२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अग्निको कथा मैसुरमा

सुशील पौडेल

मैसुर — 'आज बल्ल बाँचेको फिल भइरहेको छ ।' आरोहण गुरुकुलका निर्देशक सुनील पोखरेल भनिरहेका

 अग्निको कथा मैसुरमा
थिए र त्यसको कारण थियो— लामो अन्तरालपछि गुरुकुलले नाटक मञ्चन गर्नु । अभि सुवेदी लिखित 'अग्निको कथा' लाई कर्नाटकको मैसुर सहरमा मञ्चन गर्नुअघि स्टेज तयार पार्दै गर्दा सुनीलको खुसी लुक्न सकेको थिएन ।
'नाटक गर्दै बाँच्नुपर्ने मान्छे म, विगत एकाध वर्ष डिप्रेसनमा बिताएँ,' उनी भन्दै थिए, 'सार्वजनिक कार्यक्रममा पनि निस्कन मन लागेन ।' पुरानो बानेश्वरस्थित साविकको थिएटर छोड्नुपर्ने र नियमित मञ्चनमा आउन समस्या परेपछि उनलाई यस्तो लागेको थियो ।
तर यति बेला मैसुरमा मञ्चन गरिएको नाटकसँग भने गुरुकुलको बेग्लै नाता पनि गाँसिएको छ । सोही नाटकबाटै स्थापना भएको गुरुकुलले आफ्नो साविक स्थान छोड्नुपर्दाको पीडादायी अवस्थामा पनि 'अग्निको कथा' नै देखाइएको थियो । यति बेला मैसुरमा अयोजित साताव्यापी 'बहुरूपी नाटकोत्सव' मा सहभागिता जनाएपछि गुरुकुलले यसै नाटकलाई लाजिम्पाटस्थित थिएटर भिलेजमा पनि लगत्तै नियमित मञ्चन गर्ने सुनीलले जानकारी दिए ।
महोत्सवमा आइतबार देखाइएपछि 'अग्निको कथा' ले मञ्चनको १५८ औं आँकडा पनि छोएको छ । 'मैले हरेक सो गर्नुपूर्व यसरी नै लाइट सेट गरेको छु, तर यो नाटक गर्दा कहिल्यै दिक्क लाग्दैन,' सुनील उत्साहित भइरहेका थिए । चिसो काठमाडौंलाई छोडेर सदावहार न्यानो हावापानी हुने मैसुरमा आएको गुरुकुलको टोली महोत्सवमा एक मात्र विदेशी टोली हो ।
बौद्ध गुम्बाको पुस्तकालयमा आगलागी भएपछि बिरक्तिएको एक भिक्षुले ज्ञानको खोजीका लागि यात्रा थाल्नुसँग नाटकको कथा बढ्छ । ऊ पुस्तकालय जल्नुलाई मायाले राखेका अक्षरको सम्झना जलेको मान्छ । भन्छ, 'पुस्तकालय भनेको हामी सबैलाई उत्तर दिन सक्ने ठाउँ हो । ज्ञानको भण्डार हो ।'
प्रवीण खतिवडाले भीक्षुको भूमिका निर्वाह गरेको नाटकमा निशा शर्मा, सुरेश चन्द, अरुणा कार्की, सरिता गिरी, राजकुमार पुडासैनी, सरस्वती चौधरी, पशुपति राई, रुरु पोखरेल, प्रदीप चौधरी, विपीन कार्की, विक्रम सिंह, सजन थापा, देवी खत्री र अनिल पोखरेलको पनि अभिनय छ ।
नाटक हेर्न स्थानीय बासिन्दादेखि मैसुर असपासमा रहेका नेपालीसम्म पनि आएका थिए । ११ वर्षदेखि नाटकोत्सव गर्दै अएको रंगयाना नाट्य समूहले यसपालि आफ्नो स्थापनाको २५ औं वाषिर्कोत्सवमा पहिलोपटक नेपाललाई समावेश गरेको हो ।

प्रकाशित : माघ ८, २०७० ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?