२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

साझाले सम्झयो स्रष्टा

ललितपुर — नेपाली साहित्यका अग्रज सष्ट्राहरूलाई साझा प्रकाशनले बुधबार सम्मान गरेको छ । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई साझा सम्मान दिइएको हो ।

साझाले सम्झयो स्रष्टा

प्रधानमन्त्री पुष्पकमल दाहालले यी तीन स्रष्टालाई जनही २५ हजार १ सय १ रुपैयाँसहित ताम्रपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रधानमन्त्री दाहालले लेखक एवं समालोचक निनु चापागार्इँको ‘पूर्ववाद र सइदेली विचार’ र प्रा.डा. ताराकान्त पाण्डेयको ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन तथा साहित्यको समाजशास्त्र’ पुस्तक लोकार्पणसमेत गरे । 

नेपाली साहित्य, संस्कृति, भाषा र मनोविज्ञान निर्माणको क्षेत्रमा साझा प्रकाशनले महत्त्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री दाहालले दाबी गरे । साझाको भवन अवलोकनपछि दाहालले सरकारले साझाको जीर्ण भवनहरू निर्माणका लागि सहयोग गर्ने आश्वासन दिए ।

साझा प्रकाशनको १ सय ५ वर्षको इतिहासमा पहिलोपटक साहित्यका अग्रज सष्ट्राहरूलाई सम्मान गर्न पाएको साझाको महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए । ‘साझामा २२ करोडका पुस्तकहरू स्टकमा छन्,’ उनले भने, ‘यी पुस्तकको बिक्रीवितरणसँगै नयाँ पुस्तकहरूको प्रकाशनमा जोड दिने कोसिस हुनेछ ।’ मंसिर २६ गतेको मन्त्रीपरिषद बैठकले साझालाई १० करोड रुपैयाँ अनुदान र २० करोड रुपैयाँ ऋण दिएकोमा पुरानो ऋण तिरेर बाँकी रहेको रकमले पुस्तक प्रकाशनको लागि आधुनिक मेसिन खरिद गर्ने उनले जनाए । 

राष्ट्रकवि घिमिरेले चाहिँ ‘सम्मान पाइएला भनेर साहित्य सिर्जना गरेको होइन’ भन्दै नेपाली भाषासाहित्य जोगाउनतिर सुझाए । राजनीतिज्ञ एवं माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य किरणले लोकार्पित दुवै पुस्तकले ‘उत्तर आधुनिकतावाद र उत्तर–उपनिवेशवादका साथमा समाजवादी चिन्तन प्रस्तुत गरेको’ दाबी गरे । दुवै पुस्तक साझाले नै छापेको हो ।

कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले सम्मानित स्रष्टाहरूबारे प्रकाश पारेका थिए । शिक्षामन्त्री धनीराम पौडेल, रञ्जु झा, दीनानाथ शर्मालगायतले साझा र स्रष्टाबारे धारणा राखेका थिए ।

प्रकाशित : पुस १४, २०७३ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?