२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बल्लतल्ल बलेको दियो

गोकर्ण गौतम

घरमा फिल्म हेर्ने मान्छेको धुइरो हुन्थ्यो । विदुर–६, नुवाकोटस्थित गाउँमा अन्त कतै टेलिभिजन थिएन पनि । तर त्यही घरको फुच्चे नरेशकुमार केसीलाई चाहिं टीभी कोठामा छिर्नै निषेध । फिल्मले पढाइ चौपट पार्छ भन्ने पिरलो थियो परिवारलाई ।

बल्लतल्ल बलेको दियो

जति धेरै बन्देज, त्यति धेरै फिल्मी मोह गहिरो हुन लाग्यो नरेशमा । अनि स्कुलबाट टाप कसेर बटारको भिडियो हल धाउने लत लाग्यो । एउटै कक्षामा पढ्थिन्, दिदी नवीनता । घरमा थाहा पाए रामधुलाइ हुन्थ्यो । तर दिदीले भाइको यो कर्तुत कहिल्यै बुबाको कानसम्म पुर्‍याइनन् । बरु आफैं गाली गर्थिन्, बुबाको सामु भने सधैं बचाउँथिन् । 

२७ वर्षअगाडिको प्रसंग हो यो । 

शुक्रबारबाट उनै नरेश निर्देशित फिल्म रिलिज भएको छ, डाइङ क्यान्डल (निभ्न लागेको दियो) । जहाँ ग्रामीण भेगकी एक दिदीको भाइप्रतिको अथाह प्रेम, त्याग र समपर्णको कथा भनिएको छ, मन छुने शैलीमा । स्क्रिप्ट पनि उनी आफैंले लेखेका हुन् । नरेशले डाइङ क्यान्डलको रचनागर्भ यसरी कहे, ‘बाल्यकालमा दिदीसँग त्यति मीठा पल नसंँगालेको भए एक त यो कथै लेख्दैन्थे, लेखे पनि यही फिल्मबाट डेब्यु गर्दिनथें होला ।’ उसो त यो कथा गोविन्दबहादुर मल्लको ‘च्यातिएको पर्दा’ र ओ हेनरीको ‘गिफ्ट अफ मजाई’ बाट पनि थोरबहुत प्रभावित भएको उनले सुनाए । 

भागीभागी फिल्म हेर्नुपर्ने परिवारमा हुर्किएका नरेश निर्देशक बनेका छन् । त्यहाँदेखि यहाँसम्मको उनको यात्रा आफैंमा फिल्मभन्दा कम नाटकीय र रोचक छैन । उनी डाइरेक्टर मात्र होइनन्, मेडिकल डाक्टर पनि हुन् । अनि विश्वकै नामी मानिे फिल्म स्कुल युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया (यूएससी) पुग्न सफल नेपाली पनि । त्यसैले डाइङ क्यान्डलको प्रसंग उप्काउनु पहिले निर्देशक नरेशकै फ्ल्यासब्याक पल्टाऔं ।

एसएलसी पास गरेपछि नरेशलाई पढ्न मन थियो फिल्म, नभए म्युजिक तर बुबाले सीधै सिद्धार्थ वनस्थलीमा लगेर भर्ना गरिदिए । आईएस्सी सकियो, उच्च अंकका साथ । फेरि फिल्मतिर फड्को मार्न खोजे तर मेलोमेसो मिलेन । अनि परिवारकै आग्रहमा आयुर्वेद चिकित्सा पढ्न थाले । यही बीचमा घरमा पत्तै नदिई रत्नराज्य क्याम्पसमा पत्रकारिता र अंग्रेजी साहित्यमा पनि भर्ना भए । चाह उही थियो, यी विषय फिल्मसँग नजिक छन् । त्यही बेला अरुण खन्नासँग चारमहिने फिल्म कार्यशालामा सहभागी हुने मौका मिल्यो ।

उनी सम्झन्छन्, ‘अरुण सरसँग पढेपछि फिल्मप्रतिको लगाव त बढयो नै, त्योभन्दा महत्त्वपूर्णचाहिं फिल्मप्रतिको सोच पनि बदलियो ।’ खासमा उनी बलिउडका मसलादार फिल्मका ‘डाइहार्ड फयान’ थिए तर ‘पाथोर पञ्चली’, ‘गडफादर’ जस्ता कालजयी फिल्म हेरेपछि त्यो ‘हयाङ’ हटेछ । किनभने ती फिल्म उडन्ते थिएनन्, जीवन र समाजसँग अति नजिक थिए । नरेशले आज पनि त्यही ‘लिगेसी’ पछाइरहेका छन् । 

तीन वर्षमा नरेशको नामको अगाडि डाक्टर थपियो, परिवारको सपना पूरा भयो । तर आफ्नै सपनाको गोरेटोसम्म खन्न पाएका थिएनन् । डाइरेक्टर बन्नु जो थियो । परिवारका लागि दुर्भाग्य, उनका लागि सौभाग्य । त्यही बेला ओस्कार कलेज खुल्यो । हत्तपत्त भर्ना भए । छोराले डाक्टरी चटक्कै माया मारेपछि घरमा भुइँचालो जानु स्वाभाविक भइहाल्यो ।

घरबाट पूरै नाकाबन्दी, त्यसैले पहिलो वर्ष साथीभाइसँग सरसापट गरेर भर्ना भए । दोस्रो वर्ष के गर्ने टुंगो थिएन ? समय उनकै पक्षमा उभियो । कलेज टप गरे, छात्रवृत्ति पाए । सुको तिर्नु परेन । त्यही वर्ष अर्थात् सन् २०१० मा विकास बोर्डले राष्ट्रव्यापी स्क्रिप्ट राइटिङ कम्पिटिसन आयोजना गर्‍यो । उनले लजाई–लजाई आफ्नो स्क्रिप्ट ‘युवा’ बुझाए । फिल्मको कखरा सिक्दै गरेका नरेश पहिलो भए, उनका गुरुचाहिं तृतीय । 

तेस्रो वर्ष पनि छात्रवृत्ति पाएरै ओस्कारको पढाइ सकियो । उनले हाँस्दै सुनाए, ‘ओस्कारमा पढेपछि फिल्मको संसार जानिन्छ जस्तो लागेको थियो । तर तीन वर्ष पढेपछि झन् धेरै पढ्न बाँकी रहेछ भन्ने महसुस भयो ।’ अनि फेरि घरमा एक खालको विद्रोह गरे र फिल्म मेकिङमा स्नातकोत्तर गर्न अमेरिकाको न्युयोर्क फिल्म एकाडेमी (एनएफए) पुगे । एक वर्ष आरामले पढे । अनि थाहा पाए, यूएससीको बारेमा ।

लालसा पलायो पढ्ने तर विश्वभरका फिल्म स्टुडेन्टको पहिलो रोजाइमा रहेको यूएससीमा भर्ना हुनु चानचुने कुरा थिएन । त्यहाँको ‘स्टुडेन्ट एसेप्टेन्स रेट’ हावर्डको भन्दा कम छ । तर सपना देख्न र संघर्ष गर्न बानी परेका नरेशले ‘ट्राई’ मारे । पहिलो पटक रिजेक्ट भयो । हार खाएनन् । दोस्रो पटकमा सेलेक्ट भए । उनी भावुक सुनिए, ‘आफ्नै बलबुताले पुगेकाले पनि होला, यूएससी छिरेको पहिलो दिनको खुसी व्यक्तै गर्न सक्दिनँ ।’ 

एक वर्षपछि चार महिनाका लागि ‘समर ब्रेक’ भयो । अमेरिकामै काम गरेर दस हजार डलर कमाउने कि नेपाल फर्केर फिल्म बनाउने ? चरम द्विविधामा फसे । पैसै कमाउनु थियो त, नेपालमै डाक्टरी गरिहाल्थे नि । उनलाई त फिल्म बनाउनु न थियो । त्यसैले दोस्रो विकल्प रोजे । 
यहींबाट सुरु हुन्छ, डाइङ क्यान्डलको कथा ।

सन् २०१३ मा सनडान्स स्क्रिप्ट कम्पिटिसनका बारेमा थाहा पाउँदा स्क्रिप्ट बुझाउने मिति तीन दिन मात्र बाँकी थियो । डाइङ क्यान्डलको मूल कथा यही अवधिमा लेखेर भ्याएका हुन उनले । नेपाल आउँदा खल्तीमा जम्मा ४ सय डलर थियो अनि फिल्मको बजेटचाहिं ५ लाख मात्र । एउटै घर र सीमित पात्रमा सकिने कथा न थियो । त्यसमाथि नुवाकोटको घरमै खिच्ने अनि भतिजलाई खेलाउने योजना थियो । भन्छन्, ‘त्यति बेला मलाई सिर्फ आफूले चाहेजस्तै फिचर फिल्म बनाउने तीव्र इच्छाशक्ति थियो । नेपालमा रिलिज गर्छु भन्ने सोचेकै थिइनँ ।’

तर विमल सुवेदी, निर्मल ज्ञवालीजस्ता मित्रलाई भेटेपछि फिल्मको आयतन बढयो, स्वरूप नै बदलियो । सुटिङ गर्न रसुवाको गत्लाङ पुगेपछि त बाहुन समुदायको कथा तामाङकोमा रूपान्तरण गरियो । मूल पात्रद्वयको नाम पनि परिवर्तन गरियो, दियाबाट छेमी (जुन तामाङ भाषाबाट दियो नै हो) अनि हिमालबाट टिप्के । यसको कथानक पृष्ठभूमि सशस्त्र द्वन्द्वभन्दा अगाडिको हो । त्यसैले ढुंगाको घर र काठको छत भएको गाउँ गत्लाङमा खिच्दा तत्कालीन समयको आभास गराउन सम्भव भएको छ ।

नरेशले अर्को जोखिम के मोले भने गत्लाङकै ११ वर्षीय फुच्चे लाक्पा सिङी लामालाई मुख्य भूमिकामा अभिनय गराएका छन् । राजधानीबाट करिब १ सय ५० किलोमिटरमा हुर्किएका लाक्पाले आक्कलझुक्कल फिल्म त हेरेका थिए, त अभिनय कसरी गरिन्छ, उनलाई पत्तै थिएन । तैपनि लाक्पा अडिसनबाटै छानिए ।

अनि तीन महिना प्रशिक्षण दिएपछि मात्र उनको ‘टेक’ लिइएको थियो । दिदीको भूमिकामा सिर्जना सुब्बा छिन् भने सौगात मल्ल र अर्पण थापा सहायक भूमिकामा । बजेट पुगेको छ ४५ लाख । पृष्ठभूमि संगीत बेलायतका डेल सम्नरले दिएका छन् भने अमेरिकाका जेम्स क्वानली कार्यकारी निर्माता । सिनेमाटोग्राफरचाहिँ भारतका दिपांकर सिग्देर हुन्, उनलाई रविन आचार्यले पनि साथ दिएका छन् । 

उसो त सुटिङ सकिएको तीन वर्षपछि मात्र डाइङ क्यान्डलले सिनेमाघरमा प्रवेश पाएको छ । ‘सुटिङ सकेपछि म अमेरिका फर्किएँ, पछि आएर सम्पादन सके,’ उनी कारण खोल्छन्, ‘अनि टेस्ट स्क्रिनिङ र फेस्टिभलमा पठाउँदा ढिला भइहाल्यो ।’ तैपनि उनलाई कुनै दुखेसो छैन । एक त यसको कथा बासी हुँदैन, अर्कातिर यसबीचमा कालो पोथी, सेतो सूर्यलगायतका मौलिक र कलात्मक फिल्म रिलिज भए, काफी चर्चा बटुले पनि । कालो पोथीले त चार करोडमाथि कलेक्सन गर्‍यो । कथावस्तु र कथा भन्ने शैली फरक भए पनि प्रवृत्तिगत रूपमा डाइङ क्यान्डल यही कोटिको फिल्म हो । त्यसैले रिलिजका लागि सही ‘टाइमिङ’ भएको उनको बुझाइ छ ।

भन्छन्, ‘व्यापारजस्तो होला तर नेपाली फिल्मको ‘न्यू वेभ’ मा डाइङ क्यान्डलको भूमिका प्रभावकारी रहन्छ भन्ने विश्वस्त छु ।’ यो फिल्म अमेरिकाको प्रतिष्ठित क्विन्स वल्र्ड फेस्टिभलमा तीन विधा नोमिनेसनमा परेको थियो, जसमा बेस्ट सिनेमाटोग्राफीको अवार्ड जित्यो पनि । अमेरिकाकै सिनेमा भर्डी फेस्टिभलमा ‘पिस अवार्ड’ जित्यो भने सेन्ट अगस्टाइन फेस्टिभलमा अफिसियल सेलेक्सनमा परेको थियो । अघिल्लो वर्ष चलचित्र विकाल बोर्डले यसलाई ‘विशेष फिल्म’ को अवार्ड दिएको थियो । 

जब नेपालमा रिलिजको मिति तोकियो, नरेशका नजिकका साथीले सौगात र अर्पणलाई ट्रेलर र पोस्टरमा प्राथमिकता दिन सल्लाह दिए, बक्सअफिसमा प्रत्यक्ष फाइदा पुग्छ भन्ने हेतुले । तर नरेशले लाक्पा र सिर्जनालाई मात्र ‘हाइलाइट’ गरे, सौगात र अर्पणको भूमिका जति हो, प्रमोसनमा पनि त्यतिमै सीमित राखे ।

सामान्य भाषामा भन्दा पोस्टरमा उनीहरूको बडेमाको टाउको राखेनन् । ‘फिल्म इमानदार भएर बनाइयो । अब रिलिजका बेला फटयाइँ गरेर किन दर्शकलाई झुक्काउनु ?’ उनी भन्छन्, ‘फिल्म मेरो पेसा मात्र होइन, धर्म पनि हो । कथा एउटा, प्रमोसन अर्को गरियो भने धर्मप्रतिको अपमान भइहाल्यो नि ।’ तर उनलाई हल्का दु:ख केमा लागेको छ भने प्रमोसनमै सघाउ पुग्छ भनेरै डाइङ क्यान्डलको जर्नी र डेब्यु निर्देशकको भोगाइलाई किताबको आकार दिएका थिए, ‘डाइङ क्यान्डल : इग्निसन टु इलिमिलेसन’ । तर बजेट र समय अभावको कारण यो किताब प्रकाशित गर्न सकेनन् । 

फागुनको दोस्रो साताबाट उनको दोस्रो फिल्म ‘रोमियो एन्ड मुना’ फ्लोरमा जाँदै छ । डाक्टरी र यूएससी मात्र होइन, समाजशास्त्र र अंग्रेजी साहित्यमा स्नातकोत्तर र शंकरदेव क्याम्पसबाट एमबीएस पनि गरिसकेका छन् उनले । यति धेरै शैक्षिक योग्यताका कारण पनि नरेश नेपाली फिल्मकर्मीबीचको आकर्षणमा परिरहेका छन् । उनी आफैं भने पढाइ र फिल्म मेकिङलाई दाँज्दै नमिल्ने बताउँछन् । उनको भनाइ छ, ‘मेरो मूल्यांकन पढाइबाट होइन, मेरा फिल्मबाट हुन्छ/हुनुपर्छ ।’ 

प्रकाशित : माघ २९, २०७३ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?