कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लभ साशाको संसार

गोकर्ण गौतम

भिसा गर्लको प्रिमियरमा दंग पर्दै पुगेकी थिइन्, केकी अधिकारी । छोटो–मीठो भूमिका थियो उनको तर जसै फिल्म हेरिन्, उत्साह त्यसै उडेर गएछ ।

लभ साशाको संसार

उनी आफैंले आफू पर्दामा आए/गएको पत्तै पाइनन्, आमदर्शकको त के कुरा १ कोमल मनकी केकीले निर्देशक प्रचण्डमान श्रेष्ठसँग यही बह पोखिन् । प्रचण्डले फिस्स हाँदै भनेछन्– ‘यसपटक यस्तै भयो, अर्को फिल्ममा तिम्रो लिड रोल पक्का ।’ केकीले पत्याइनन् । उनलाई लागेछ, प्रचण्डले फकाउन मात्र यस्तो भनेका हुन् । तर त्यो ‘जोक’ थिएन । 

भलै प्रचण्डको वचन पूरा हुन चार वर्ष लाग्यो । हिजो बिहीबार (पुस २८) बाट प्रचण्ड निर्देशित र केकी अभिनीत लभ साशा रिलिज भएको छ । प्रचण्ड रहस्य खोल्छन्, ‘भिसा गर्ल रिलिज पहिल्यै यसको प्लट दिमागमा आइसकेको थियो । त्यतिबेलै केकीलाई खेलाउँछु भनेर निधो गरिसकेको थिएँ ।’ यसमा केकीको अपोजिटमा छन्, अभिनेता कर्म । जो प्रचण्डको ‘अल टाइमफेट एक्टर’ हुन् । उनको पहिलो स्क्रिप्ट फस्ट लभ र पहिलो निर्देशन भिसा गर्ल दुवैमा कर्म छुटेका थिएनन् । तर लभ साशालाई लिएर केकी सबभन्दा ‘एक्साइटेड’ देखिन्छिन् । किन त ? भन्छिन्, ‘यो फिल्मबाट मेरो दुई वटा चाह पूरा भएको छ । प्रचण्डको निर्देशनमा काम गर्ने अनि कर्मसँग स्क्रिन सेयर गर्ने ।’ डेब्यु फिल्म सानो संसार हेरेदेखि नै कर्मको फ्यान रहिछिन्, केकी ।
प्रचण्डले लभ साशाका लागि औपचारिक प्रस्ताव राख्दा केकी अमेरिका थिइन् । उनी नेपाल फर्कने र स्क्रिप्टको फस्ट ड्राफ्ट तयार हुने मिति करिब उस्तै थियो । स्क्रिप्ट पढेपछि छक्कै परिछन्, डेढ दर्जन ज्यादा फिल्मकी यी हिरोइनले यस्तो ‘फाइन स्क्रिप्ट’ भेटेकै थिइनन् रे । आफूले खोजेजस्तै प्रोजेक्ट हात लागेको आभास भएछ उनलाई । पारिवारिक र लभस्टोरी फिल्ममा रुचाइएकी केकी भन्छिन्, ‘मैले मात्र होइन, लभ साशामा आजको पुस्ताले कहीं न कहीं आफूलाई पाउँछन् । जीवनसँग अति नजिक छ यो फिल्म ।’ 
हिरोइन मात्र किन, निर्देशकबाटै कन्टेन्टको कुरा सुनौं न त । 
प्रचण्डका अनुसार आफू र आफ्ना साथीभाइहरूको जीवन भोगाइको प्रतिफल हो, लभ साशा । आजको समयमा नेपालमै बस्ने युवायुवती पनि विश्वव्यापी सञ्जालमा जोडिएका छन्, आधुनिकता र प्रविधिको उच्चतम विकासलाई अनुभूत गर्न पाएका छन् । अर्थात् फस्ट वल्र्डकै युवा पुस्ताको झैं ‘एक्सपोजर’ पाएका छन् । तर बस्ने त यही समाजमा हो, जहाँ पुरातनवादी सोच हावी छ, सांस्कृतिक रूपमा बाँधिनुपर्छ । मनमा धेरै इच्छा हुन्छ, अभिव्यक्त गर्न सक्दैनन् । पढाइ पूरा हुन पाएको हुन्न, विवाहको प्रेसर आइलाग्छ । प्रचण्ड सुनाउँछन्, ‘यी दुई विपरीत माहोलका कारण आन्तरिक द्वन्द्वमा फस्न बाध्य युवायुवतीको मनोवैज्ञानिक पक्षलाई कथामा उधिनेको छु ।’ 
फिल्ममा दुई मुख्य चरित्र छन्, पर्ल (कर्म) अनि साशा (केकी) । पर्लको अर्थ मोती हुन्छ भने आर्य संस्कृतिमा साशाले मानवताकी देवी भन्ने बुझाउँछ । थिएटर हुँदै फिल्मी दुनियाँमा फड्को मारेका कर्म पनि यी दुवै पात्रमा ‘मिड ट्वान्टीज’ का केटाकेटीले आफूलाई अनुभूत गर्ने दाबी गर्छन् । तर जीवनसँगको सामीप्यता देखाउने र सरल न्यारेसन भएको लभ साशाको सुटिङ भने बडो जटिल भइदियो । कतिसम्म भने फुरुङ्ग पर्दै पोखरास्थित सेटमा पुगेकी केकीलाई एकाध दिनपछि कहिले भागौं जस्तो भएछ । नहोस् पनि कसरी, हरेक सिनका लागि २० टेक त सामान्य हुन्थ्यो । कुनै–कुनैमा त ५० टेक सम्म । 
‘मलाई त प्रचण्डको काम गर्ने शैली थाहा थियो । त्यसमाथि निर्देशकले चाहेजस्तो काम ननिक्ली सयौं टेक भए पनि ‘गिफ–अप’ गर्नु हुन्न भन्नेमा निश्चित थिएँ/छु’ कर्मले सुटिङका सुरुवाती दिन सम्झिए, ‘तर केकी त पूरै नर्भस र हतोत्साहित भइन् ।’ केकी आफैं पनि आफ्नो ‘इगो हर्ट’ भएको स्विकार्छिन् । 
तर दस दिन सुटिङ हुन नपाउँदै एउटा दु:खद घटना घट्यो, प्रचण्डको बुबाको देहान्त भयो । सुटिङ रोकियो । यही अवधिमा केकीले आफूलाई ‘ट्रान्सफर्म’ गरिन् । भन्छिन्, ‘अलि ड्रामाटिक र लाउड एक्टिङ गरिरहेको बानीले गर्दा समस्या आएको थियो तर पछि मैले गर्नुपर्ने र निर्देशकले चाहेको काम ठम्माएँ ।’ कर्मको साथबिना आफूमा यो बदलाव सम्भव नहुने उनको भनाइ छ । केकी र कर्मको इच्छा अनुरूप नै प्रचण्डले फेरि सुरुबाटै सुटिङ सुरु गरे । त्यसपछि त तीनै जनाले चाहे जस्तो काम निस्कियो । शंकै छैन, कर्म र केकी दुवै प्रतिभाशाली कलाकार हुन् । प्रचण्ड चाहिँ उनीहरूको कुन पक्षबाट बढी प्रभावित होलान् त ? अभिनयमा स्वभाविकता खोज्ने यी निर्देशक भन्छन्, ‘कर्म निकै इमानदार र मिहिनेती कलाकार हो । केकीको चाहिँ पात्रलाई आत्मसात् गरेपछि अभिनय तह नै अर्कै हुँदोरहेछ, एकदमै जीवन्त खालको ।’ 
फस्ट लभले राम्रो व्यापार गरे पनि प्रचण्डको भिसा गर्ल बक्स अफिसमा सफल हुन सकेन । यो एक दशकको अवधिमा कर्म अभिनीत झन्डै डेढ दर्जन फिल्म रिलिज भए तर सानो संसारपछि उनीप्रतिको पलाएको अपेक्षा पूरा हुन सकेन, अधिकांश फिल्म फ्लप भए, लुटलगायतका हिट भएका एकाध फिल्मको जस पनि उनले पाएनन्, फलत: उनको छवि ‘अनलक्की एक्टर’ का रूपमा बन्न थालेको छ । केकीको हविगत पनि कर्मको भन्दा भिन्न छैन, म्युजिक भिडियोमा राज गरेपछि फिल्मी ‘इन्ट्री’ मारेकी केकी अभिनीत पछिल्ला फिल्मले न पैसा कमाए, न प्रशंसा । बरु नयाँ हिरोइनको बोलवाला बढेको छ । अर्थात्, प्रचण्ड, कर्म र केकीको करिअरका लागि लभ साशाको व्यापार र प्रतिक्रिया अर्थपूर्ण छ । त्यसमाथि यो फिल्ममा प्रचण्ड निर्देशक अनि कर्म र केकी कलाकार मात्र होइनन्, तीनै जनाको पनि सेयर छ । डर त होला नि ? यो प्रश्न उनीहरूलाई छुट्टाछुट्टै गरिएको थियो तर उत्तरको सार उस्तै थियो, ‘नर्भस पनि छौं, एक्साइटेड पनि । तर हामीले इमानदार र मिहिनेत गरेर काम गरेका छौं । त्यसैले अडियन्सको ताली वा गाली जे पाए पनि हामीलाई स्वीकार्य छ ।’ 

प्रकाशित : पुस २९, २०७३ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?