६ वर्षपछि नेपाली फिल्ममा फर्किदै विराज भट्ट

काठमाडौं — नेपाली फिल्म छोडेर भोजपुरीतर्फ लागेका अभिनेता विराज भट्ट झन्डै ६ वर्षपछि पुनरागमन गरेका छन् । आइतबार उनी मुख्य भूमिकामा रहने ‘परशुराम’ को घोषणा गरिएको छ ।

६ वर्षपछि नेपाली फिल्ममा फर्किदै विराज भट्ट

‘बीचमा नेपाली फिल्म खेल्ने प्रयास पनि गरेको हुँ, तर सफल भएन,’ विराजले भने, ‘भोजपुरी फिल्म खेल्न थालेपछि धेरैले महँगो पैसा लिन्छ, यताको अब खेल्दैन भन्ने पनि सोचेछन् । तर म आफ्नो फिल्म उद्योग छोडेर पैसा कमाउन गएको थिइनँ । केवल एउटा फिल्म उद्योगबाट अर्कोमा गएको मात्रै हुँ ।’

भोजपुरी फिल्ममा एक्सन हिरोका रूपमा सफलता चाखिरहेका विराजले यति बेला ‘परशुराम’ पहिलो फिल्म खेल्न लागेको जस्तो अनुभव भएको सुनाए । सोमबारदेखि नै छायांकनमा जाने बताइएको फिल्ममा विराजको अपोजिटमा नायिका निशा अधिकारी हुनेछिन् । निशा र विराजले यसअघि ‘नैनारेशम’ मा सँगै अभिनय गरेका थिए ।

‘नैनारेशम’ गर्दा म अभिनयका हिसाबले कच्चै थिएँ, अब परशुरामलाई टक्कर दिने गरी काम गर्ने अठोट गरेकी छु,’ निशाले विराजलाई इंगित गर्दै भनिन्, ‘फिल्ममा म नृत्यकलामा निपूर्ण राधाको चरित्रमा छु, जसलाई जीवन्त बनाउने प्रयास गर्नेछु ।’

यसै फिल्मबाट निर्माता रोज राणा निर्देशनमा होमिएका छन् । यसअघि ६ वटा फिल्म निर्माणको अनुभव सँगालेका रोजले भने, ‘यसअघि निर्माताको रूपमा मेरो सधैं मुनाफा कमाउने फिल्म बनाउनेतिर ध्यान केन्द्रित रह्यो । तर अब निर्देशकका रूपमा मुनाफा कमाउनेभन्दा पनि राम्रो फिल्म बनाउने ध्येय रहनेछ ।’

यसअघि आफ्ना चार फिल्ममा खेलाइसकेका विराजलाई नै उनले पुनरागमन गराएका हुन् । कार्यक्रममा मुख्य अतिथि रहेकी कांग्रेस नेतृ आरजु राणाले विराजलाई परशु (बन्चरो) दिएर सफलताको कामना गरेकी थिइन् ।

सोफिया सिने आट्र्सको ब्यानरमा बन्न लागेको ‘परशुराम’ मा विराज र निशाबाहेक रविन तामाङ, देशभक्त खनाल, ध्रुव कोइराला, सुन्दर श्रेष्ठको समेत अभिनय देख्न पाइनेछ । मौनता श्रेष्ठको पटकथा रहेको फिल्मको संगीत महेश खडकाले दिनेछन् । छायांकन रामेश्वर कार्कीको रहनेछ ।

प्रकाशित : चैत्र १, २०७२ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?