१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

किम्फ मंसिर २३ देखि

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को चौधौं संस्करण मंसिर २३ देखि २७ सम्म कमलपोखरीको क्यूएपफएक्स कुमारी हलमा हुने भएको छ ।

किम्फ मंसिर २३ देखि

दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ को नेपाली प्रिमियरबाट महोत्सव उद्घाटन गरिने महोत्सव निर्देशक रम्यता लिम्बूले बताइन् । भेनिस र टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राम्रो तारिफ पाएको उक्त फिल्म मंसिर २४ बाट भने नेपालभर प्रदर्शन हुँदै छ । पपकर्न पिक्चरसँगको सहकार्यमा किम्फले यो प्रतीक्षित फिल्म देखाउन लागेको हो । ‘यसअघि दीपकका दुई फिल्म किम्फमा देखाइएका थिए,’ मंगलबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनका क्रममा लिम्बूले भनिन्, ‘यसपालि उनकै कामबाट महोत्सव थाल्दा उनी घर फर्किएजस्तै लागेको छ ।’

कार्यक्रममा उपस्थित फिल्मका कलाकार रवीन्द्रसिंह बानियाँले छायांकनका क्रममा ४७ दिन घान्द्रुकमा बिताउँदाको अनुभव सुनाएका थिए । फिल्ममा दयाहाङ राईको भाइ सुरजका रूपमा काम गरेका उनले द्वन्द्वकै पृष्ठभूमिमा बनेको ‘टकलजंग भर्सेस टुल्के’ को भन्दा यसमा निकै पृथक भूमिकामा रहेको खुलाए । 

‘सेतो सूर्य’ का निर्माता छिरिङ रितार शेर्पाले भेनिसमा प्रदर्शनपछि पाएको प्रतिक्रिया सेयर गरे । ‘दसवर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा बनेको फिल्मलाई विदेशी दर्शकले रुचाएका थिए,’ शेर्पाले भने, ‘सबैले उठेर ताली बजाउँदा भावविभोर भयौं । हाम्रो ताजा इतिहास भएकाले नेपाली दर्शकलाई पनि यो कथा सान्दर्भिक लाग्ला ।’ उनका अनुसार ८८ मिनेट लामो फिल्ममा द्वन्द्वले पारेको मानसिक प्रभावलाई देखाउन खोजिएको छ । 

किम्फमा डकुमेन्ट्री, कथानक, छोटा, प्रयोगात्मक र एनिमेसन विधाका गरी ८० भन्दा बढी फिल्म देखाइने तय भएको छ । २८ देशका फिल्म समावेश गरिएको महोत्सवमा ‘स्ट्रेन्थनिङ नेपाल्स पब्लिक सर्भिसेज’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुनेछ । नेपाली पानोरामा नेपाली प्रतिभाहरूले बनाएका १६  वटा फिल्म देखाइनेछन् । तीमध्ये चारवटा किम्फ डक ल्याबबाट सामेल हुनेछन् । अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत २० वटा फिल्मको प्रतिस्पर्धा गराइनेछ भने अन्यमा ४८ वटा फिल्म छन् ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीनवटाले क्रमश: पन्ध्र सय, एक हजार र पाँच सय अमेरिकी डलर पाउनेछन् भने नेपाली पानोरामाका उत्कृष्ट ठहरिएका दुईलाई ५० हजार रुपैयाँ दिइने निर्देशक लिम्बूले बताइन् । इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले एक हजार अमेरिकी डलर पाउनेछ भने महोत्सवमा अत्यधिक भोट पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ जित्नेछ । 

प्रकाशित : कार्तिक ९, २०७३ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?