अंकितले ल्याए भजनजस्तो पप (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौं — झट्ट सुन्दा कसैलाई भजनजस्तो लाग्ने त कसैलाई पपझैं । हालै सावर्जनिक भएको अंकित बाबु अधिकारीको म्युजिक भिडियो सुरु हुन्छ एक थिएटर घरमा जहाँ हनुमान, महादेव, सीता मेकअप गरिरहेका हुन्छन् ।

निर्देशकको प्रवेश हुन्छ र खोजिन्छ रामलाई । हुन त नाटकका लागि राम एउटा अल्छी, गैरजिम्मेवार पात्र हुन्छ । तर जब हनुमान उसलाई खोज्न भन्दै बाहिरिन्छ उही ‘राम’ एउटा विम्बमा बदलिन्छ जसलाई हनुमानले सबैतिर, सबैमा देख्न थाल्छ । हनुमान थिएटरबाट निस्किंदा सीर्फ एउटा रचिएको पात्र मात्र हुन्छ तर जब ऊ भित्रैदेखि सडकमा रामलाई खोजिरहेको देखिन्छ, तब लाग्छ ऊ कतै रामयणकै कलियुगमा आएको हनुमान नै त होइन ।

Yamaha


“एकातर्फ हाम्रो समाज धार्मिक आस्थाले निर्देशित छ भने अर्कोतर्फ मानिसबिचमै भेदभाव, असहिंसुणता व्याप्त छ,” गायक अधिकारी भन्छन्, “त्यसैले यसलाई भजन र पपकै संमिश्रण भन्दा पनि हुन्छ ।” नेपाली तारा सिजन थ्रीमा टप टेनमा पुगिसकेका अधिकारीको यो पहिलो म्युजिक भिडियो हो । शब्द र संगीत उनी स्वयंको हो । म्युजिक भिडियोलाई निर्देशन आलोक लम्सालले गरेका हुन् ।

यस गीतको पहिलो कम्पोजिसन ३ बर्ष अगाडि नै तयार भएको थियो । तर भिन्न बनाउने भन्दाभन्दै अधिकारीले त्यसलाई परिमार्जित गरेर नयाँलाई मात्र भिडियोमा लगे । भन्छन्, “केही साथीहरुका मोवाइलमा बाहेक पहिलो सावर्जनिक नै गरिएन ।” निर्देशक लम्सालले भने यसलाई ‘एक्सपेरिमेन्टल’ गीत भन्न रुचाउँछन् । “मोडर्न ट्युनमा भजनजस्तो लाग्ने यो गीत  गर्भदेखि नै एक्सपेरिमेन्ट गरिएको छ, जसलाई भिडियोमा उतार्न हामीले थप एक्सपेरिमेन्ट गर्‍यौं ।”

 

प्रकाशित : आश्विन २९, २०७२ ०९:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेलम्ची प्रशोधन केन्द्रको काम पनि इन्धनको अभावमा रोकियो

रासस

काठमाडौं — इन्धनको अभावले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा निर्माण भइरहेको अत्याधुनिक पानी प्रशोधन केन्द्रको कामसमेत बिहीबारबाट रोकिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलमा ल्याएपछि प्रशोधन गरी वितरण गर्नका लागि निर्माण भइरहेको केन्द्रको काम डिजेलको अभावले नै रोक्नुपरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

'आयोजनाको कामका लागि मासिक दुई लाख लिटर डिजेलको आवश्यकता पर्दछ, डिजेलकै अभावका कारण सुरुङको काम असोज १४ गतेबाट रोकिएको थियो, बिहीबारबाट प्रशोधन केन्द्र निर्माणको काम पनि रोकियो, अब इन्धन सहज नभएसम्म काम हुन सक्दैन,' समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले भने ।

मेलम्ची खोलाबाट दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधनका लागि गोकर्णेश्वर नगरपालिका–३ को महाँकालमा अधिग्रहण गरिएको १०२ रोपनी जग्गामा पहिलो चरणमा साढे आठ करोड लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको समितिका वरिष्ठ इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

विसं २०७२ चैत मसान्तमा सक्ने सम्झौतासहित ओब्याग र प्रतिभा इन्डस्ट्रिज जेभीले केन्द्र निर्माणको काम गरिरहेका छन् ।

प्रकाशित : आश्विन २९, २०७२ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT