२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कमलरी कथा उत्कृष्ट

सकियो १४ औं किम्फ
सजना बराल

काठमाडौं — कमलरी प्रथामाथि बनाइएको ‘उर्मिला : माई मेमोरी इज माई पावर’ लाई प्रथम स्थान दिलाउँदै पाँच दिनदेखि जारी काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल राजधानीमा सोमबार सकिएको छ ।

कमलरी कथा उत्कृष्ट

यो फिल्मले सर्वाधिक १५ सय अमेरिकी डलर जित्यो ।

कार्यक्रममा उपस्थित निर्देशक सुसन ग्लुथले प्राप्त रकमको केही हिस्सा समाज सेवामा लगाउने घोषणा गरिन् । ‘उर्मिलाप्रति गर्व छ मलाई,’ ग्लुथले भनिन्, ‘उनको सत्कर्मको संसारले प्रशंसा गर्नेछ ।’ ग्लुथले बोल्दाबोल्दै बरर्र आँसु खसालेपछि गायिका आनी छोइङ डोल्माले रुमाल दिएकी थिइन् । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत नै निर्देशक केसाङ छेतेनले फिल्म ‘ट्ेरम्बलिङ माउन्टेन’ मार्फत दोस्रो स्थान हासिल गरे । उनको फिल्ममा भूकम्पले विश्वभर पुर्‍याएको असर र त्यसबाट सिर्जित सकारात्मक सोचहरूलाई निकै मिहिन ढंगले पेस गरिएको थियो । ‘प्राकृतिक विपत्मा परेकाहरूप्रति संवेदनशील हुँदै विपत्तिको राम्रो पक्ष देखाउनु सजिलो काम थिएन,’ निर्देशक छेतेनले भने, ‘मेरो कामलाई सराहना गरिदिएकोमा आभारी छु ।’ उनले एक हजार अमेरिकी डलर हात पारेका थिए । 

पाकिस्तानको नागा पर्वतमा छायांकन गरिएको ‘थ्रु द अननोन’ ले तेस्रो हुँदै निर्देशक फेडेरिको सान्टिनीलाई ५ सय अमेरिकी डलर दिलाएको थियो । पुरस्कार ग्रहण गरेपछि सान्टिनीले बडो कठिनतापूर्वक फिल्म छायांकन गरेको अनुवभ सुनाए । ‘जाडो याममा त्यो अप्ठ्यारो पर्वत चढ्नु सजिलो थिएन,’ उनले भने, ‘फिल्म खिच्दा धेरै सट लिनुपरेको थियो । तपार्इंहरूले रुचाइदिनुभएकोमा धन्यवाद ।’ यस विधाको जुरी स्पेसल मेन्सनमा भने ‘कमिङ अफ एज’ र ‘इल पासो’ ले बाजी मारे । 

२०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु भएपछि गोरखाको बारपाक एकाएक चर्चामा आयो । हुन त प्राकृतिक सौन्दर्य र रमणीय बस्तीका कारण उक्त ठाउँ भूकम्पअघि पनि पर्यटनप्रेमीमाझ लोकप्रिय नै थियो । तर, देशभर ठूलो क्षति पुर्‍याएको ७.८ रेक्टर स्केलको भूकम्पपश्चात् बारपाक धेरैका लागि चासोको विषय बन्यो । त्यही भूकम्पको केन्द्रबिन्दु, बारपाकबारे बनेको ‘अ सङ फर बारपाक’ फिल्मले भने यसपालिको इसिमोड वेस्ट माउन्टेन फिल्म अवार्ड जित्यो । भूकम्पअघि र पछिको अवस्था देखाइएको फिल्ममा निर्देशक प्रदीप पोखरेलले पुन: निर्माणले ल्याएको परिवर्तनलाई फिल्ममा उनेका थिए । यसका लागि पोखरेललाई इसिमोडले एक हजार अमेरिकी डलर हस्तान्तरण गर्‍यो । 

दर्शकले भने नेपाली अल्ट्रा धाविका मीरा राईमाथि बनाइएको ‘मीरा’ फिल्मलाई सर्वाधिक भोट दिएर ‘पिपल्स च्वाइस’ को अवार्ड निर्देशक लोयड बेलचरलाई प्रदान गरे । राईको खेलजीवनलाई केन्द्रमा राखेर तयार पारिएको फिल्म हेर्न उल्लेख्य दर्शक कुमारी हल पुगेका थिए । ‘मीराको मिहिनेत र लगनशीलताबाट प्रभावित भएर फिल्म बनाएको थिएँ,’ शुक्रबार फिल्म प्रदर्शनपश्चात् बेलचरले भनेका थिए, ‘उनलाई कसैले नचिन्दा फिल्म खिचेको, अहिले त दुनियाँले चिनिसक्यो ।’ 

कार्यक्रममा नेपाल पानोरमा विधाअन्तर्गत पत्रकार देवकी विष्टको ‘इन सर्च अफ देउकी’ ले उत्कृष्ट वित्तचित्रको उपाधि जित्यो । ५० हजार रुपैयाँ राशीको पुरस्कार पाएपछि निर्देशक विष्टले भावुक हुँदै देउकी प्रथा अन्त्य गर्न आफू अझै लागिपर्ने बताइन् । सोही विधामा पूजा गुरुङ र विभूषण बस्नेतले बनाएको ‘दद्या’ ले उत्कृष्ट फिक्सन फिल्मको अवार्ड स्वरूप ७५ हजार रुपैयाँ जितेको थियो । जुरी स्पेसल मेन्सन विधामा उपेन्द्रराज पाण्डे र बद्री न्यौपाने निर्देशित ‘बियोन्ड द हाइट केन’ ले बाजी मार्‍यो । 

पाँच दिनदेखि चलिरहेको किम्फ सोमबारको प्रदर्शनीपश्चात सकिएको छ । हिमाल एसोसिएनद्वारा आयोजिक महोत्सवमा विभिन्न मुलुकका ८० वटा फिल्म देखाइएका थिए । कार्यक्रम सफल पार्न सघाउने सम्पूर्ण टोलीलाई धन्यवाद दिँदै एसोसिएनका अध्यक्ष वसन्त थापाले अर्को साल भेट्ने वाचा गरे । महोत्सव संयोजक रम्यता लिम्बूले पनि फिल्म छनोटमा सघाउने, निर्णायक मण्डलीसहित दर्शकलाई आभार व्यक्त गरिन् । साँझको अवार्ड वितरण कार्यक्रमलगत्तै ‘मुस्ताङ, द हर्सेस किङडम’ देखाएर कार्यक्रम टुंग्याइएको थियो ।
 
छोटो फिल्ममा ‘सवारी’ अब्बल 
राष्ट्रपतिको सवारी हुने भएकाले बबरमहलको रोड पूरै खाली गरिएको हुन्छ । प्रहरीले पैदल यात्रुलाई समेत हिँडडुल गर्न दिइरहेका हुँदैनन् । एक युवा साइकल डोहोर्‍याएरै पनि सडक पार गर्न नपाएकोमा चिन्तित देखिन्छन् । ‘एउटा अर्जेन्ट काम थियो,’ उनी खुइँ काढ्छन्, ‘रोड क्रस मात्रै गर्न पाए भइहाल्थ्यो मलाई ।’ विडम्बना, प्रहरीले उनको आग्रह पटक्कै स्विकार्दैनन् । 

पेटीमा हिँडेका यात्रुलाई सुरक्षाकर्मीहरू धकेलिरहेका हुन्छन् । रोडको छेउबाट हिँड्न नपाएपछि केहीले आक्रोश पोख्छन्, ‘पेटी खचाखच छ, सडकको छेउबाट हिँडदा के हुन्छ ?’ यत्तिकैमा उपराष्ट्रपति साइरन बजाउँदै रमाना हुन्छन् । राष्ट्रपतिचाहिँ पुरानो बसपार्क आइपुगेको खबर सर्वसाधारणले थाहा पाएपछि व्यंग्यवाणी सुरु हुन्छ, ‘रोड खाली छ, फिलिलि कुदेर एकैछिनमा आइपुग्छन् । अब हामी हतारिनुपर्दैन ।’

राष्ट्र प्रमुखको सवारीका कारण सास्ती खेपिरहेका तिनै सर्वसाधरणको हुलमुलबाट एउटा महिला आवाज सुन्नमा आउँछ, ‘यो त राजाकै पालाको जस्तो भयो । अझ, त्योभन्दा पनि चर्को १’ सिनेमाटोग्राफर विष्णु कल्पितलाई त्यही महिला आवाजले ‘स्ट्राइक’ गरेछ । त्यसैले सवारीमा फस्दा अनायासै खिचेको भिडियोको टुक्राटाक्री जोडेर उनले फटाफट फिल्म बनाए । ‘व्यवस्था फेरिए पनि बानी उस्तै रह्यो भन्ने ती महिलाको आशयले मन छोयो,’ विष्णुले भने, ‘हामी सबैले भोगेको समस्या फिल्ममा देखाइएको छ ।’

विष्णुले ‘सवारी’ नाम दिएको सोही फिल्मले सोमबार ‘स्ट्ेरन्थनिङ पब्लिक सर्भिसेस इन नेपाल’ विषयक छोटा फिल्महरूको प्रतियोगितामा प्रथम स्थान हासिल गर्‍यो । गएको पाँच दिनदेखि चलिरहेको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) कै उक्त विधामा कल्पितलाई ८० हजार रुपैयाँ प्रदान गरियो । ‘हाम्रो जीवनलाई प्रत्यक्ष असर गरिरहेको विषयलाई कल्पितले निकै कलात्मक ढंगले प्रस्तुत गरेका छन्,’ निर्णायकमध्येकी एक, निर्देशक पूजा पन्तले भनिन्, ‘यसको व्यंग्य गज्जब छ ।’ 

किम्फको पाँचौं तथा अन्तिम दिन, निर्णायकले छानेका उत्कृष्ट सात छोटा फिल्म बिहानीको सोमा देखाइएको थियो । नेपाली युवा निर्देशकलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्याइएको विधामा आसेन पौडेल निर्देशित ‘अ डे इन द लाइफ अफ कान्छी’ दोस्रो भयो । यसका लागि निर्देशकले ६० हजार रुपैयाँ हात पारे । सार्वजनिक यातायातमा झुन्डिएर यात्रा गर्दा कान्छीले भोग्नुपरेको पीडा, प्रहरी प्रशासनको गैरजिम्मेवारीजस्ता विषय फिल्ममा समेटिएको थियो । ‘मैले आफैंले भोगेको पीडा फिल्ममा देखाउने मौका पाएँ,’ निर्देशक पौडेलले भने, ‘जिम्मेवारी सम्हालेर बसेका मान्छेले पहल गर्ने हो भने अहिले बिजुली पाएझैं अन्य आधारभूत सुविस्ता हामीले सहजै पाउने थियौं ।’

सातमध्ये तेस्रो भएर ४० हजार जितेको फिल्म ‘घट्टो’ मा चाहिँ निर्देशक अमेश भण्डारीले हामीकहाँ विद्यमान घोकेन्ते विद्या शैलीको खिल्ली उडाएका छन् । (सायद) कुनै बिगार गरेकाले कक्षाकोठा बाहिर कुखुरा बनाइएको विद्यार्थीले भित्रपट्टि शिक्षकले पढाएको मोटर (घट्टो) सम्बन्धी पाठ सुनेर र स्वाध्ययनका भरमा मोटोर बनाएको दृश्य फिल्ममा देखाइएको छ । ‘सरले घोक्न सिकाउँदा विद्यार्थीले भने प्रयोगमै उतारेर देखाउँछ,’ पुरस्कार पाएपछि अलि ‘नर्भस’ जस्तो देखिएका निर्देशक भण्डारीले भने, ‘परम्परागत शिक्षण प्रणालीको दोष देखाउन खोजेको हुँ ।’ 

विजेतालाई अलायन्स फर सोसल डाइलगकी उपाध्यक्ष अमुदा श्रेष्ठले नगदसहित कदरपत्र हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा ‘कालो गुराँस’ फिल्मले पनि निकै ‘हुटिङ’ पाएको थियो । यसमा विद्यालयस्तरका पुस्तकहरू श्यामश्वेत हुँदा तिनले विद्यार्थीको कलामा पनि रङ थप्न नसकेको तीतो यथार्थ प्रस्तुत गरिएको थियो । सातमध्ये एक मात्र महिला निर्देशक मञ्जु भट्टले भूकम्पमा नष्ट भएको सिन्धुपाल्चोकको माझी गाउँ कसरी नमुना गाउँमा परिणत भयो भन्ने कुरा देखाइएको थियो । ‘हाम्रो गाउँमा जस्तै विकास निर्माणका काम सबैतिर हुने हो भने नेपालको रूप फेरिन्थ्यो,’ भट्टको फिल्ममा भनिएको छ ।

श्याम कार्की र ईश्वर कोइरालाले क्रमश : ‘इन माई टाउन’ र ‘मिसन सेफर हाउस’ मार्फत् काठमाडौंको वस्तुस्थिति र भूकम्प प्रतिरोधात्मक भवनबारे जानकारी गराउँदै गाउँगाउँ डुलेका एक इन्जिनियरको कथा देखाएका थिए । सातैजना निर्देशकलाई कदरपत्र दिइयो । ‘सबै फिल्म उत्तिकै बलिया र अर्थपूर्ण थिए,’ निर्णायक मण्डलकी पन्तले भनिन्, ‘प्राप्त थुप्रै फिल्मबाट सातवटा र सातवटा तीनटा छान्न सकस परेको थियो । हामीले दिनदिनै भोग्ने समस्याको सिर्जनात्मक समाधान प्रस्तुत गरेकोमा निर्देशकहरूलाई धन्यवाद दिनुपर्छ ।’

प्रकाशित : मंसिर २८, २०७३ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?