दृष्टिविहीनलाई सहयोग जुटाउन अस्ट्रेलिया
अस्ट्रेलिया — नेपाली फिल्मका नायक राजेश हमाल केही कलाकारसहित अहिले अस्ट्रेलिया भ्रमणमा छन् । तीन साता लामो अस्ट्रेलिया भ्रमणमा आएका उनीहरू कुनै सांगीतिक कार्यक्रम गर्न आएका भने हैनन् ।
बरु दृष्टिविहीनका लागि भवन निर्माणमा सहयोग जुटाउन यहाँ आएका रहेछन् ।
हास्यव्यंग्य कलाकार शैलेन्द्र सिंखडा, गायिका मेनुका पौडेल र एलिसा रेग्मीसहित आएर अस्ट्रेलियाका विभिन्न सहरमा कार्यक्रम गरिरहेका उनले सिन्धुपाल्चोकमा रहेका दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माणका साथै तालिम केन्द्र निर्माण अभियानमा रहेको सुनाए ।
‘केही भएका हामीले केही नभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई सहयोग गरौं भन्ने उद्देश्यले हामी तपाईंसमक्ष आएका हौं,’ हमालले भने । उनका अनुसार २० दिन लामो यात्राका लागि दुई साता पहिले अस्ट्रेलिया आएका उनीहरूको यो सहयोग अभियान मेलबर्नमा कार्यक्रमपछि सकिनेछ ।
‘हामीले ब्रिसबन, गोल्डकोस्ट, सिड्नी, तास्मानियालगायत सहरमा धेरै सहयोगी हातहरू पाइसकेका छौं र यो पुण्य काम चाँडै सम्पन्न हुनेमा विश्वास दिलाउन चाहन्छु,’ कार्यक्रमको सिलसिलामा दक्षिण अस्ट्रेलिया आइपुगेका हमालले भने ।
प्रकाशित : असार ३०, २०७६ १०:१२