कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेवा छेंमा पाँच तरंग

ललितपुर — रंगको तरंग कलाकारको विचारमा भर पर्छ । कुन बेग, कुन सौन्दर्य र कस्तो भावमा लैजाने ? पाँच युवा कलाकारले रंगको आ–आफ्नै तरंग क्यानभासमा प्रस्तुत गरेका छन् ।

नेवा छेंमा पाँच तरंग

कृष्णगोपाल श्रेष्ठ, सन्ध्या सिलवाल, सरिता डंगोल, सञ्जित महर्जन र सत्यशिला कसजूको सामूहिक कला प्रदर्शनी बुधबारबाट सुरु भएको छ । ललितपुरस्थित नेवा छेँ ग्यालरीमा उनीहरूले ‘तरंग’ शीर्षकमा मनछुने चित्र प्रदर्शन 

गरेका हुन् । यही प्रदर्शनीलाई उनीहरूले भारतको बेङ्लोरमा समेत गर्ने भएका छन् । 
भिन्नभिन्नै शीर्षक राखेर उनीहरूले बनाएको चित्रमा विविधता झल्किन्छ । कृष्णगोपालको कलाको मुख्य थिम सम्पदा हो । उनका चित्रमा सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने भाव प्रकट गर्छ । तर, भूकम्पछि भने सम्पदा झनै जीर्ण बन्दै छन् । सरकारी निकाय पुन:निर्माणमा अझै सक्रिय हुन सकेको छैन । भौतिक सम्पदाको पुन: निर्माणजस्तो गम्भीर विषय उठाएर कान्तिपुरकर्मी कृष्णगोपालले सम्बन्धित पक्षलाई समेत झक्झकाउन खोजेका छन् । उनका सिर्जना हेर्दा रचनात्मक त छ नै समसामयिकता पनि झल्किन्छ । भूकम्पले भत्काएको भवनबीच घन्टी झुन्डयाएको आकृति कोरेर उनले अर्थपूर्ण भाव प्रकट गरेका छन् । 

सरिता क्यानभाससँगै घरको काम पनि सम्हाल्छिन् । उनले भान्सामा थुप्रै तरकारीसँग खेलेकी छन्, जुन पकाउन नपाउँदै कहिलेकाहीं सुकेर जान्छन् । तीमध्ये उनले सुकेको खुर्सानी मस्तिष्कमा बसालिन् । त्यसलाई मान्छेको उमेरसँग तुलना गर्दै चित्र कोरिन् । ‘वनस्पतिले पनि केही न केही इंगित गरिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैलाई क्यानभासमा उतारें ।’ संजितले ‘डार्क डे’ थिममा चित्र कोरेका छन् । उनले पनि भूकम्प, पृथ्वी र मानव बस्तीको सम्बन्ध सिर्जनामार्फत प्रस्ट पार्ने प्रयास गरेका छन् । उल्टिएका घर, अँध्यारोमा रुमलिएको पृथ्वीजस्ता आकृतिले कलाकारको मनमस्तिष्कबाट भूकम्पको कम्प अझै गएको छैन भन्ने संकेत गर्छ ।

सन्ध्याको चित्र ‘एक्जिस्टेन्स’ (अस्तित्व) थिममा आधारित छ । उनले अंकुर हाल्दै गरेको बिरुवामा सम्पूर्ण जीवनचक्र झल्काएकी छन् । ठूलो क्यानभासमा सानो अंकुर आकृतिले जन्मिनुको महत्त्व दर्साउन मद्दत गरेको छ । 

सत्यशिलाको चित्र विभिन्न थिममा छन् । ‘टाइम फर न्यु होप’ चित्रमा सत्यशिलाले भूकम्पकै विषय उठाएकी छन् । जीर्ण जमिनबीच बिरुवा पलाएको आकृति देखाएर उनले समयसँगै परिवर्तन आउँछ भन्ने भाव चित्रमा झल्काएकी हुन् । सकारात्मक सोचको पनि यो अब्बल नमुना हो । प्रदर्शनी पुस २६ सम्म जारी रहनेछ । 

प्रकाशित : पुस १४, २०७३ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?