कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सौराहामा ‘दिक्तेल बजार...’

विमल खतिवडा

सौराहा — अघि–पछिभन्दा मंगलबार सौराहा खचाखच थियो । जब साँझ पर्दै गयो तब भीडभाड बढदै गयो । मंगलबार भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । यो दिन प्रेम जोडीका लागि खास दिन भएकाले जोडी बाँधेर आउनेको कमी थिएन ।

सौराहामा ‘दिक्तेल बजार...’

त्यसो त भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै क्षेत्रीय रेवानले ११ औं सौराहा फुड फेस्टिभलको आयोजना गरेपछि जोडीका लागि माया साटासाट गर्न सहज भयो । सौराहाको प्रवेशद्वार सिसुवार खेल मैदानमा भएको फुड फेस्टिभलमा आगन्तुकको दैनिक भीड लाग्यो । जुन ठाउँलाई रंगीचंगी बनाइएको थियो ।

बेहुलीजस्तै सजिएको यो ठाउँमा मंगलबार मध्यरातसम्म जोडीहरु गीतसंगीतमा झुमे । सौराहा रातभर जाग्यो । सुरुका दिनमा लोकदोहोरी गायक बद्री पंगेनी, मिलन लामा, राजन गुरुङ, शान्तिश्री परियार, शिरीष देवकोटा, प्रजापति पराजुली, कमल खत्री, माण्डवी त्रिपाठी, जीवन दाहाल, लक्ष्मी नेपालीले लोकदोहोरी, आधुनिक र पप गीतमार्फत दर्शकलाई नचाए । तर मंगलबारका आकर्षण भने गायक राजेशपायल राई, रमेशराज भट्टराई, लोकदोहोरी गायक पशुपति शर्मा, चोलेन्द्र पौडेल, दुर्गा सापकोटा, सम्झना भण्डारी बने । 

फुड फेस्टिभल स्थलमा दर्शक भरिभराउ थिए । राति अबेरसम्म दर्शक आउने क्रम रोकिएन । सुरुवातमा दुर्गा, सम्झना, चोलेन्द्र प्रस्तुत भए । लगत्तै स्टेजमा देखा परेका पशुपतिले आधा दर्जनभन्दा बढी गीत गाउँदै दर्शकलाई छमछमी नचाए । रमेशराजले पनि दर्शकको चाहअनुसार गीत गाउँदै नाच्ने अवसर गुमाएनन् । जति रात छिप्पिँदै जान्थ्यो त्यति दर्शक प्रतिस्पर्धा गर्दै नाच्न व्यस्त हुन्थे । राति ९ बज्नै लाग्दा गायक राजेशपायल स्टेजमा देखा परे । दर्शकदीर्घाबाट ‘सागर सरी..’ ‘मत मर्छु क्या हो ठूली....’ गीत एकोहोरो गुन्जियो । तर उनी भावुक गीत गाउँदै स्टेजमा प्रस्तुत भए । सुरुवात ‘नाइँ नभन्नु ल...’ , ‘तिमीले बाटो फेर्‍यौ अरे...’ गाए । दर्शक भावुक बने । लगत्तै दर्शकको फर्माइसमा ‘मत मर्छु कि क्या हो ठूली..’ गीत गाउँदै चिसोमा न्याना लुगा लगामा सजिएका दर्शक छमछमी नाच्न थाले । नाच्दै गाउन व्यस्त उनलाई पसिना छुटयो । कोट खोलेर टिसर्टमा गाउन व्यस्त भए । ‘यस्तो कार्यक्रममा पहिलोपटक सौराहा आएको हो, राति अबेरसम्म यति धेरै दर्शक बसेको कतै देख्न पाइँदैन थियो,’ उनले दर्शकको भीड हेर्दै भने, ‘खुसी छु, तपाईंहरुलाई नचाउनेछु ।’ 

लगत्तै उनले ‘दर्शन नमस्ते...’, ‘मोहनी लाग्ला है...’, ‘एक्कासि दुक्कासी....’ गीत गाए । दर्शकको भीड झन् बढ्न थाल्यो । जहाँ बसेका छन् त्यही उठदै नाच्न थाले । उनले ‘सागर सरी चोखो माया...’, ‘दिक्तेल बजार..’, ‘मैना राजा मैना रानी..’ गाउँदै दर्शकलाई जाडो बिर्साए । ‘दर्पण छाया २’ को ‘आकाशैमा...’ गीत गाउँदै दर्शकको मन जिते । डेढ दर्जन बढी गीत गाउँदै दर्शकलाई राति साढे १० बजेसम्म कम्मर मर्काउने अवसर दिए । उनीपछि पुन: गायक रमेशराजले ‘बबाल भो...’ गीत गाउँदै माहोल तताए । माघ २९ देखि सुरु फुड फेस्टिभल बुधबारसम्म चल्यो । बुधबारको आकर्षण गायिका शशी रावल, मञ्जु विक, रमेशराज र चोलेन्द्रले गीतमार्फत दर्शकलाई मनोरञ्जन दिलाए । स्थानीय कलाकारले समेत दर्शकको मन जित्ने काम गरे । फुड फेस्टिभलमा खानाका परिकारले दर्शकको ध्यान तान्ने काम गर्‍यो । 

प्रकाशित : फाल्गुन ६, २०७३ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?