कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'फेस्टिभलले नेपाल प्रवर्द्धन गर्‍यो'

धरान — अघिल्लो साता यहाँ सम्पन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चर्चा जारी नै छ । यसमध्ये एउटा सन्दर्भ हो– पुरस्कारको नामकरण ।

'फेस्टिभलले नेपाल प्रवर्द्धन गर्‍यो'

 

गौतम बुद्ध, माउन्ट एभरेस्ट, रारा, शिरिजिंगाजस्ता नामबाट यस पटक अवार्ड वितरण गरियो । संसारभर मुलुकलाई मौलिक ढंगले प्रवद्र्धन गर्न यसो गरिएको फेस्टिभलको स्थानीय संयोजक तथा फिल्म निर्देशक दीपक श्रेष्ठको दाबी छ । ‘ऐतिहासिक विभूतिहरू सहिदहरू, धार्मिक र राजनीतिक व्यक्तित्वदेखि पर्यटकीय थलो चिनाउने गरी अवार्ड दियौं,’ उनले भने, ‘फिल्ममार्फत मुलुकको मौलिकता प्रवद्र्धनका लागि गरिएको यो नयाँ प्रयोग हो ।’

यी नामहरूमध्ये गौतम बुद्ध र माउन्ट एभरेस्टका बारेमा कहिलेकाहीं अन्तर्राष्ट्रिय मिडियाले विवादास्पद समाचार लेख्ने गरेकाले धरानमा आएका विदेशी फिल्मकर्मीमाझ ‘अर्थपूर्ण’ रूपमा यही नामको पुरस्कार दिइएको उनले दाबी गरे । अवार्डका अन्य नाममध्ये शिरिजंगा किराँत लिम्बू लिपिका सातौं शताब्दीका आविष्कारक राजा मानिन्छन् । रारा ताल नेपालको पर्यटकीय स्थल हो भने रामप्रसाद राई र चतुरमान राजवंशी ओझेलमा परेका सहिद हुन् । 

ठूला र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरू राजाधानीमा मात्र केन्द्रित हुने गरेकाले पहिलोपटक राजधानी बाहिर गर्दा धेरै नै सकारात्मक प्रतिक्रिया पाएको पनि उनले बताए । ‘धरानवासीको नाताले पनि यो फेस्टिभललाई ठूलो उपलब्धि मान्छु,’ उनले भने, ‘यसले धरानलाई फरक रूपमा चिनाउने काम पनि गर्‍यो ।’

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विभिन्न समाजको मनोविज्ञान, मुद्दा र संस्कृतिलाई चिनाउने भएकाले विशेषगरी नयाँ पुस्ता र विद्यार्थीहरूलाई समेत केन्द्रित गरिएकोमा त्यहीअनुसारको उपलब्धि हासिल भएको उनले दाबी गरे ।

‘राजधानीबाहिर सीमित आर्थिक आधारमा गरिएको पहिलो फेस्टिभल भएकाले होला स्वदेशी र विदेशी गरी सय जना पाहुनालाई व्यवस्थापनमा केही कठिनाइचाहिँ भयो,’ उनले फेस्टिभलको समीक्षा गर्दै भने, ‘तर यसले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल राजधानीबाहिर पनि राम्रोसँग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’

फेस्टिभलको जुरीमा चिनियाँ फिल्म एकेडेमीका निर्देशक सी फी, जर्मनीका फिल्म प्राध्यापक ड्रागन मिलिकोभिक, बंगलादेशकी डकुमेन्ट्रीमेकर तस्मिह अफ्रिन पनि थिए । 

फेस्टिभलमा भएको प्राज्ञिक एवं बौद्धिक बहस अर्को उपलब्धि रहेको उनको ठम्याइ छ । १३ मुलुकका ४७ फिल्म प्रदर्शन भइरहँदा नेपाली फिल्मको वास्तविक बजार, निर्देशन, प्रविधि र अभिनयबारे विदेशी फिल्मकर्मीबीच गरिएको बहस र छलफलले उत्तिकै ज्ञानवद्र्धक रहेको उनले जनाए । फिल्म क्षेत्रमा लागेको अढाइ दशकमा ३० फिल्मको निर्देशनसमेत गरिसकेका श्रेष्ठको अनुभवमा ‘नेपाली फिल्म बजारको आकारभन्दा बढी उत्पादन र गुणभन्दा संख्या मात्रै वृद्धि भइरहेको’ छ । ‘त्यहीमाथि पारदर्शितामा समस्या छ,’ उनले भने, ‘बक्सअफिस लामो समयदेखिको मृगतृष्णा बनेको छ । यी र यस्ता विषयमा प्राज्ञिक छलफल हुनु आफैंमा ठूलो कुरा हो ।’ 

तर, उनको विचारमा नेपालका सबै हलमा एकै पटपटक बक्सअफिस लागू गर्न सक्ने अवस्था छैन । इन्टरनेटको सुविधा र उपकरण जडान गर्न नसक्ने अवस्थाका ४० प्रतिशत हल मुलुकमा छन् । ‘मुख्य मुख्य सहरमा बक्सअफिल लागू गरेर जान सकिन्छ,’ उनले भने, ‘फेस्टिभलको बहसको निचोड पनि यस्तै रह्यो ।’

नेपाल चलचित्र संघ र निर्माताहरूको बीचको सामान्य मतभेदकै कारण बक्सअफिस लागू गर्न नसकिएको उनको दाबी छ । ‘नेपालमा भारतीय फिल्म रिलिज हुँदा करोडौंमा किनेर नेपालमा चलाइन्छन् । तर नेपाली फिल्मले करोडको कारोबार गर्नै मुस्किल छ,’ ‘हिम्मत’, ‘दु:ख’, ‘अजम्बरी माया’, ‘पापी मान्छे’, ‘तक्दिर’, ‘पर्खिबसें’ जस्ता फिल्मका निर्देशकले भने । 

प्रकाशित : माघ १४, २०७३ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?