३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पर्दामा मुस्ताङ कथा

काठमाडौं — सन् नब्बेको दशकको अन्तिमतिर उनैले अजम्बरी गीतहरू समेटिएर अम्बर गुरुङको 'नौलाख तारा', 'कहिले लहर कहिले तरंग' देखि फत्तेमानको 'प्रेमपीडा', माणिकरत्नको 'यो खोलाको सङ्लो पानी' र हरिप्रसाद रिमालको 'एक नजर' जस्ता चर्चित एल्बमहरू निकालेका थिए ।

बीचमा उनी 'इतिहास जित्नेहरूका लागि' र पूर्व लाहुरेहरूको कथामाथि बनाइएको 'गोर्खाज ब्लुज' मा निर्माताको रूपमा देखापरे । पछिल्लो समय उनै रुद्रबहादुर गुरुङ हिमाली भेकमा प्रचलितमा सिमालाको सन्दर्भ बोकेको फिल्ममा आफैं निर्माता र निर्देशक बनेका छन् ।
'सिमालाको सन्दर्भमा प्रेमकथालाई बुनेको छु,' शनिबार भेटिएका उनले भने, 'फरक सांस्कृतिक र भौगोलिक परिवेशका कारण फिल्म भिन्न स्वादको बनेको छ ।' आउँदो माग १२ गतेदेखि मुलुकभरका ७० वटा स्टेसनबाट एकसाथ प्रदर्शनीमा आउन लागेको फिल्म 'सिमाला'मा खासगरी सिमालाको अवैध तस्कर र यससँग जोडिएकी एउटी युवतीको प्रेमकथा समेटिएको छ । हिमाली युवतीहरूले घाँटी लाउने एक प्रकारको गहनालाई सिमाला भनिन्छ, जुन अमूल्य पत्थरबाट बन्छ । अहिले खासै नपाइने र लोपोन्मुख रहेको यो मालालाई ४० लाखसम्म मोलमोलाइ हुन्छ र अनेक एजेन्टहरू मार्फत यसको अवैध व्यापार हुन्छ । फिल्म भने सिमालाको सांस्कृतिकतामा भन्दा पनि योसँग जोडिएकी एक युवतीको प्रेमकथामा आधारित रहेको गुरुङले दाबी गरे ।
'विशुद्ध प्रेमकथा हो यो,' उनले दाबी गरे, 'चल्तीका नेपाली फिल्ममा देखिने प्रेमभन्दा भिन्न ।' फिल्मको कथा र पटकथा भने रामबाबु गुरुङले लेखेका हुन्, उनले यसअघि 'अनागरिक' र 'ब्लक लिभ' फिल्मको निर्देशन गरिसकेका छन् । ३३ दिन मुस्ताङमै बसेर सुटिङ गरिएको फिल्ममा मुस्ताङको सुन्दर प्राकृतिकसँगै सामाजिक-सांस्कृतिक परिवेश देख्न पाइने छ । 'अहिलेसम्म नेपाली फिल्मकर्मीहरू राम्रो दृश्य कैद गर्न मात्रै मुस्ताङ पुगेका हुन्छन्,' रुद्रले भने, 'यसमा कथा र पात्रहरू पनि मुस्ताङकै भएकाले पनि विल्कुलै भिन्न स्वादको हुनेछ भन्ने मेरो दाबी छ ।'
फिल्म निर्देशनमै अन्तर्राष्ट्रिय छवि बनाइसकेका क्यानाडाका डेभिड काउ 'सिमाला' को डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) का रुपमा छन् । डेभिडकै डिजाइनमा मुस्ताङको सुन्दरता कैद गरिएको फिल्ममा राजेशपायल राई भने नकारात्मक चरित्रमा देखिनेछन् । सिमालाको अवैध व्यापारका क्रममा मुस्ताङ पुगेका उनी लगायत अरू पात्रहरूको स्थानीयसँग हुने सम्बन्ध मार्फत् फिल्म अघि बढ्ने रुद्रले बताए ।
राजेन्द्र खड्का र निमेश श्रेष्ठको सम्पादन, श्रवण मुकारुङ र भूपाल राईको गीत, प्रकाश गुरुङ, कन्काइस्ट राई र विभूषण बस्नेत र श्यामुअल योञ्जनको ध्वनि रहेको फिल्मको कार्यकारी निर्माता निर्मलकुमार होडा र सागरकृष्ण अधिकारी रहेका छन् भने सह-निर्माता विष्णु भुसाल । मजोज आरसी, दीप्ति गुरुङ, निर्भीक राई, रोशनी कार्की लगायतको अभिनय रहेको फिल्म छायांकनको एक वर्षपछि प्रदर्शनमा आउन लागेको हो । 'राम्रो फिल्म बनाऊँ भन्ने उद्देश्यले पोस्ट-प्रोडक्सनमा पूरै एक वर्ष लगायौं,' रुद्रले भने, 'सोचे अनुसारको काम पनि भएको छ ।'
नयाँ कलाकारहरू लिएर काम गरेका उनले मौलिक विषयवस्तु खोजीका क्रममा सिमालाको कथा छानिएको बताए । 'अहिले हामी फिल्ममा फरकपन र स्वादको खोजी गरिरहेका छौं,' उनले भने, 'चलिरहेको र सुनिरहेको भन्दा केही नयाँ विषयवस्तुलाई समातेर फरक टेस्ट दिन खोजेका हौं ।'

प्रकाशित : पुस १५, २०६९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?