कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्नीको क्यामेरामा सुस्मिता सेन

कान्तिपुर संवाददाता

काठमाडौं — बलिउड नायिका सुस्मिता सेन सन् १९९४ की मिस युनिभर्स हुन् । भारतका लागि पहिलो पटक उक्त ताज जितेकी सुस्मिता दुई वर्षपछि ‘दस्तक’ फिल्ममार्फत बलिउडमा नायिकाको रूपमा छिरेकी थिइन् । पछिल्लोपटक ‘नो प्रोब्लम’ मा चार वर्षअघि फिल्म हलको पर्दामा देखिएकी सुस्मितालाई अझै पनि फेसन डिभाका रूपमा मानिन्छ ।

सन्नीको क्यामेरामा सुस्मिता सेन

उनै सुन्दर नायिकाको हालै दुबईको लेक्स भिल्लामा एक नेपाली फोटोग्राफर सन्नी प्रधानले आठ घन्टा लामो फोटोसुट गरेका छन् । प्रधान कार्यरत दुबईको मास्टरकपी फिल्म प्रोडक्सनले सुस्मिता सेनको एक भिडियो विज्ञापन बनाउने र फोटोसुटको जिम्मेवारी पाएको थियो । सन्नी फोटोग्राफर र डिजिटल इमेजिङ टेक्निसियनका रूपमा खटिएका थिए ।

‘सुट टाइट सेडयुअलमा गर्नुपरेको थियो,’ सन्नीले कान्तिपुरसँगको कुराकानीमा भने, ‘सुस्मिताको समय अभावका कारण १२ घन्टा लाग्ने कामलाई ८ घन्टामा सकाउनुपर्ने बाध्यता थियो । तर पनि उनले बेस्ट परफर्मेन्स दिइन् ।’ आफैं ब्रान्ड एम्बेसडरसमेत रहेको मिलानो वाटर प्युरिफायरको उक्त सुटका लागि सेन दुबई पुगेकी थिइन् । ‘नायिका आउनुअगावै हामीले लोकेसनको रेकी गरिसकेका थियौं भने म आफैंले सुट कन्सेप्टमा स्क्रयाच भिडियो तयार पारेको थिएँ,’ फोटोग्राफर प्रधानले सेलिब्रिटी भए पनि सुस्मितामा घमण्ड नरहेको आफूले अनुभव गरेको बताए ।

‘सुरुमा आउनेबित्तिकै उत्साहपूर्वक सबैसँग हाई, हेल्लो गरिन् । नहाँसेकालाई समेत स्माइल प्लिज भन्दै सबैसँग हात मिलाएर सुट आनन्दले गर्नुपर्छ है भनिन्,’ सन्नीले सेनसँगको काम गर्दाको अनुभव सुनाउने क्रममा थपे, ‘प्रत्येक सटको प्रिभ्यु तत्कालै हेर्थिन् र चित्त नबुझेको ठाउँमा यसरी गरौं न भनेर आफ्नो विचार राख्थिन् ।’ फोटोग्राफर सन्नीले त्यसरीभन्दा पनि नायिकाले भिडियो निर्देशक वा क्यामेराम्यानलाई अप्ठयारो नलाग्ने गरी मिजासिलो हिसाबले भन्ने पनि सुनाए । त्यसो त कुनै बेला अरूकै कारण रि–टेक दिनुपरे पनि दिक्क नमान्ने सुस्मिताले कतिपय सट निर्देशकले स्वीकृत गर्दा पनि अझै राम्रो गरौं न भन्दै सट दिएको पनि उनले बताए ।

स्वभावत: सुस्मितालाई सन्नीले ८ घन्टाको मूल्यांकनमा ‘डाउन टु अर्थ’ पाएको बताए । उनले भने, ‘चिया लिएर आउनेदेखि निर्देशकसम्मलाई हाँसेर व्यक्तिगत कुरामा पनि चासो लिएर सोध्ने गर्थिन् । मसँगै सेल्फी खिच्ने क्रममा पनि उनी आफैंले मेरो मोबाइल मागेर खिचेकी थिइन्,’ सेनले आफ्नो कामको समेत तारिफ गरेकोमा सन्नी दंग परे । खिचिएका फोटो हेर्दै सुस्मिताले ‘फोटो हेर्दा नै यति मजाको छ झन् रि–टच गरेपछि कस्तो आउला भनेर छक्क परेर सोचिरा’छु’ भन्दै उत्साहित बनाएको पनि सन्नीले भने । सुस्मितालाई सट दिँदा म्युजिक बजाउनुपर्ने अनौठो बानी रहेछ । ‘उनले नै ल्याएकी मेकअप आर्टिस्टले नै सट दिनुअघि म्युजिक बजाइदिन्थे । त्यही तालमा उनले खुलेर सट दिन्थिन् । सेन आफैंले नै म्युजिकको बिटमा सट दिँदा धेरै मज्जा लाग्छ भन्दै हामीलाई सुनाएकी थिइन्,’ सन्नीले सेनसँगको फोटोसुट आफ्ना लागि अविस्मरणीय रहेको जिकिर गरे ।

प्रकाशित : फाल्गुन ४, २०७३ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?