क्रिस्टिनलाई अझै गाह्रो

लस एन्जल्स (एजेन्सी) — हलिउडका लोभलाग्दा जोडीमा पर्ने 'ट्वालाइट' जोडी क्रिस्टिन स्टुवार्ट र रोबर्ट प्याटिन्सन पछिल्ला दिन त्यही गरिमा राखिराख्न असफल छन् । क्रिस्टिनले महिना दिन अघि फिल्म निर्देशक रुपर्ट स्यान्डर्ससँग किसिङ रोमान्स गरिएका तस्बिर सार्वजनिक भएपछि उक्त जोडीको प्रेम सम्बन्धमा ठूलो उतारचढाव आयो ।

रोबर्टले आफूले धोका खाएको भन्दै प्रेमिकाबाट टाढिए भने क्रिस्टिन पनि आवेशको गल्ती भन्दै क्षमायाचना गर्दै रोइकराइ गरिन् । उनको बिन्तीले आखिरमा रोबर्टको मनलाई गलाइछाड्यो । तर उक्त घटनामा रोबर्टले माफी दिएकामा उनकी दिदी लिजीको भने समर्थन छैन । त्यसैले पनि क्रिस्टिनलाई यतिबेला प्रेमीको मन जिते पनि उनको परिवारसँग पुनः सम्बन्ध विस्तार गर्न गाह्रो परिरहेको छ । लिजीले त्यति निकृष्ट ढंगले धोका दिने प्रेमिकालाई यत्तिकै स्वीकार गर्न नसकिने बताएकी छन् । क्रिसमसको पूर्वसन्ध्यामा गरिएको एक पार्टीमा लिजीले रोबर्टप्रति केही गुनासो समेत गरेकी थिइन् । मादक पदार्थको नसामा उनले रोबर्टलाई क्रिस्टिनप्रति आफ्नो सधैं घृणा रहिरहने स्पष्ट पारेकी थिइन् । त्यसो त क्रिस्टिनले पनि डरका कारण नै पारिवारिक पार्टीमा आफूलाई सामेल गर्न रुचाइरहेकी छैनन् । त्यसैले पनि उनी प्रेमी रोबर्टसँग छुट्टै फेस्टिभल मुडमा रमाउने भएकी छन् । 'ट्वालाइट' शृखंलाले बिट मार्नु अनि सम्बन्धमा खटपट आएपछि रोब-क्रिस्टिनको जोडी पुनः अर्को फिल्ममा देखिने/नदेखिने शंकालाई भने पुनर्मिलनले केही माथ गर्‍यो । तर यतिबेला साँच्चिकै यो जोडी अर्को नयाँ फिल्ममा देखिने चर्चा चुलिएको छ । उक्त जोडीलाई 'द स्यान्डपाइपर' मा खेलाइन सक्ने समाचार आएको छ । एलिजाबेथ टेलर र रिचार्ड बर्टन अभिनीत 'स्यान्डपाइपर' लाई रिमेक गर्न लागिएपछि नयाँ जोडीलाई खेलाइन सक्ने सम्भावना बढेको हो । यसबारेमा रोबर्ट र क्रिस्टिन दुवैले केही बताएका छैनन् । त्यसो त उक्त फिल्म पनि धोखापूर्ण प्रेममै केन्दि्रत छ । जसमा एक शिक्षकको एकल महिलासँगको अफेयरमा आधारित छ ।

प्रकाशित : पुस १५, २०६९ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?