चार वर्षका साझा एकैपटक

कान्तिपुर संवाददाता

ललितपुर — साझा प्रकाशनले घोषणा गरेर प्रदान गर्न बाँकी चार वर्षयताका साझा र अन्य पुरस्कार मंगलबार वितरण गरेको छ ।

प्रकाशनको पुलचोकस्थित मुख्यालयमा आयोजित साहित्यिक जमघटमा साझा पुरस्कारसँगै लोकसाहित्य, बालसाहित्य र गरिमा सम्मान हस्तान्तरण गरियो ।
साझाले २०६६ को साझा पुरस्कार पुरुषोत्तम सुवेदी -माथिको तस्बिर), २०६५ को नारायण ढकाल, ०६४ को ऋषिराज बराल र २०६३ को हरि अधिकारीलाई दिने घोषणा गरेको थियो । ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको पुरस्कार थाप्न मंगलबार ढकाल र सुवेदी मात्रै आइपुगे । ढकाललाई 'प्रेतकल्प' उपन्यासका लागि, सुवेदीलाई 'संक्रमणको साहित्य र समकालीनता', बराललाई 'साहित्य र समाज' समालोचना कृति र अधिकारीलाई कविता कृति 'हरि अधिकारीका कविताहरू' का लागि पुरस्कृत गरिएको हो ।
साझा बालसाहित्य पुरस्कार अनिल पौडेलको 'आमाचरी' बालउपन्यास -२०६३), विनय कसजूको 'वनको दमकल' कथासंग्रह -२०६४), शान्तदास मानन्धरको 'भुइँचालोबारे हजुरआमाको कथा' -२०६५) र देवेन्द्र मिश्रको 'बगियाक गाछ' मैथिली कथासंग्रह -२०६६) लाई प्रदान गरियो । लोकसाहित्य पुरस्कार भने 'नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू' -२०६३) खोजमूलक कृतिका लागि डा. मोतीलाल पराजुलीलाई, 'लिम्बूवानका लोककथा' -२०६५) का लागि धनहाङ राई र 'डोटी प्रदेशको लोक वाङ्मय कोष'
-२०६६) का लागि वासुदेव भट्ट 'भाइ साप' ले पाए । उल्लेख्य कृति नभएकाले २०६४ को लोकसाहित्य पुरस्कार भने घोषणा गरिएको थिएन । बाल र लोकसाहित्य दुवै पुरस्कारमा १५ हजार रुपैयाँ छ ।
साझाले साहित्य मासिक प्रकाशन 'गरिमा' मा वर्षभरि छापिएका रचनामध्ये गद्य र पद्य गरी उत्कृष्ट दुईलाई हरेक वर्ष १० हजार रुपैयाँको 'गरिमा सम्मान पुरस्कार' दिँदै आएको छ । यसअन्तर्गत ललिजन रावल र रुद्र खरेल -२०६३), श्यामल र राजेन्द्र विमल -२०६४), रेखा सुवेदी र राजेन्द्र पराजुली -२०६५) तथा कणाद महषिर् र अविनाश श्रेष्ठ
-२०६६) लाई पुरस्कृत गरियो । दिवंगत रुद्र खरेलबाहेकलाई संस्कृतिविद् सत्यमोहन जोशी र सहकारी मन्त्री मृगेन्द्रसिंह यादवले पुरस्कार हस्तान्तरण गरे ।
'राज्यको सहयोग नलिईकन साझाले सय वर्षदेखि भाषा- साहित्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्नैपर्छ,' जोशीले भने, 'विडम्बना, आज साझा प्रकाशन रुग्ण अवस्थामा छ । यसलाई राज्यले बचायो भने यसले पनि राज्यका भाषा र साहित्यलाई बचाउनेछ ।'
 

प्रकाशित : असार ३०, २०६७ ०८:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिंगो बस्ती पहिराको जोखिममा

चन्द्र कार्की

तेह्रथुुम — गाउँको पुछारमा रहेको मङसेवा खोलाबाट सुरु पहिराले घरसमेत लग्न लागेेपछि फुलेक- ९ चम्फुलाका यामबहादुर गुरुङसहित ६ परिवार जोखिममा परेका छन् ।


वषर्ा सुरुलगत्तै घर नजिकैबाट पहिरो सुरु भएपछि गाउँले त्रसित भई सुरक्षित बास खोजीमा लागेका हुन् । सदरमुकाम म्याङलुङदेखि ३० किमि पश्चिमको फुलेकको ८ र ९ वडाका बासिन्दा डरले रातभर निदाउन नसकेको बताउँछन् ।
'पहिराले बारी हुँदै घरसमेत बगाउन आँटेको छ,' फुलेक- ९ चम्फुलाका यामबहादुरले भने, 'पहिराले लग्ने डरले रातभर सबै जागै बस्छौं ।' गाउँले सबै काम छाडेर पहिरो रोकाउने उपाए खोज्न लागिपरेका छन् ।
'दिनभर त बाहिरै हुन्छौं,' फुलेक- ९ चम्फुलाकी फूलकुमारी गुरुङले भनिन्, 'रात परेपछि पहिरोले बगाउला भन्ने डर लाग्छ ।' हल्का पानी पर्नसाथ पहिरो खस्ने गरेको उनले बताइन् । गाउँको पुछारमा रहेको मङसेवा खोलाबाट सुरु भएको पहिरो बीच गाउँ आइपुगेको छ । पहिरो आसपास सयौं मिटर टाढाका जमिन धाँजा फाटेका छन् । स्थानीय कर्णबहादुर गुरुङ पहिराले धेरैको उठिबास लगाउन आँटेको बताउँछन् ।
पहिरो रोकथामका लागि गाउँलेले रुखबिरुवा रोप्नेदेखि पानी तर्काउनेसम्म गरे, रोकिनुको सट्टा झन् बढेर आएको छ । पहिराले चम्फुलाका मित्रलाल राई, रामबहादुर गुरुङ, दुर्जमान राई, कर्णबहादुर राईलगायत ६ परिवारको जग्गा र घर बगाउन लागेको छ । पानी परेलगत्ततै पहिरो बग्न थाल्छ ।
वषर्ाको भेलसँगै गएको पहिराले खोलाको शिरबाट फुलेक गाविसका कृषकले लगेको जोरगुराँस सिंचाइ कुलो पनि बगाएको छ । कुलो बगेपछि फुलेकका २ सय ५० भन्दा बढी परिवार सिंचाइ सुविधाबाट वञ्चित छन् । कुलो बगाएपछि १ हजार ५ सय रोपनी खेत बाझै रहेको स्थानीय अमृत गौतमले बताए ।
'समयमै विचार नपुर्‍याए ठूलो दुर्घटना हुन सक्छ,' सार्वजनिक मावी फुलेकका प्रअ कमल खड्काले भने ।

प्रकाशित : असार ३०, २०६७ ०८:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्