२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राजधानीमा आनाको कथा

सजना बराल

काठमाडौं — दोस्रो विश्वयुद्धका बेला अडोल्फ हिटलरले यहुदीहरूको हत्या गर्दा दुई जर्मन परिवार नेदरल्यान्ड्समा लुकेर बसे । डच नागरिककै सहयोगमा फ्रंक र भानडान परिवार एम्स्टरड्याको एउटा घरमा लुकेका थिए ।

राजधानीमा आनाको कथा

सन् १९४२ देखि १९४४ सम्म एकै ठाउँमा बस्दाको अनुभव र त्यस बेलाको सामाजिक वस्तुस्थितिबारे १३ वर्षीया आना फ्रंकले डायरी लेखेकी थिइन् । ‘द डायरी अफ योङ गर्ल’ नाममा छापिएको उनको पुस्तक विश्वप्रसिद्ध छ ।

त्यही लेखमा आधारित भएर बनाइएको ‘द डायरी अफ आना फ्रंक’ नामक नाटक शनिबार र आइतबार पाटनको रातो बंगला स्कुलमा प्रर्दशन गरियो । नाटकमा नाजी जर्मनले नेदरल्यान्ड्समाथि कब्जा जमाएको बेलाको भयावह अवस्थालाई चित्रण गरिएको छ । भित्तामा कालो स्वस्तिक छाप र पहेंलो तारा अंकित चित्र टाँगिएको सेटमा फ्रंक र भानडान परिवार जसोतसो अटाएको देखाइन्छ । दुई परिवारका आठ सदस्य आपसमा लडदै–भिडदै ‘एड्जस्ट’ गरिरहेका हुन्छन् । उनीहरूको दैनिकी स्वाभावैले कठोरतापूर्वक चलेको हुन्छ ।

दु:खका बेला धैर्य र सामूहिक एकता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा नाटकमार्फत बुझ्न सकिन्छ । एक व्यक्तिले बिराउँदा सम्पूर्ण समूहलाई नै असर पर्छ । नियमित रासन पाउन छोडेपछि परिवारमा अनिकाल आउँछ । त्यही बेला मिस्टर भानडानले पाउरोटी चोरेर खाइदिन्छन् । साना केटाकेटी आधा पेट सुतेका बेला अभिभावकले नै त्यस्तो हर्कत गरेको थाहा पाएपछि सबै रुष्ट हुन्छन् । अरू बेला सधैं शान्त र धैर्यशील रहने मिसेस फ्रंकसमेत रौद्र रूपमा प्रस्तुत हुन्छिन् ।

वान वल्र्ड थिएटरले तयार पारेको नाटकलाई डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् । यसअघि होटल वज्रको नागा थिएटर र पाटनकै यलमाया केन्द्रमा नाटक मञ्चन गरिएको थियो । यसमा आनाको भूमिका रोजिता बुद्धाचार्यले निर्वाह गरेकी छन् भने उनको बुबा बनेका छन्, राजकुमार पुडासैनी । मिसेस फ्रंकका रूपमा रोज स्विट्ज, मिस्टर र मिसेस भानडानमा गोपाल अर्याल र लुनिभा तुलाधर छन् । आशान्त शर्मा, सिमरन गिरीय, अमृत दाहाल, अलिजे बियानिक, भिन्सेन्ट जियानोट्टि र हिमांशु अग्रवालले पनि अभिनय गरेका छन् ।

‘विपतका बेला साहस र धैर्यपूर्वक काम गर्न सकिन्छ भन्ने कुरा नाटकमा समेटिएको छ,’ निर्देशक मेरोलाले भनिन्, ‘मैले टिनएज हुँदै आनाको भूमिका निर्वाह गरेकी थिएँ । आफ्नै परिचय बनाउने उनको सपनाले मलाई छोएको थियो ।’ नेपाली युवतीमा पनि त्यो चाह बढिरहेको परिस्थितिमा नाटक सान्दर्भिक हुने ठानेको उनले बताइन् । 

प्रकाशित : फाल्गुन १७, २०७३ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?