१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राम्रो फिल्म बनाउने हो भने...

काठमाडौ — नेपाली फिल्ममा निर्देशकको क्षमता खासै नदेखिएको चर्चा भइरहेकै बेला नेपाल चलचित्र निर्देशक समाजले प्रशंसनीय कामको थालनी गर्न लागेको छ । समाजले छिट्टै साताव्यापी अन्तर्राष्ट्रिय कार्यशाला गर्न लागेको छ, जसमा विदेशका ख्यातिप्राप्त सिनेकर्मीहरूको उपस्थिति रहनेछ ।


नेपाली चलचित्रलाई गुणस्तरीय बनाउने बहससँगै निर्देशकको दक्षता अभिवृद्धि र अनुभव आदानप्रदानका लागि अन्तर्राष्ट्रिय स्रोत व्यक्तिसमेतको उपस्थितिमा कार्यशाला गर्न लागिएको हो । 'हालसम्म हामीले जे गर्‍यांै, जति जानेका थियौं, अझै धेरै गर्न चाहन्छौं,' सोमबार कुपन्डोलमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक समाजका अध्यक्ष केपी पाठकले भने, 'हामी परिवर्तन खोजिरहेका छौं भने त्यसका लागि हामीले सिक्नैपर्छ ।'
माघ ७ मा चितवनको मेघौलीमा सुरु हुने कार्यशालाका लागि दक्षिण कोरियाबाट किम डोङ विन, भारतबाट कनल शास्त्री -केएनटी शास्त्री) र गोविन्द निहलानी आउने पक्का भइसकेको पाठकले बताए । 'दूतावासमार्फत चिनियाँ चलचित्रकर्मी ल्याउने पहल पनि भइरहेको छ,' उनले भने ।  
कार्यशाल्ाामा स्रोत व्यक्तिहरूको अनुभव, चलचित्रका आधारभूत पक्षलाई हेर्न दृष्टिकोण, उनीहरूको चलचित्रको ऐतिहासिक विकास पाटो, चलचित्रको अन्तर्राष्ट्रियकरण, प्रविधि प्रयोगको शैलीलगायतका विषयमा छलफल हुनेछ । साथै उनीहरूले बनाएका चलचित्रमाथि सिर्जनात्मक बहस, छनोटमा परेका विश्वको उत्कृष्ट चलचित्रमाथि विश्लेषणात्मक टिप्पणी, केही नेपाली चलचित्रमाथि उनीहरूको विश्लेषणसमेतलाई समावेश गरिने पनि पाठकले बताए ।
'मुख्य कुरा कार्यशालामा विषयवस्तु के हो भन्ने हो,' पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकर्मी यादव खरेलले टिप्पणी गरे, 'यो कार्यशालाको विषयवस्तु समसामयिक र निकै महत्त्वपूर्ण ल्ााग्यो ।' अर्का पाका चलचित्रकर्मी लक्ष्मीनाथ शर्माले 'ढिलै भए पनि राम्रो काम हुन लागेको बताउँदै' आयोजकको प्रशंसा गरे । विश्व बस्नेतले थपे, 'फिल्मलाई हेर्ने परम्परागत दृष्टिकोण बदल्न कार्यशालाले सघाउनेछ ।' निर्देशक समाजको संस्थापक अध्यक्ष युवराज लामाले चाहिँ निर्देशकको क्षमता अभिवृद्धि भयो भने मात्रै 'गुणात्मक फिल्म' बन्ने र फिल्ममा गुणात्मकता भए त्यसको बजार पनि अन्तर्राष्ट्रियकरण हुने धारणा राखे ।
निर्देशकसँगै, स्त्रिmप्ट राइटर, फिल्म समीक्षक, स्वतन्त्र फिल्म मेकरसहितलाई लक्ष्य गरिएको कार्यशाला २३ लाख बजेटको योजनासाथ गर्न लागिएको हो, सरकारले कार्यशालाप्रति उदासिनता देखाएको अध्यक्ष पाठकले आरोप लगाए । 'अरू जस्तोसुकै कामलाई बजेट हुने,' उनले भने, 'फिल्मलाई चाहिँ नहुने किन ?' । सरकारले फिल्म क्षेत्रलाई नै अनुत्पादक क्षेत्रको रूपमा हेरेको आरोप लाउँदै उनले कार्यशालाका लागि विभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा पनि गरे ।
कार्यशालाका लागि मंगलबारबाटै रजिस्ट्रेसन खुला गरिएको र यो दस दिनभित्रमा इच्छुकहरूले नाम दर्ता गराइसक्नुपर्ने समाजका उपाध्यक्ष विमल पौडेलले बताए । ५० देखि ६० जनाको सहभागिता रहने कार्यशालाका लागि निर्देशक समाजका नवीकरण भएका सदस्यलाई २ हजार रुपैयाँ र अन्यलाई ५ हजार रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।
'यो कार्यशालाको सफलतासँगै नेपाली चलचित्र क्षेत्रमा उत्साहको तरंग फैलिने हामीले अपेक्षा राखेका छौं,' पौडेलले दाबी गरे ।
 

प्रकाशित : पुस १३, २०६७ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?