१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भ्रमण वर्ष प्रवर्द्धन गर्न बेलायतमा पैदल यात्रा

कान्तिपुर संवाददाता

लण्डन — नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा ३ दिने क्याम्पिङ र हाइक फर नेपाल (लामो दूरीको पैदल यात्रा) गरिएको छ।

भ्रमण वर्ष प्रवर्द्धन गर्न बेलायतमा पैदल यात्रा

पोखरेली मन्च यूके र वी विल राइज फाउन्डेसनको संयुक्त आयोजनामा अगस्ट २ देखि ४ तारिखसम्म आयोजित 'हाइक फर नेपाल' कार्यक्रमले संयुक्त अधिराज्यको वेल्सलाई नेपालमय बनायो ।


बेलायतभरबाट सहभागी हुन आएका विभिन्न उमेर समूहका करिब ३०० जना पैदल यात्रीहरुले वेल्सको लाङ्गघोर्स माउन्टेनमा ९ किलोमिटर लामो पैदल यात्रा उत्साहका साथ पूरा गरे। सहभागी ४ वर्षका बालकदेखि स्वदेशी/बिदेशी जेष्ठ नागरिकको पनि उपस्थिति थियो।


नेपाल सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष २०२०' प्रवर्द्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताए ।


आयोजना स्थलमा नेपालको मानचित्र, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको आकृति र भूकम्पले तहसनहस पारेको ३ करोड नेपालीको अमूल्य धरोहर धरहरा निर्माण गरी विश्व शान्तिका लागी दीप प्रज्वलन समेत गरिएको थियो । भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिसँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस् भन्ने सन्देश स्वरुप सोको प्रतिमूर्ति बनाइएको पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले बताए। आयोजनास्थल नेपालमय बनाउन र सो सन्देश दिन करिब ६ मिटर (१८ फिट) अग्लो धरहरा गुरुङ आफैले निर्माण गरेका थिए।


कार्यक्रममा मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए ।


'नेपालका लागि सँगसँगै पाईला चालौं' भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइक फर नेपाल तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो ।


बिदेश बसे पनि हरेक नेपालीले आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध गराउने खालका यस्ता कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै हङकङबाट सहभागिता जनाउन आएका फाउण्डेसनका संस्थापक तुलसी गुरुङले सबैलाई आआफ्नो स्थानबाट मुलुकका लागी सकेको पहल गर्न अनुरोध गरे ।


आयोजक पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरुबीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए ।


ब्यस्त बेलायती जीवनशैलीबाट केही दिन उम्किएर ३ दिने क्याम्पिङ र हाइकिङमा बेलायतभरबाट आएका सहभागीले भरपूर आनन्द उठाए। शहरको कोलाहलबाट टाढा शान्त, सुन्दर डाडाकाडांले घेरिएको ब्रेकनको लोङ्गघार्स चढ्दा अधिकांशले गाउँघरको तिर्सना मेटिएको बताए भने युवा र बालबालिकाले कम्तीमा वर्षको एक पटक स्वदेश जानुपर्छ भन्ने प्रेरणा मिलेको बताए ।


आयोजनास्थल सुन्दर शहर ब्रेकन र धम्पुसबीच गत फेब्रुअरीमा मितेरी साइनो पनि गाँसिएकोले ब्रेकनबासीको मनमा नेपालप्रति थप माया, सद्भाव र चासो बढेको छ। कार्यक्रममा ब्रेकनका मेयर काउन्सिलर एन माथिएज, धम्पूस र ब्रेकन ट्वीनिङ कमिटी यूकेका अध्यक्ष काउन्सिलर डेविड मेडिरिथ, गत मे १९ मा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका क्याप्टेन गेथिन डेभिस लगायत थुप्रै स्थानीय र विदेशीहरु सहभागिता रहेकाे थियो ।

प्रकाशित : श्रावण २१, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?