२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सहर इभेन्टको

शिव शर्मा

कास्की — कुनै समय पोखरामा फाटफुट्ट मात्रै इभेन्टहरू हुने गर्थे। इभेन्टहरूमा सहभागी हुनेदेखि कार्यक्रम हेर्न आउनेहरूको उपस्थिति पातलो हुने सहरमा अहिले अनगिन्ती हुन थालेका छन्।

सहर इभेन्टको

‘अहिले एकै महिनामा दुईदेखि तीनवटासम्म ब्युटी कन्टेस्ट पनि हुन थाले,’ ९ वर्षदेखि पोखरामा यस्ता कार्यक्रम गर्दै आएका रिबर्थ इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक सुरज थापा मगरले भने, ‘केही वर्षयता कार्यक्रमहरूको हूलले पोखरा इभेन्ट सिटीको रूपमा विकास भइरहेको छ।’

उनका अनुसार सौन्दर्य प्रतियोगिता, फेसन सो, गायन प्रतिस्पर्धादेखि कन्र्सट लगायतका सांगीतिक कार्यक्रमहरू यहाँ धमाधम हुन थालेका छन्। उनले वर्षेनी पोखरामा मिस मगर, मिस एसएलसी पोखरा र फेसन डिजाइनर कन्टेस्ट लगायतका विभिन्न नाममा इभेन्टहरू गर्दै आएका छन्। अहिले मिस गण्डकी सिजन(२ को प्रशिक्षणमा व्यस्त उनी कोरियोग्राफर र उद्घोषक पनि हुन्। त्यस्तै बाल सौन्दर्यको एघारौं संस्करणको रूपमा रहेको सानोबाबु सानो परीको तयारीमा समेत आफू जुटिसकेको उनले बताए।

पछिल्ला चार–पाँच वर्षयता यहाँ सौन्दर्य प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने क्रममा तीव्रता आएको आयोजकहरू बताउँछन्। यस्ता इभेन्टहरूमा सहभागी हुने तन्नेरीको आकर्षण र दर्शकको उपस्थिति पनि बाक्लो हुन गरेको भर्खरै मिस डिभा पोखरा सौन्दर्य प्रतियोगिता सम्पन्न गरेकी सौन्दर्य कला व्यवसायी संघ कास्कीकी अध्यक्ष सोनम गुरुङले बताइन्। यसअघि उनले साझेदारीमा मिस तियारा प्रतियोगितासम्म गरेकी थिइन्। पेसाले ब्युटिसियनसमेत रहेकी उनी केही वर्षयता सौन्दर्य प्रतियोगिता गर्नेतर्फ पनि अग्रसरता देखाएकी हुन्। ‘पोखरामा यस्ता प्रतियोगिताको आकर्षण बढी देखेँ,’ उनले भनिन्, ‘ब्युटिसियन पेसासँग पनि यसको सम्बन्ध हुने भएकाले पनि यस्तो इभेन्ट गर्ने उत्साह जागेको हो। इभेन्टको लहरसँगै विभिन्न संघसंस्था दर्ता गरेर धमाधम यस्ता प्रतियोगितातर्फ विशेषत: युवापुस्ताको रुचि बढ्दो छ। अहिले यहाँ हप्ता महिना बिराएर आधा दर्जनभन्दा बढी सौन्दर्य, फेसन र कलासम्बन्धी कार्यक्रमहरू हुन थालेका छन्।

अन्य प्रतियोगिताको तुलनामा यहाँ सौन्दर्यसँग सम्बन्धित प्रतियोगिताहरू हुने क्रम अधिक छ। सन् १९९५ देखि सुरु भएको मिस पोखरासँग पोखरामा सौन्दर्य प्रतियोगिता हुन थालेको हो। सुरुमा प्रतियोगिता आयोजना गर्दा आयोजकलाई प्रतियोगी जुटाउन हम्मे पर्ने गरेको थियो।  प्रतियोगितामा सामेल हुन चाहनेहरू आयोजक खोज्छन्। मिस पोखराकै सिको गर्दै यहाँ मिस एसएलसी, मिस्टर एन्ड मिस इन्टरन कलेज, मिस्टर हेन्डसम, मिस टिन र मिसेस पोखरादेखि विभिन्न समुदायका आधारित सुन्दरी प्रतियोगिता पनि त्यतिकै मात्रमा आयोजना हुँदै आएको छ। फाटफुट्ट वर्ष दिनमा हुने यस्तो इभेन्टहरू अहिले महिना दिनमै बग्रेल्ती हुन्छन्। वर्षमा एकाध हुने यस्ता प्रतियोगिताहरू अहिले वर्षमा दुई दर्जनभन्दा बढी हुने गरेको आयोजक बताउँछन्।

‘इभेन्टहरू नियमित हुनु राम्रो हो, तर संख्यात्मकसँगै गुणात्मकता खस्केको छ’, परिचय नेपालका प्रबन्धक सोभित बस्यालले भने, ‘इभेन्टका नाममा कमाउने धन्दा पनि त्यतिकै फस्टाएको छ।’ उनले अहिले पोखरामा महिनैपिच्छे औंलामा गन्न नसकिने विभिन्न नाममा इभेन्टहरू हुँदै आएको बताए। फेसनप्रति बढ्दै गएको सकारात्मक सोच र युवाहरूको बढो रुचिले पनि इभेन्ट आयोजकहरू पनि यस्ता प्रतियोगिता गर्न उत्साही हुन थालेका हुन। तारे होटल, सिटी हलदेखि खुलाचौरमा यस्ता इभेन्टहरू हुने गरेका छन्। इभेन्टहरू गर्न उति सहजै पनि छैन। धेरै इभेन्टहरू एक साथ भइदिँदा आयोजकलाई विज्ञापन जुटाउन पनि हम्मे पर्छ। तैपनि इभेन्ट हुने क्रममा कमी भने देखिँदैन। सन् २००४ मा मिस्टर टिन पोखरा बनेका विशाल गुरुङ अहिले त्यही अनुभवका आधारमा पोखरामा नियमित इभेन्ट गर्दै आएका छन्। केही वर्षयता उनले मिस पोखरा जुनियर, मिस एसएलसी, फेसन डिजाइनर कन्टेस्टहरू गर्दै आएको बताए। पोखरा जेसिजले गर्दै आएको मिस पोखरा गर्ने जिम्मेवारी पनि उनको संस्था इभेन्ट फर युथले पाएको छ। ‘बेरोजगारी बढ्दो र समयको सदुपयोगका लागि पनि इभेन्ट गर्नेको संख्या बढेको हो’, उनले भने ।

 

 

प्रकाशित : आश्विन १५, २०७२ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?