३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बिम्बहरूका साथ सरुभक्त

मधु शाही

काठमाडौ — 'कविता रसिलो बनाउन बिम्बको ठूलो भूमिका हुन्छ, जसमा सरुभक्त खप्पिस छन्,' थरथराउँथो स्वरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले चालीस वर्ष कान्छा स्रष्टा औंल्याइरहँदा कविता सुनाउन तम्तयार सरुभक्त मुसुक्क हाँसे ।

पावरवाला चस्मा, लामो कपाल, खैरो कोट पाइन्टमा ठाँटिएका सरुभक्त राजधानीमा आइतबार राष्ट्रकविले आशीर्वादस्वरूप फूलमाला लाइदिएपछि 'बिम्बहरूका साथ सरुभक्त' नामक एकल कविता वाचनमा उत्रिए ।
भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा उनी आफ्नो १४ औं एकल कविता वाचन गरिरहेका थिए । केही महिनाअघि मात्रै कतारका साहित्यप्रेमीलाई कविता सुनाएर फर्किएका सरुभक्तको काठमाडौंमा चाहिँ यो पहिलो कविता वाचन थियो । 'मुक्तकको उर्भर भूमि मानिने पोखरामा जन्मिएकाले मुक्तबाटै सुरु गर्छु है' भन्दै चस्मा मिलाएपछि उनले 'समयको कविता' शीर्षकको मुक्तक सुनाए- जिन्दगीका बाटाहरू धेरै छन् कुबाटो कुनै नभेटियोस् मनको निर्मल पानामा जथाभावी केही नलेखियोस् हे वाग्देवी मलाई वर होइन आफैंप्रति भर देऊ, कि म, समयको यस्तो कविता लेखूँ, जुन कहिल्यै पनि नमेटियोस्' करिब दुईघन्टे अवधिमा उनले चार दशक पुराना कवितामध्ये दुई दर्जनभन्दा बढी रचना वाचन गरे । बिचबिचमा कविताको रचनागर्भ पनि सुनाउँथे उनी । पर्यटकीय स्थल पोखराबारे उनले कुनै समय एक विदेशीलाई 'देश नहुँदाको अवस्था कस्तो हुन्छ होला ?' भनी सोधेका रहेछन् । ती विदेशीले भनेछन्, 'अस्तित्वविहीन ।' विदेशीको उत्तरमा उनी यसरी पग्लिएछन् कि त्यसमाथि कविता नै लेखे । 'देश बालुवाको घर' शीर्षकको तीनै कवितामा उनले हिमाल, पहाड, र माटाको अस्तित्वलाई बालुवा, पानी, बगर जस्ता प्राकृतिक बिम्बसँग तुलना गरेर सुनाए ।
देशभित्रका लागि मात्रै होइन, बाहिर बस्नेका लागि पनि रचना सुनाए । साहित्यकार हरिभक्त कटुवालको प्रतीक बनाइएको कविताको शीर्षक थियो, 'अरू कोही नभए ऊ हरिभक्त कटुवाल हो ।' जन्मले भारत भए पनि नेपालीपन र नेपाली मनका लागि साहित्यमा संघर्ष गरेका उनको सन्दर्भसँगै मिल्ने गरी मानिसले दुःख र पीडा मेटाउन रक्सीको सहारा कसरी लिन्छन् भन्ने मर्मलाई कविताले खोतलेको थियो ।
उनका कविताका बिम्ब जति थपिँदै जान्थे उति नै कार्यक्रम हल दर्शकले भरिँदै जान्थे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर, साहित्यकार तुलसी दिवस, कृष्ण धरावासी, मोमिला जोशीदेखि राजनीतिज्ञ र समाजसेवीसम्मले खचाखच हलमा सिट नपुगी भुईंभरि समेत पलेंटी मारेर बसेका थिए साहित्यपारखी । 'पञ्चायतकालमा कविता लेख्न र सुनाउन वञ्चित थियो,' सरुभक्तले पुराना दिन सम्झे, 'अब म त्यही वञ्चित कालको वञ्चित कविता सुनाउँदै छु ।' 'हरहर महादेव' शीर्षकको कविता सुनेपछि दर्शक- दीर्घामा बसेका राष्ट्रकविले 'राम्रो भन्दै' सुनिने गरी प्रशंसा गरे । कवितामा बिम्बात्मक रूपमा तत्कालीन अवस्थाको वर्णन गरिएको थियो ।
प्रशंसा बुटुलिरहँदा सरुभक्तले धेरै प्रशंसा हानिकारक हुने विचार राखे । उनको भनाइको तात्पर्य चाहिँ प्रशंसाले मानिसभित्रको राम्रो पक्ष पनि बिर्गाछ भन्ने थियो । यसलाई उनले 'बम खसेको पहाडबाट नयाँ वर्षको शुभकामना' कविताबाट प्रस्ट्याए । विचार, भावना र संवेदनाका बिम्बात्मक कविता वाचन गरिरहेका उनी कार्यक्रमको उत्तरार्द्धतिर अलिक रोमाञ्चक पनि बने । 'पे्रम र बम विस्पोटन', 'सुरक्षित घर', 'आइनस्टाइन र प्रेम', 'मारिया म तिमीलाई प्रेम गर्न सक्दिनँ' लगायतका छोटा कवितामा उनी भित्रका रोमाञ्चकता गहकिला विचारसहित पोखिएको थियो ।
छोटा कविता सुनाउनुअघि जीवजन्तु र पशुपन्छीलाई बिम्ब बनाएका कविता पनि मनछुने थिए । संरक्षण कविता आन्दोलन क्रममा रचिएका भेंडा च्यांग्राहरू सन्दर्भ बोकेको कवितादेखि साइकलमा उल्टो झुन्डिएर वधशालातिर यात्रारत कुखुराको सन्दर्भ बोकेको कविताले मानवीयताको गहिरो विश्लेषण पस्केका थिए ।
साहित्यकार सरुभक्त सरोकार केन्द्र पोखराले गरेको कार्यक्रममा रंगकर्मी अनुप बराल र कवि सरस्वती प्रतीक्षाले पनि सरुभक्तका कविता वाचन गरे । अनुपले रंगमञ्चीय शैलीले आफ्नो मौलिकतासहित कविता प्रस्तुत गर्दा दर्शकले आनन्द महसुस गरेका थिए । तीसको दशकको सुरुवाती वर्षदेखि नै साहित्यमा कलम चलाएका सरुभक्तले 'पागल बस्ती' उपन्यासका लागि मदन पुरस्कार समेत पाइसकेका छन् । मुक्तक, कविता, खण्डकाव्य, गीत, गजल, नाटक, दन्त्यकथा लगायत विधामा चार दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेका सरुभक्त नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत बनिसकेका छन् ।






प्रकाशित : पुस १६, २०६९ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?