सिन्जा, कमलरी र बारपाक कथा

कान्तिपुर संवाददाता

काठमाडौं — महिना दिनअघि मात्रै राजधानीमा सम्पन्न एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको ‘दद्या : द वुडपिकर्स अफ रोथा’ यहाँका दर्शकका लागि प्रतीक्षित थियो ।

त्यसमा झनै संसारकै पुरानो र प्रतिष्ठित मानिने भेनिस फिल्म फेस्टिभलमा छनोट भएपछि पूजा गुरुङ र विभूषण बस्नेत निर्मित ‘दद्या’ ले राम्रै हाइप पाएको थियो । राजधानीमा बिहीबारदेखि जारी काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा पनि ‘दद्या’ प्रदर्शनीमा थियो । शनिबारको सो हेर्न दर्शकहरू कुमारी हलमा खचाखच उपस्थित हुनुले यसबारेको चासोलाई प्रस्ट्याउँथ्यो । 

जुम्लाको सिन्जामा रहेका एक वृद्ध दम्पतीले गाउँले अन्यत्र पलायन भएपछि तिनको झल्को मेटाउन र एक्लोपना हटाउन गाउँभरि नै दद्या (माटाको मानव आकृति) बनाउँदाको कथाव्यथालाई कलात्मक ढंगले फिल्ममा देखाइएको छ । त्यसो त यसका निर्देशकले फिल्ममार्फत के देखाउन खोजेको भन्ने चाहिँ बताउन इच्छाएनन् । ‘हामी भन्दैनौं भन्दा अलि नराम्रो सुनिन्छ होला । तर पनि धेरैपटक यसबारे सोधियो, हामीले बताउन चाहेका छैनौं । दर्शक आफैंले बुझेर व्याख्या गरिदिए हाम्रो लागि त्यही खुसी हुनेछ,’ विभूषणले भने । त्यसो त अर्का एक दर्शकले त्यस्तै प्रकृतिको अर्को डकुमेन्ट्रीसँग मिल्दो देखिएको दाबी गर्दै नक्कल भएको हो भन्नेबारे जिज्ञासा राखेका थिए । पूजाले नक्कल भन्ने शब्दमा आश्चर्य व्यक्त गरिन् । ‘हो, हामी प्रभावित भएका छौं भने जुम्लाकै उक्त गाउँमा अझै पनि बनाइने दद्याबाट प्रभावित भएका हौं,’ पूजाले यसो भनिरहँदा विभूषणले पनि ‘दद्या’ का मुख्य कलाकारले नै फिल्म आफ्नो जीवन भोगाइ भएको अनुभव गरेको सुनाएका थिए ।

Yamaha

१७ मिनेट लामो फिल्म सकिएपछिको अन्तरक्रिया कार्यक्रममा दर्शकले फिल्मको अर्थ बताइदिन भनेपछि पूजाले यो खुला किताबजस्तो भएकाले आ–आफ्नै तरिकाले बुझिदिन अनुरोध गरिन् । ‘सुनकली’ निर्देशक भोजराज भाटले जुम्ली दम्पतीलाई फिल्मबारे बोल्न लगाउँदा उनीहरूले फिल्ममा भनिएझैं गाउँका सबै मान्छे परदेसिएको बताए । 

‘दद्या’ पछि देखाइएको ‘फुलसिरी’ मा चाहिँ गत साल गएको शक्तिशाली भूकम्पपछि यसको इपिसेन्टर गोरखाको बारपाकमा कसरी पीडा भुल्दै सामान्य जीवनमा फर्किए भन्ने कुरा देखाउन खोजिएको छ । फुलसिरी नामकी फुच्ची केटीमार्फत निर्देशक ङिमा गेलु लामाले पढ्ने मोह भएका ग्रामीण बालबालिकाको मनोभाव उतारेका छन् । ‘म भूकम्पपछि नुवाकोट जाँदा त्यहाँ एउटी बालिका भग्नावशेषभित्र केही खोजिरहेकी भेटाएँ,’ लामाले भने, ‘के खोजेको भन्दा त स्कुल जाँदा लगाउने जुत्ता रे । शान्ति घले नामकी ती बालिकाको कुराले यस्तरी छोयो कि फिल्म नै बनाएँ ।’

लामाले गोरखाको घ्याचोककी विमला गुरुङलाई शान्तिको भूमिकामा उतारेका छन् । आफूले अभिनय गरेको फिल्म हेर्न पहिलोपटक काठमाडौं आएकी विमला कार्यक्रमभर फुरुङ्ग देखिन्थिन् । निर्देशक लामाले फिल्ममा मुख्य पात्र महिला राख्दा कथा घतलाग्दो र जीवन्त बनेको बताए । ‘पुरुष नायक भएका फिल्म धेरै बनेका छन्,’ उनले भने, ‘तर, भूकम्प गएपछि महिला र त्यसमाथि स्कुल पढ्ने बालिकाबारे धेरै खिचिएको छैन । शान्तिहरूको संसार पनि देखाउनुपर्छ भन्ने लाग्यो ।’

शनिबार नै कमलरी प्रथा मुक्तिबारे तयार पारिएको अर्को डकुमेन्ट्री ‘उर्मिला : माई मेमोरी माई पावर’ देखाइएको थियो । दाङकी पूर्व कमलरी उर्मिला आफू मात्रै मुक्त नभई कसरी अन्यलाई समेत मुक्ति अभियानमा सामेल गराउन सफल भइन् भन्ने सुशान ग्लुथ निर्मित उक्त डकुमेन्ट्रीले देखाउन खोजेको छ । कुमारीमा भएको उक्त प्रदर्शनीमा स्वयं उर्मिला आफ्ना बाबुआमा र मुक्त कमलरीहरूसँग उपस्थित भएकी थिइन् । ‘आजको लागि मसँग कुनै शब्द छैन,’ डकुमेन्ट्रीपछि दर्शक जिज्ञासामा सुरुवातमा केही भावुक बनेकी उर्मिलाले आफूलाई सम्हाल्दै थपिन्, ‘यहाँ पात्रका रूपमा उर्मिला त देखियो । तर मुक्ति अभियानमा कैयौं व्यक्तित्वको हात छ ।’ उनले सरकारलाई मुक्त कमलरीका लागि कामको व्यवस्था गर्न पनि आग्रह गरिन् । उनले अझै पनि झन्डै एक सयको संख्यामा कमलरीहरू अझै साहुको घरमा श्रमशोषण गराउन बाध्य रहेको तथ्यांक दिँदै थपिन्, ‘हामी अझै पनि उनीहरूलाई मुक्त गराउने अभियानमै छौं । तर हाम्रा साथीहरूलाई नाम फेरेर सहर ल्याएकोले पहिचान गर्न केही समय लागिरहेको छ ।’ 

बिहान १० बजेदेखि नै फिल्महरू देखाउन थालिने किम्फमा विश्वका विभिन्न मुलुकका विषयवस्तु नियाल्न पाइन्छ । तेस्रो दिन जर्मनमा बनेको ‘ह्वाट दे बिलिभ’ नामक एनिमेसन फिल्ममार्फत महोत्सव प्रारम्भ भएको थियो । त्यसलगत्तै ‘मेला’, ‘अ सङ फर बारपाक’, ‘उर्मिला : माई मेमोरी इज माई पावर’, ‘इन सर्च अफ रिदम’, ‘कमिङ अफ एज’, ‘चन्द्र’, ‘ब्लकेड’, ‘भारा : अ ब्लेसिङ’ देखाइए । कुमारीकै हल ‘बी’ मा भने ‘अलाइभ’, ‘१००० हयानडस् अफ द गुरु : सेभिङ भुटान्स स्याक्रेड आर्टस्’, ‘डाइङ फर सम्मिट’, ‘बिग मेन’ जस्ता फिल्म देखाइए । तिनले दर्शकलाई नेपाल हुँदै चीन, भुटान, फ्रान्स, स्पेन, बेलायत, स्विट्जरल्यान्ड र पोल्यान्डसम्म पुर्‍याए । आइतबारको प्रदर्शनीमा केसाङ छेतेनको ‘हस्पिटल’, ज्योति केशरको ‘भुसको लोग्ने’, देवकी विष्टको ‘इन सर्च अफ देभकी’ जस्ता फिल्मको वल्र्ड प्रिमियर हुँदै छ । 

प्रकाशित : मंसिर २६, २०७३ ०८:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रविधिमा नयाँ पुस्ता

कान्तिपुर संवाददाता

काठमाडौं — विज्ञान, सूचना प्रविधि र व्यवस्थापनबीचको सम्बन्ध विस्तारमा जोड दिनको लागि राजधानीमा शनिबार मेला आयोजना गरियो ।

कमलपोखरीस्थित किस्ट कलेजमा आयोजित मेलामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले ‘यस्ता मेलाले नयाँ पुस्तामा ऊर्जा थप्ने’ दाबी गरे । ‘पहिले गाई, भैंसी देखाएर हाट बजारमा कृषिको प्रदर्शनी हुन्थे,’ उनले भने, ‘अहिले कृषिमा कसरी आधुनिकीकरण गर्ने भन्ने कुराहरूका बारेमा प्रदर्शनी हुन्छन् र यो राम्रो कुरा हो ।’ 

प्रदर्शनीमा भएका विशेष प्रोजेक्टहरूको प्याटेन्ट राइट दर्ता र प्रकाशन गर्नुपरेमा सहयोग गर्ने पनि पोखरेलले आश्वासन दिए । मेलाले विद्यार्थीहरूमा वैज्ञानिक ज्ञानको गहिराई बुझेर सम्मानका साथ व्यवस्थापकीय अभ्यासमा लागू गर्ने प्रयास गरेको किस्ट कलेजका कार्यकारी निर्देशक इन्द्रप्रसाद सुवेदीले बताए । ‘विद्यार्थीहरूले कक्षामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गरेका छन्,’ उनले भने । 

मेलामा किस्ट कलेज, क्यानभास इन्टरनेसनल कलेज, ग्रामर पब्लिक उमावि, काठमाण्डु मोडल कलेज, हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज, पेन्टागन इन्टरनेसनल कलेज, नासा इन्टरनेसनल कलेज, नेपाल मेगा कलेज लगायत २७ वटा स्कुल, कलेजहरूका ६० भन्दा बढी स्टलहरू राखिएका थिए । विद्यार्थीहरूले खेर गएका वस्तुहरूको उपयोग गर्ने प्रविधि, सोलार र विद्युत्बाट फोहोरको व्यवस्थापन, विकट क्षेत्रको विकास, रगतको सहजताका लागि ब्लड डाटाबेस, लो भोल्टेजमा मेसिनको प्रयोग जस्ता प्रविधिहरूको प्रदर्शनी गरेका थिए । कार्यक्रममा उपत्यकाका एक दर्जन उच्च माविबीच विज्ञान र प्रविधिको प्रोजेक्टहरूको प्रतियोगिता हुनेसमेत बताए । त्यस्तै उपत्यकाका १५ विद्यालयबीच चित्रकला र क्राफ्ट प्रतियोगिता पनि कार्यक्रमअन्तर्गत गरिने बताइएको छ ।

प्रकाशित : मंसिर २६, २०७३ ०८:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT