्रक्रिया पूरा गरेर दूतावासमार्फत कामदारका लागि नेपालमा सम्पर्क गरेको थियो । दूतावासका मिनिस्टर सुशील लम्सालले कान्तिपुरलाई सम्झौताअनुरूप गर्ने हो भने सबै कुरा ठीक हुने बताए ।

उनले भने, ‘वार्ताको औचित्य पनि थिएन, तोकिएका सर्त पालना गर्ने हो, कुरै सकियो ।’ दूतावासले पूर्वसर्तअनुसार सेवासुविधा नदिएकाले सम्बन्धित म्यानपावरलाई कारबाही गर्न पटक–पटक नेपालस्थित वैदेशिक रोजगार विभागसमक्ष चिठी लेखेको थियो । वार्तामा रहेका कम्पनीका प्रतिनिधि घिमिरेले घरपरिवार छाडेर यत्रो दुःख गरेर यहाँसम्म आएका चेलीहरूलाई पूर्वसर्तबमोजिमका सेवासुविधा दिएर राख्न प्रयास भइरहेको बताए ।

उनले भने, ‘उहाँहरू काममा फर्किन तयार हुनुहुन्छ । मात्रै अगुवाइ गरेका ६ र ७ जनाले नेपाल फर्किने कि काममा जाने भन्नेमा निर्क्योल गर्न सकिरहेका छैनन् । छिट्टै निष्कर्षमा पुग्ने प्रयास हुँदै छ, एक–दुई दिनमै होला ।’ चीनको उत्तरी भेगस्थित तानतोङ सहर उत्तर कोरियाको सीमामा पर्छ ।

त्यहाँबाट बर्सेनि उत्तर कोरियनहरूले काम गर्न आउने गरेकोमा हाल त्यहाँको सरकारले रोक लगाएपछि नेपालीले अवसर पाएका हुन् । तर, कामदार युवतीहरूले गुनासो गर्दै म्यानपावरले चिनियाँ गार्मेन्टसँग गोप्य सम्झौता गरेर कम तलब र साना अक्षरका सम्झौतामा हस्ताक्षर गराएर फसाएको बताउँदै आएका छन् ।

म्यानपावरका प्रतिनिधिले भविष्यमा यस्तो गल्ती नदोहोरिनेबारेमा आश्वस्त गराएपछि काममा निर्धक्क फर्किन सक्ने केहीयुवतीको भनाइ छ ।

प्रकाशित : असार २६, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती राजदूतले दिए राजीनामा

(एएफपी)

लन्डन — अमेरिकाका लागि बेलायती राजदूत सर किम ड्यारोकले राजीनामा दिएका छन् । उनको ईमेल चुहावटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तिक्तता बढेकै बेला यो राजीनामा आएको हो ।

सर किमले ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।

बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामा पत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । ‘सम्बन्ध सुधार र बेलायती चासोबारे पटक–पटक बुझाउने प्रयास गरे पनि सफल हुन सकिनँ’ उनले राजीनामा पत्रमा लेखेका छन, ‘मैले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भवजस्तै भएको छ, त्यसैले मैले पदीय जिम्मेवारी त्याग्ने निर्णय गरेको छु ।’

बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वासमा पनि आफूले राजीनामा दिएको बताए । उनले राजीनामाबारे प्रधानमन्त्री टेरेजा मेले संसद्मा जानकारी पनि दिइसकेको र राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै प्रमबाट धन्यवादसमेत पाइसकेको बताए । ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूतकिमको आलोचना गरेका थिए ।

राष्ट्रपति ट्रम्पले राजदूत सर किमसँग ‘व्यवहारै नगर्ने’ भनेका थिए । बेलायतले भने आफ्नो राजदूतप्रति ‘प्रधानमन्त्रीको पूर्ण समर्थन रहेको’ प्रतिक्रिया मंगलबार दोहराएको थियो । ‘डाउनिङ स्ट्रिट’ ले आफ्ना राजदूत सर किमप्रति ‘पूर्ण समर्थन’ रहेको भनेको थियो । सर किमको ईमेल चुहावटपछि बेलायती सरकारले यसबारे जाँचको आदेश दिएको थियो ।

‘बीबीसी’ का कूटनीतिक संवाददाता जेम्स लेन्डनका अनुसार ट्रम्पले सर किमप्रति जुन प्रतिक्रिया व्यक्त गरे, त्यो आफ्नो मुलुकबाट विदेशी कूटनीतिकलाई देशबाहिर पठाउने औपचारिक कानुनी प्रक्रिया नै हो । राष्ट्रपति ट्रम्पले आफ्नो टीटमा जुन शब्दको प्रयोग गरेका थिए, त्यसले सर किमलाई बेलायत फिर्ता हुने भनेको विश्लेषण गरिएको थियो ।

प्रकाशित : असार २६, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्