२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फेरि रोकियो निर्माता संघको साधारणसभा

काठमाडौं — लामो समयदेखि चलचित्र निर्माता संघ विवादित बन्दै आएको छ । विवाद यतिबेला जिल्ला प्रशासन हुँदै अदालतसम्म पुगेको छ ।

बुधबार उच्च अदालत पाटनले संघको साधारण– सभा रोक्न अन्तरिम आदेश जारी गर्‍यो । यसअघि पुस २ मा डाकेको साधरणसभा पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘आर्थिक अनियमितताको छानविन नसकिएको’ भन्दै रोकेको थियो । 

राजकुमार राई अध्यक्ष रहेको संघले ६ लाख रुपैयाँ तिरेर जिल्ला प्रशासन कार्यालयमा पुस ३ गते अन्य कागजात पनि बुझाएपछि ढोका खुलेको थियो र संघले आउँदो शुक्रबारलाई साधारणसभा डाकेको थियो । तर, ‘बाँकी हिसाब साधारणसभाबाट क्लियर गरेर ल्याउँछु भनेकै भरमा साधारणसभाको ढोका खोलिदिएको’ भन्दै निर्माता नवराज खड्का (नवल) ले उच्च अदालत मुद्दा दायर गरेपछि बुधबार अन्तरिम आदेश जारी भएको हो ।

आदेशमा ‘संघको विधान, २०५५ को दफा १३ (ख) मा साधारण सभा बोलाउँदा कम्तीमा २१ दिनअघि बैठक बस्ने स्थान, मिति, समय र छलफल हुन तोकिएको विषयको कार्यसूची–सहितको सूचना गर्नुपर्ने अवस्था रहेकोमा सोबमोजिम नभएको साधारणसभा सम्पन्न नगर्नू/ नगराउनू’ उल्लेख छ । निवेदकका तर्फबाट अधिवक्ता कृष्णप्रसाद सुवेदी, दधिराम ढकाल र सन्तोष राउतले बहस गरेका थिए । 

प्रकाशित : पुस १४, २०७३ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?