२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘युवतीहरू काममा फर्किनु सकारात्मक’

चीनमा नेपाली कामदार
लक्ष्मी लम्साल

(बेइजिङ) — चिनियाँ रोजगारदाता कम्पनीले सेवा सुविधाका सर्त उल्लंघन गरेको भन्दै काम बहिष्कार गरेका नेपाली युवती र सम्बन्धित म्यानपावर कम्पनीबीच वार्ता सकारात्मक रूपमा अघि बढेको छ ।

उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तको तानतोङ सहरस्थित गार्मेन्टमा गत मे १२ मा काम गर्न पुगेका ४४ नेपाली युवतीमध्ये अधिकांशले सम्झौताबमोजिमको सेवासुविधा नपाएको भन्दै काम ठप्प पारेका थिए ।


काठमाडौं गौशाला पिंगलास्थानस्थित कम्पास रिक्रुटमेन्ट म्यानपावरमार्फत पहिलो पटक यति ठूलो संख्यामा वैदेशिक रोजगारका लागि चीन आएका नेपाली युवतीहरू पर्याप्त परामर्श, चिनियाँ जीवनशैली, खानपान, सम्पर्क भाषा लगायतबारे अनभिज्ञ भएपछि अप्ठ्यारोमा परेका थिए ।


त्यसमाथि म्यानपावर र गार्मेन्टबीचको मिलेमतोमा तोकिएको तलब, कार्यअवधि र कामको प्रकृति नमिलेको भन्दै उनीहरूले बेइजिङस्थित दूतावास र म्यानपावर कम्पनीलाई नेपाल फर्काइदिन वा सर्त पालनाका लागि दबाब दिन अनुरोध गरिरहेका थिए । कामदारको मागबारे छलफल गर्न गत आइतबार कम्पनीका सञ्चालक गिरिराज घिमिरे र राम कार्की कारखानास्थल पुगेका थिए ।


‘विगत दुई/तीन दिनको वार्ताबाट हामी सकारात्मक भएका छौं,’ काम छोडेकी एक युवती सुमित्रा बराइलीले भनिन्, ‘साथीहरूलाई काममा फर्काउन कम्पनीले प्रयास गरिरहेको छ । तलब थप्ने, कामका सेवासर्त पालना गर्ने प्रतिबद्धता आएको छ ।’


यसअघि ज्याकेट उत्पादन गर्ने उक्त गार्मेन्ट कम्पनीले प्रतिमहिना ४ सय अमेरिकी डलर, ८ घण्टा कामलगायतका श्रमिक सर्तसम्बन्धी सबै प्रक्रिया पूरा गरेर दूतावासमार्फत कामदारका लागि नेपालमा सम्पर्क गरेको थियो । दूतावासका मिनिस्टर सुशील लम्सालले कान्तिपुरलाई सम्झौताअनुरूप गर्ने हो भने सबै कुरा ठीक हुने बताए ।


उनले भने, ‘वार्ताको औचित्य पनि थिएन, तोकिएका सर्त पालना गर्ने हो, कुरै सकियो ।’ दूतावासले पूर्वसर्तअनुसार सेवासुविधा नदिएकाले सम्बन्धित म्यानपावरलाई कारबाही गर्न पटक–पटक नेपालस्थित वैदेशिक रोजगार विभागसमक्ष चिठी लेखेको थियो । वार्तामा रहेका कम्पनीका प्रतिनिधि घिमिरेले घरपरिवार छाडेर यत्रो दुःख गरेर यहाँसम्म आएका चेलीहरूलाई पूर्वसर्तबमोजिमका सेवासुविधा दिएर राख्न प्रयास भइरहेको बताए ।


उनले भने, ‘उहाँहरू काममा फर्किन तयार हुनुहुन्छ । मात्रै अगुवाइ गरेका ६ र ७ जनाले नेपाल फर्किने कि काममा जाने भन्नेमा निर्क्योल गर्न सकिरहेका छैनन् । छिट्टै निष्कर्षमा पुग्ने प्रयास हुँदै छ, एक–दुई दिनमै होला ।’ चीनको उत्तरी भेगस्थित तानतोङ सहर उत्तर कोरियाको सीमामा पर्छ ।


त्यहाँबाट बर्सेनि उत्तर कोरियनहरूले काम गर्न आउने गरेकोमा हाल त्यहाँको सरकारले रोक लगाएपछि नेपालीले अवसर पाएका हुन् । तर, कामदार युवतीहरूले गुनासो गर्दै म्यानपावरले चिनियाँ गार्मेन्टसँग गोप्य सम्झौता गरेर कम तलब र साना अक्षरका सम्झौतामा हस्ताक्षर गराएर फसाएको बताउँदै आएका छन् ।


म्यानपावरका प्रतिनिधिले भविष्यमा यस्तो गल्ती नदोहोरिनेबारेमा आश्वस्त गराएपछि काममा निर्धक्क फर्किन सक्ने केही युवतीको भनाइ छ ।


प्रकाशित : असार २६, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?