द्रौपदीका आँखाबाट महाभारत

सुशील पौडेल

कोलकाता — ‘म याज्ञसेनी । पाञ्चालकी राजकन्या, पाञ्चाली । राजा द्रुपदकी छोरी, द्रौपदी । कृष्णमा समर्पित, कृष्णा ।’ महाभारतमा द्रौपदी उर्फ याज्ञसेनी गौण पात्र हुन् । अथवा, महाभारत उनका आँखाले उनैले बाहेक कसैले हेरेन वा हेर्न चाहेन ।

‘म याज्ञसेनी । पाञ्चालकी राजकन्या, पाञ्चाली । राजा द्रुपदकी छोरी, द्रौपदी । कृष्णमा समर्पित, कृष्णा ।’

महाभारतमा द्रौपदी उर्फ याज्ञसेनी गौण पात्र हुन् । अथवा, महाभारत उनका आँखाले उनैले बाहेक कसैले हेरेन वा हेर्न चाहेन । पाँच पराक्रमी पाण्डवकी एक्ली पत्नी भएर पनि याज्ञसेनी कति पीडा सहेर बाँचिन् र मरिन्, कमैले विवेचना गरे होलान् । डा. प्रतिभा रायले उनैको पक्षबाट महाभारतको क्रूरता पस्केर उहिल्यै कथा लेखेकी थिइन्, जसलाई सुमन पोखरेलले नाट्य रूपान्तरण गरे, ‘याज्ञसेनी’ का रूपमा । सुमनको निर्देशनमा उक्त नाटक बुधबार साँझ कोलकाताको कल्याणीमा मञ्चन गरिएको छ ।

Yamaha

माथि उल्लिखित संवादसँगै नाटक सुरु हुन्छ । दृश्यमा देखिन्छिन्, याज्ञसेनी । खोकिलाबाट महाभारतका अन्य पुरुष पात्रको संवाद बारम्बार सुनिन्छ । झन्डै एक घण्टा लामो नाटकको दृश्यमा भने पूरा समय याज्ञसेनीले मञ्च पाउँछिन् । केन्द्रीय एकल भूमिकामा निशा शर्माले अभिनय गरेकी छन् ।

धर्म स्थापनार्थ यज्ञको आगोबाट जन्मिएकी याज्ञसेनी सानैदेखि कृष्णप्रति आसक्त थिइन् । तर स्वयं कृष्णले नै उनका लागि आफू उपयुक्त पुरुष नभएकाले साहिला पाण्डव अर्जुनसँग स्वयंवर गर्न भन्दै खिन्न पार्छन् । नेपथ्यमा याज्ञसेनीले आवाज सुन्छिन्, ‘अर्जुन पनि म नै हुँ । तिमीले अर्जुनलाई मेरै अर्को रूप मानेर ग्रहण गर ।’

त्यसपछिको कथामा अर्जुनले पानीमा प्रतिविम्बित माछाको आँखामा तीर हानी याज्ञसेनीलाई जित्छन्, उनलाई लिएर घर पुग्दा आमा कुन्तीले अर्जुनले ल्याएको चीज पाँचै छोराले बाँडेर लिनु भन्छिन् र याज्ञसेनी सुरुमा प्रतिवाद गरे पनि पछि बाँडिन बाध्य हुन्छिन् ।

पहिलो प्रेम कृष्णलाई अर्जुनका लागि गुमाएकी याज्ञसेनीले पछि मन पराउन थालेकी अर्जुनलाई पनि उसको वनबास क्रम १२ वर्ष गुमाउनुपर्छ । यता नदीमा नुहाउन गएकी याज्ञसेनीलाई तीर प्रकरणमा हारेका भनिएका कर्णले नै बचाउँछन् । याज्ञसेनी फेरि सोचमग्न बन्छिन्, ‘जलक्रीडामा मेरो प्राण गएको भए मेरा पाँच पतिमध्ये कुनैले पनि रक्षा गर्न सक्ने थिएनन् । कर्णले मलाई गरेको स्नेह र सम्मानका कारण मेरो मन उनीप्रति करुणा, सहानुभूति वा स्नेह खै केले हो प्रविभुत भएको छ । वास्तवमा मनलाई कसले पूर्णरूपमा नियन्त्रण गर्न सकेको छ र ?’

याज्ञसेनीले जीवनभर गुमाइरहिन् । सम्झौताको जीवन बाँचिरहिन् । जीवनको अन्तिम क्षणमा आएर उनले आफ्नै कर्मको मूल्यांकन गर्छिन् । कृष्णप्रति गुनासिँदै भन्छिन्, ‘हे कृष्ण, तिमीले किन मलाई अर्जुन भनेको म हो भन्यौ ? किन तिमी कर्ण हुन सकेनौ ? कर्णकी पत्नी हुन पाएकी भए पाण्डवकी पत्नी हुँदाकी जस्ती निरीह भएर मैले अनेकपल्ट लाञ्छित हुनुपर्ने थिएन भन्ने लाग्छ ।’

याज्ञसेनी अर्थात् द्रौपदीको जीवनमा चीरहरणको घटना सधैं अप्रिय बनेर रहयो । युधिष्ठिरले उनलाई जुवामा हारे । युधिष्ठिरले आफ्नै भाउजूको दुस्शासनको हातबाट चीरहरण गर्न लगाउँदा समेत पाँच पाण्डवले केही गर्न सकेनन् । पछि महाप्रस्थानका लागि स्वर्ग जाँदै गर्दा बाटोमा चिप्लिएर लडेकी याज्ञसेनीलाई उनका पाँच पति कसैले उठाउनसमेत चाहेन । सहायताका लागि पुगेका भीमलाई समेत युधिष्ठिरले रोक्छन् र अगाडि बढ्न आदेश दिन्छन् । चिप्लिएर लडेकी याज्ञसेनी हिउँमा पुरिँदै गर्दाको मनोविज्ञानमा रहेर नाटक तयार पारिएको छ ।

नाटकको अन्त्यमा याज्ञसेनीले आफूलाई टुक्रयाएर बाँडिनुको पीडा, महाभारत युद्धमा पाँच छोरा गुमाउनुको पीडा र सभामा चीरहरणको अपमान सहनुपर्दाको पीडालाई सम्झँदै कृष्णलाई गुनासो गर्छिन्, ‘हे कृष्ण, मेरो जीवनमा जे भयो भयो । कुनै पनि नारीको जीवनमा कहिल्यै त्यस्तो नहोस् । कुनै नारीले एकैपल्ट एकभन्दा बढी पति कहिल्यै पनि राख्न नपरोस् । नारीलाई रूपवती बनाऊ तर पुरुषलाई त्यतिबिघ्न कामुक नबनाऊ ।’

कल्याणी कला मण्डलमले मंगलबारदेखि ६ दिनसम्म आयोजना गरेको १२औं रामधनु नाटय मेलामा नेपालका तर्फबाट आरोहण गुरुकुलको यस नाटक दोस्रो दिन मञ्चन गरिएको हो । नाटकको संगीत आदित्य कटुवालको हो । संगीत परिचालन प्रदीपकुमार चौधरीले गरे । आभाष अधिकारीले सहायक निर्देशनको जिम्मा सम्हाले । मञ्च व्यवस्थापन सुनिशा बजगाईंले गरिन् ।

महाभारतको ठूलो क्यानभास र धेरै चरित्रको कथामा सोलो नाटक तयार पारिनुको कारणबारे निर्देशक सुनीलले भने, ‘यो द्रौपदीको आँखाले हेरेको महाभारत हो । त्यो हिसाबले द्रौपदी महत्त्वपूर्ण हो । अरू पात्र त उसको आँखाले देखेको हो । हामीले पढेको महाभारत भन्दा द्रौपदीको हेराइ फरक हुन सक्छ । त्यो कारणले पनि एकल गरिएको हो ।’

नेपाली भाषामा प्रस्तुत गरिए पनि कथा परिचित भएकाले स्थानीय दर्शकले ‘याज्ञसेनी’ लाई रुचाएको बताए ।

प्रकाशित : पुस २८, २०७३ ०८:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किसानको मिहिनेत बिचौलियालाई फाइदा

नगेन्द्र अधिकारी

काभ्रे — पनौती १० का प्रयाग केसीले यो वर्ष ७० हजार रुपैयाँको मात्रै सुन्तला बिक्री गरे । गत वर्ष १ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका थिए । ‘राम्रो सुन्तला फलेको छैन भनेर यो वर्ष आधा मूल्य पनि पाइएन,’ उनले भने, ‘व्यापारीले बगैंचामा नै आएर मोलतोल गर्छन्, दिएको भाउ लिन बाध्य छौं ।’

व्यापारीले प्रतिकेजी २५ रुपैयाँमा किसानसँग उठाएर सुन्तला ग्रेडिङ गरेर प्रतिकिलो ५० सम्ममा होलसेललाई दिन्छन् । ग्राहकले सोही सुन्तलाको मूल्य ९० देखि १ सय १० रुपैयाँसम्म तिर्नुपर्छ । किसानले फलाएका सुन्तला कालीमाटी, बल्खु, बनेपालगायतका तरकारी बजारमा व्यापारीले दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् ।

बनेपामा फलफूल पसल सञ्चालन गर्दै आएका दीपक तिमल्सिना प्रतिकेजी २० रुपैयाँसम्म नाफा गर्ने गरेको स्विकार्छन् । ‘विभिन्न मूल्यका सुन्तला लिएर आउछौं र सोही अनुसार बिक्री गर्छौं,’ उनले भने, ‘प्रतिकिलो २० रुपैयाँसम्म नाफा त खानैपर्‍यो ।’ मधेस मूलका व्यापारी सुन्तलाको मोल गर्न दसैंअघि नै बैना गर्न किसानको बगैंचामा पुग्ने गरेका छन् । पछि मूल्यमा उतारचढाव आए पनि पुरानै मूल्य पाउँछन् । शंखुपाटीचौरका किसान माधवप्रसाद बजगाईले सुन्तलाको स्थायी बजार नभएका कारण किसानले भने जति मूल्य पाउन नसकेको गुनासो गरे । ‘सुन्तलाको स्थायी बजार नहुँदा व्यापारीले जति भन्यो त्यतिमा बेच्न बाध्य छौं,’ उनले भने, ‘हाम्रो मिहेनतमा फाइदा भने अरूले लिन्छन् ।’

वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले सरकारले मूल्य नतोक्ने भएकाले एकरूपता आउन नसकेको बताए । ‘कृषि विकास कार्यालयले मूल्य तोक्दैन,’ उनले भने, ‘किसान आफैंले कारोबार गर्ने भएकाले मूल्य फरक पर्ने गरेको छ ।’

उत्पादनमा कमी
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा कमी आएको छ । भूकम्पले सुन्तलाका जराहरू छिनेपछि बोट सुक्दै गएका कारण सोचेजस्तो उत्पादन हुन नसकेको शंखुपाटीचौर कृषक सीताराम भट्टराईले बताए ।

‘भूकम्पले सुन्तलाका जराहरू छिन्दो रहेछ, त्यसले बिरुवाहरू सुक्दै गएका छन्,’ उनले भने, ‘हाँगा सुक्नेलगायतका रोग पनि देखिएका छन् ।’ १५ रोपनी क्षेत्रफलमा व्यवसायी सुन्तला खेती गर्दै आएका भट्टराईले अघिल्लो वर्ष ५ लाख रुपैयाँको बिक्री गरेकामा यो वर्ष कमी हुने बताए ।

अधिकृत पण्डितले यो वर्ष जिल्लामा १० प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने अनुमान गरेको बताए । ‘सुन्तलाको फल कुवाउने औंसा (एक प्रकारको किरा) र सिट्रोल बिक्रा (बोटमा ऐंजेरु लाग्ने, हाँगा सुक्ने) जस्ता रोग देखापरेको छ,’ उनले भने । गत वर्ष १० हजार १ सय ५८ टन सुन्तला उत्पादन भएको थियो ।

 

प्रकाशित : पुस २८, २०७३ ०८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT