२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पूर्वमा प्रणय उत्सव

कान्तिपुर संवाददाता

इटहरी — भ्यालेन्टाइन्स डे तन्नेरी पुस्ताको उत्सवको रूपमा स्थापित हुँदै छ । इटहरीमा भने योपटक उमेरले नेटो काटिसकेका वृद्धहरूले पनि आफ्नो रचनामार्फत आफ्नी प्रेमिकालाई सम्झन भ्याए । यस्तो अवसर इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा माघ २८ बाट सुरु बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सवको पाँचौं दिनमा जुर्‍यो ।

भ्यालेन्टाइन्स डेको अवसर पारिएको कार्यक्रममा ज्येष्ठ नागरिकहरूले पनि प्रेमका कविता वाचन गरे ।

‘जाउँ कान्छी रमाउँदै भ्यालेन्टाइन डे मनाउँदै
तिमी र म मिलेर मायाले गाला जोडाउँदै ।
एक पोल्टो काफल दिउला कुटुकुटु खानलाई
डराइरहनु पर्दैन मिठो माया लाउनलाई...’

७१ वर्षे कवि खेमराज शर्माले प्रेमको कविता सुनाउँदा हल ताली र सिटीले गुन्जयमान भयो । पाकाका प्रणय कविता सुनेर युवाहरू जोसिएका थिए । ७१ वर्षे कविको पालो सकिनासाथ अर्का ९० वर्षका कवि खड्ग खतिवडाले पनि प्रेमका कविता सुनाएर माहोललाई झन् गर्मिलो बनाए । उनी युवालाई छाडा नभई गहिरो प्रेम गर्न सम्झाइरहेका थिए । कृष्णराम अधिकारी, खेमराज शर्मा, राज आशातीत, नवराज मैनाली, जीबी गजल, विशालजी अनन्त, रामप्रसाद खरेल, पुण्यप्रसाद पराजुली, किरण शिवा, सीताराम सुचारु, मणि श्रेष्ठ, भावना श्रेष्ठ, विशालजी अनन्त, संघर्ष क्षेत्री, देवान किराँती, विराट अनुपम, हेमलता खनाल, निलम फुँयाल, विष्णु भण्डारी, शकुन्तला मञ्जरी, टीका मिलन, विवेक विवश रेग्मी, निर्मला अधिकारी, चन्द्रावती, पौडयाल, अर्जुन दाहाल, जयप्रसाद तिम्सिना र दुर्गा पराजुलीले पनि प्रेम रचना वाचन गरे । 

वाटिका युवा परिषद् नेपालका नवीन श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा युवासँगै पाकाहरूको उत्साहजनक सहभागिता रह्यो । डिकुरा पब्लिकेसन र रेस मिडियाले गरेको प्रदर्शनी एवं महोत्सवमा हरेक दिन विभिन्न साहित्यिक प्रस्तुतिहरू हुँदै आएका छन् । शनिबारसम्म जारी रहने प्रदर्शनीमा १६ वटा सेसन राखिएको डिकुराका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले जनाए । 

प्रकाशित : फाल्गुन ४, २०७३ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?