कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जम्मु-कश्मीरमा रहेका नेपालीका सम्बन्धमा दिल्लीस्थित दूतावासमा छलफल

सुरेशराज न्यौपाने

नयाँदिल्ली — जम्मु-कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले यहाँका प्रवासी नेपालीका संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

जम्मु-कश्मीरमा रहेका नेपालीका सम्बन्धमा दिल्लीस्थित दूतावासमा छलफल

नरेन्द्र मोदी सरकारले गत साता जम्मु-कश्मीरको विशेषाअधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशा व्यवसाय गर्दै आएका करीब ८० हजारको संख्यामा रहेका नेपालीहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त भइरहेका बेला दूतावासले त्यस्तो छलफल गरेको हो ।


छलफलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रवासी संगठनका प्रतिनिधिहरुसँग जम्मु-कश्मीरमा रहेका नेपालीहरुको सुरक्षालगायतका विषयमा के-कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । राजदूत आचार्यसँगको छलफलमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चालगायता राजनीतिक दल निकट प्रवासी संगठनका प्रतिनिधि र दूतावासका अन्य अधिकारीहरुसमेत उपस्थिति थियो ।


साथै प्रवासी संगठनका प्रतिनिधिहरुले जम्मु-कश्मीरमा देखिएका पछिल्लो तनावका कारण त्यहाँ स्थायी र अस्थायी रुपमा बस्दै आएका नेपालीहरुले भोग्नु परेका समस्याहरुको जानकारी गराएका थिए । विशेषगरी कश्मीर उपत्यकामा नेपालीहरुको जीवनयापन दिनप्रतिदिन कष्टकर बन्दै गएको र नेपाल सरकारले भारतसरकारसँगको समन्वयमा आवश्यक पहल थाल्नु पर्ने सुझाव पनि उनीहरुले दिएका थिए । ‘जम्मु-कश्मीरका नेपालीहरुले भोग्नु परेको समस्याबारेमा थाहा पाएसम्मका जानकारी राख्यौं,’ छलफलमा सहभागी पूर्व एकीकृत नेकपा माओवादीनिकट पूर्व अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।


प्रवासी नेपाली संगठनहरुका अनुसार जम्मु-कश्मीरका कठुवा, साम्बा, जम्मु शहर, उद्यमपुर, कश्मीरको श्रीनगर, पहलगाम, कार्गिल, लेहलद्दाख, बारामुला, पुलवामा, गुलमोहरलगायतका स्थानमा नेपालीहरुको बाक्लो उपस्थिति छ । तिनीहरुमध्ये धेरैजसो मजदुरी, चौकिदारी, कुक, भरिया र ससाना व्यापारलगायतका काममा संलग्न रहेको बताइन्छ ।


मोदी सरकारले गत सोमबार जम्मु-कश्मीरले उपभोग गर्दै आएको संविधानको धारा ३७० खारेज र धारा ३५ (क) खारेज गरे पछि त्यहाँको परिस्थिति तनावपूर्ण बनेको हो । जम्मु र लेह-लद्दाख क्षेत्रमा परिस्थिति केही सहज भए पनि कश्मीर उपत्यकाभित्र त्यसमा पनि श्रीनगरको स्थिति भने अझै असहज नै रहेको छ ।


ईदका लागि आइतबार सुरक्षा व्यवस्था केही खुकुलो बनाइएको भए पनि बुधबारको स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै पुनः कडाई गरिएको छ । जसका कारण विशेषगरी श्रीनगर र आसपासका जिल्लामा रहेका नेपालीहरुलाई दैनिक उपभोग्य सामान किन्न पनि कडाई भएको धारणा दूतावासमा भएको छलफलमा सहभागी प्रवासी नेपाली संगठनका प्रतिनिधिहरुले राखेका थिए ।


साथै जम्मु-कश्मीरमा देखिएको तनावपूर्ण स्थितिले त्यहाँको पर्यटन क्षेत्रमा ठप्प भएको हुँदा त्यस क्षेत्रमा काम गर्ने नेपालीहरुको रोजगारी नै संकट परेको समेत उनीहरुले बताएका थिए । साथै आफूहरुले जम्मु-कश्मीरमा रहेका नेपालीहरुको अवस्था बुझ्न दूतावास र प्रवासी संगठनहरुको प्रतिनिधिहरु सम्मिलित संयुक्त टोली पठाउनका पहल गर्न समेत दूतावासलाई आग्रह गरेको समेत उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?