१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाचघरमा मिथिला महर्षि आउँदै

काठमाडौं — स्वार्थबिनाको संसार असम्भव छ । सामान्य व्यक्तिले यसो भन्यो भने त्यसको अर्थ अनेक लाग्न सक्छ ।

नाचघरमा मिथिला महर्षि आउँदै

पौराणिक विद्वान् महर्षि याज्ञवल्क्यले उतिबेलै यसको पुष्टि गरिसकेका थिए । आफूले आफंैलाई चिन्नुपर्छ भन्ने उनको तथ्यपरक आदर्श थियो । यही आदर्श अब रंगमञ्चमार्फत प्रस्तुत हुने भएको छ । जमलस्थित नेपाल सांस्कृतिक संस्थान (नाचघर) ले यो पटक पौराणिक दर्शन बोकेको नाटक ‘महर्षि याज्ञवल्क्य’ मञ्चन गर्दै छ । कलाकारहरू यतिबेला पूर्वतयारीमा धमाधम जुटिरहेका छन् । 

संस्कृतिविद् सत्यमोहन जोशीले यो नाटक करिब ९ वर्षअघि नै लेखेका थिए । बद्री अधिकारीको निर्देशनमा यो नाटकले यतिबेला रंगमञ्चीय रूप पाउन लागेको हो । झन्डै पाँच महिनादेखि प्रशिक्षण चलिरहेको नाटक यही पुस १७ गतेदेखि मञ्चन हुने संस्थानका महाप्रबन्धक राजेश थापाले जनाए । ‘कम सुनिएको तर अत्यन्त अर्थपूर्ण यो नाटकलाई सबैसामु ल्याएर नयाँ बहस गर्न चाहेका हौं,’ उनले भने । उनका अनुसार बुद्ध र याज्ञवल्क्यउस्तै उद्देश्य बोकेका तर फरक तरिका अपनाउने व्यक्तित्व थिए । बुद्धले गृहस्थी त्यागेर ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने धारणा राखे भने याज्ञवल्क्यले गृहस्थीसँगै जोडिएर पनि बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने तर्क अघि सारे । 

नाटकमा उनै याज्ञवल्क्यको गृहस्थी जीवन जोडेर मनको चिन्तन व्यक्त गर्न खोजिएको छ । ‘व्यक्तिले आफ्नै प्रयोजनका लागि अरूसँग सम्बन्ध गाँस्छ र कुनै पनि स्वार्थबिना गतिविधि हुँदैन भन्ने विषय प्रष्ट पार्न नाटकले सघाउँछ,’ थापाले भने, ‘यसलाई पुष्टि गर्ने क्रममा याज्ञवल्क्यले पेस गरेका रोचक, वैज्ञानिक र तार्किक प्रयत्नहरू नाटकमा हुनेछन् ।’ दुई पत्नीका पति रहेका उनले घरकै सदस्यमार्फत आफ्नो ज्ञानको परीक्षण गरेका हुन्छन् । 

पौराणिक विषय समेटिएकाले नाटकको परिदृश्यसमेत प्राचीन स्वादको हुने थापाले जनाए । यो नाटक छनोट गर्नुको अर्को उद्देश्य राजनीतिक चेतना दिनु पनि रहेको उनले खुलाए । मिथिला नगरीमा प्राचीन सभ्यतादेखि याज्ञवल्क्यजस्ता दार्शनिकको समेत जन्म भएको थियो भन्ने इतिहास धेरैलाई थाहा छैन । तर, त्यही क्षेत्र अहिले किन वैचारिक दृष्टिले कमजोर ठानिँदै छ ? पौराणिक महत्त्व बिर्सन लागेका तराईवासीलाई यो नाटक देखाउन उत्तिकै आवश्यक रहेको समेत राजेशले दाबी गरे । 

नाटकमा अभिनय भने सबै युवा पुस्ताका छन् । सबैजना संस्थान बाहिरकै । नयाँ पुस्तालाई रंगकर्ममा प्रोत्साहन गर्न पनि संस्थान बाहिरको कलाकार खोजिएको उनले जनाए । नाटकमा विम्ब अधिकारी, सुरवी सापकोटा, अनु दाहाल लगायतले अभिनय गरेका छन् । 

प्रकाशित : पुस १४, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?