आठ वर्षपछि एक्सिस

सजना बराल

काठमाडौं — तेह्र वर्षमा तीन वटा एल्बम । थोरै गाउँछ एक्सिस ब्यान्ड । गाएका लगभग सबै गीत चलेकै छन् । यसपालि आठ वर्षपछि तेस्रो एल्बम ‘घरगाउँ’ निकालेको छ । यसका केही म्युजिक भिडियो युटयुबमा आइसकेका छन्, प्रतिक्रिया राम्रै छ । हप्तामा एउटा गीत निकाल्नसमेत ‘दिक्कत’ नहुने जमाना छ अहिले ।

ब्यान्ड भने लामै जोखाना हेरेपछि मात्रै गीत सार्वजनिक गर्छ । यो ढिलासुस्ती किन ? बेसिस्ट रोमित श्रेष्ठ भन्छन्, ‘प्रपर म्युजिकसहित बाहिर आउन समय लाग्छ । श्रोताको रुचि, माग सबै बुझ्नुपर्‍यो । टाइम त लागिहाल्छ ।’

त्यसमाथि ब्यान्डका पाँचैजना आआफ्नै कर्मक्षेत्रमा व्यस्त । भोकलिस्ट सन्दिप बिक बेलायततिर अडकिए । रोमित इन्टेरियर डेकोरेसनमा लागे । अरू सदस्यको हाल पनि उस्तै । कोही त ब्यान्ड नै छोडेर बिदेसिएछन् । तेस्रो एल्बमसँगै नयाँ लाइन अपसहित देखा परेको छ, एक्सिस ब्यान्ड । थपिएका सदस्य, गिटारिस्ट बिजु कर्माचार्य, सौरभ राजभण्डारी र ड्रमर कविन शाक्यसँगै सन्दिप र रोमित फागुन १९ मा अस्ट्रेलिया उडेका छन् । निकै लामो ग्यापपछि एक्सिसले कन्सर्ट गर्न थालेको हो । ‘नयाँ एल्बम रिलिज गर्दा जाउलाखेल ग्राउन्डमा पर्फम गरेका थियौं,’ अस्ट्रेलिया जानुअघि गायक सन्दिपले भने, ‘धेरैपछि आफ्नो ब्यान्डसँग उभिन पाउँदा रमाइलो लाग्यो ।’

ब्लुज र रक वरिपरि खेल्ने ब्यान्डले यसपालि पनि मूलत: त्यस्तै प्रकृतिका कम्पोजिसन बाहिर ल्याएको छ । तर, फ्लेभर भने बेग्लै छन् । रोमितका अनुसार पेनड्राइभवाला एल्बममा स्लो रक र हेभी मेटल मिसिएका गीत छन् ।

‘एटीएम कार्डको साइजमा एल्बम कभर डिजाइन गर्‍यौं,’ उनले भने, ‘त्यसमै पेनड्राइभ जोडिएको छ ।’ कुल ६ वटा गीत अटाइएकोमा ‘मेरो प्रेम...’, ‘तिम्रो त्यो मुस्कान..’ र ‘एकचोटि...’ को भिडियो बनिसकेको छ । अहिलेको जेनेरेसनलाई नै हेरेर म्युजिक कम्पोज गरिएको रोमितले सुनाए । 

सन् २००० मा स्थापना भएको थियो, एक्सिस ब्यान्ड । नोबल कलेजमा पढदै गर्दा सदस्यहरू जुटे । अनि विभिन्न प्रतियोगितामा भाग लिने क्रम सुरु भयो । एक्स्पो बिट मास्टर, क्लोज अप म्युजिक कन्टेस्ट, सडक महोत्सवजस्ता कम्पिटिसनमा पहिलो स्थान हासिल गर्‍यो । सन् २००४ मा ‘ब्ल्याक एन्ड हाइट’ एल्बम निकालेपछि एक्सिसलाई युवा जमातले निकै रुचाए ।

ब्यान्डको ‘मेरो प्रेम अधुरो...’, ‘हे मोरी काली न गोरी...’, ‘तिमी फेरि आऊ न...’ जस्ता गीत त्यो बेला निकै चलेका थिए । सन् २००९ मा ‘माफ गर’ एल्बम निकालेपछि ब्यान्ड हराएजस्तै भयो । सदस्यहरू छरिए । यद्यपि, बेलाबेला फिल्मका ओएसटी भने गाइरहेको रोमित बताउँछन् । सन्दिपचाहिँ पहिले जे भयो, भयो अब ब्यान्ड फूर्तिलो हुने दाबी गर्छन् । 

‘म बाहिर छँदा धेरैले सोधीखोजी गर्नुहुन्थ्यो,’ उनले भने, ‘सोलो कन्सर्टका लागि बोलाउनेहरू पनि थिए । तर, ब्यान्डसँगै गर्छु भनेर कतिपय अफर रद्द गरेँ ।’

नेपाली संगीतको माहोल फेरिएको देख्दा आफूलाई रमाइलो लागेको उनले सुनाए । यो नयाँ वातावरणमा गाउन मज्जा लागिरहेको भन्दै उनले तीनहप्ते अस्ट्ेरलिया भ्रमणपछि नेपाल नै आउने वाचा गरे । 

प्रविधिले दूरी घटाइदिएको छ । एक्सिस यो सुविधाको उपभोग गर्न चाहन्छ । काम विशेषले सदस्यहरू बाहिरिनुपरे पनि ब्यान्डलाई सक्रिय बनाइराख्ने सोच रहेछ ।

‘फेसबुक पेज र युटयुब च्यानल खोलेका छौं भर्खरै,’ रोमितले भने, ‘अपडेट गरिरहन्छौं । त्यति भए श्रोतालाई हामी काम गरिरहेका छौं भनेर थाहा हुन्छ ।’ त्यसो त देखाउन मात्रै काम गर्ने होइन ब्यान्डले । त्यसमाथि सबै प्रोफेसनल सदस्य भेला भएका छन् अब त । संगीतलाई सिरियस्ली नै अघि बढाउनुछ । र, यसै गरिने सन्दिप र रोमितले बताए ।

‘अब हामी सँधे एक्सनमै हुनेछौं,’ उनीहरूले भने ।

 

प्रकाशित : फाल्गुन १९, २०७३ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

आफ्नै थलोमा रमाउँदै पूर्वेली संगीतकर्मी

कुम्भराज राई

ओखलढुंगा — ‘रिटिङ रिटिङ नबजाऊ बिनायो...’ बोलको गीतको यो अन्तरा गाउँदा अहिले पनि ८२ वर्षीय एलपी जोशी मच्चिएर कुम हल्लाउँछन् । बूढाहरू त के युवाहरूले समेत उनको गीतमा साथ दिन्छन् । २०३० को दशकमा खुबै चर्चित भएको यस गीतबाहेक उनका दर्जनौं गीत छन् । रेडियो नेपालको जमानामै चर्चित एलपी जोशी पूर्वमै बसेर संगीत सिर्जना गर्ने पुराना संगीतकर्मी हुन् ।

सरसर मदानी सर
पोईको घर नजाने को छ र
साइँला दाइ आइयाया आकाका...

उनी झापाको दमकमा बस्छन् । खाली समयमा घर व्यवहार, छोरा नातिलाई सहयोग गर्नेदेखि लिएर पसलमा समेत भेटिन्छन् । तर बाँकी समय सांगीतिक कार्यक्रममै हुन्छन् ।

‘भर्खरै इटहरीमा एउटा टेलिभिजनले लाइफटाइम अचिभमेन्ट अवार्ड दियो,’ जोशीले टेलिफोनमा भने, ‘त्यसपछि  इमेज च्यानलमा लोक गीतको कार्यक्रमको जजमेन्ट गरिदिन निम्तो थियो । तर राजधानीबाहिर भएकोले सक्दिनँ भनेँ ।’

जोशीले आफूलाई पूर्वमै रमाइलो लाग्ने बताए । राजधानीले मोफसलका कलाकारलाई प्राय:जसो बेवास्ता नै गर्ने गरेको उनको आरोप छ । तर कसैलाई दोष दिनु छैन रे उनलाई । आफ्नै गाउँघरमा रमाउनुको छुट्टै मज्जा भएको उनले बताए । पूर्वका महोत्सव, सांगीतिक कार्यक्रममा बुढेसकालमा भए पनि युवा जोस लिएर जोशी कुदिरहन्छन् ।

इलामको श्रीअन्तुमा बस्ने गायक कुवेर राईलाई टेलिफोन गर्दा, ‘हैन हौ भाइ, म त गाउँमा सडक खन्ने योजनाको काम पो गर्दै छु,’ राईले भने, ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजनाको कामले अलिकति भुलायो ।’ कहिले चियाबारीमा चिया टिप्दै, कहिले घरायसी काममा व्यस्त भेटिने कुवेर पनि गाउँबाटै उदाएका गायक हुन् । उनले श्रीअन्तुमै बसेर गीत सिर्जना गरे । त्यहीँ बसेर तयार गरेको गीतले चर्चित भए । ‘मायाले मूलबाटो भुलेछ, नौ रंगी फूलबारी देखेर..’ जस्ता उनका गीत अझै लोकप्रिय छन् ।

गाउँमै बसे पनि आफूलाई देशविदेशबाट कार्यक्रमका लागि प्रस्ताव आउन नछोडेको कुबेरलेबताए । गाउनकै लागि धेरै देश गइसकेका उनले भने, ‘मोफसलमा बसेर नि नेपाली संगीतमा छाप छोड्न सफल भएको छु । मलाई कुनै पछुतो छैन ।’

उनकै गाउँले मानसिं थुलुङ पनि विगत चार वर्षदेखि श्रीअन्तुमै छन् । दर्जनौं चर्चित गीतहरूको कम्पोज गरेका मानसिंको एउटै गीत सधंैको परिचायक बन्यो । ‘हाँसिराख न माया, बोलिराख न...’ बोलको गीत उषाकिरण अधिकारीसँग गाएका गायक थुलुङले पनि ‘गाउँघरका मान्छेले जे काम गर्छन्, हिजो आज त्यही पो गरिन्छ हौ ।’ भन्दै कुवेरकै लयमा जवाफ फर्काए । उनले ‘वेस्टर्न अर्केस्ट्रा’ मा समेत रुचि र ज्ञान भएकोले फुर्सदको समयमा गाउँका युवाहरूलाई सिकाउने गरेका छन् । उमेरले ६ दशक पूरा गरिसकेको छ । उनलाई राजधानी छोडेपछि सबैले बिर्सिसकेका छन् । 

‘छपनीले छान छान, डबकीले हान...’ गीतका गायक गंगा वरदान पनि प्राय: धरानको गल्ली र सडकमै भेटिन्छन् । ‘कहाँमा काट्यो बेतको लौरी..’ बोलको उनको गीत दार्जिलिङका गायक विपुल क्षेत्रीले चोरेर गाएपछि हिजोआज अलि दु:खी छन् । ‘कम्ती दु:खले मैले जमानामा गाएको गीत उनले मलाई एकचोटि पनि नसोधी गाएँ,’ वरदानले भने, ‘एकचोटि सरीसम्म भनेनन् ।’ प्राय: धरान र आसपासका कार्यक्रममा भेटिने वरदान आफूलाई पूर्वबाटै परिचित हुन पाएकोमा दंग छन् ।

राजधानीमा त दमदार गायकहरूको भन्दा खोक्रो संगीतले बढावा पाएको उनले आरोप लगाए । उनी सबै गीत धरानमै तयार गर्छन् । गीत रेकर्ड गर्नेलगायतका कामका लागि मात्र राजधानी जाने गरेका उनी अहिले पनि रेकर्डिङका लागि उतै जाने सोचमा छन् । ‘छिट्टै जाउँ भनेको यहाँभन्दा उता धेरै धुलोमैलो छ रे ।’ वरदानले भने, ‘महिनादिन पछि जान्छु होला ।’

प्राय: जुनसुकै क्षेत्रमा लोकप्रिय र चर्चित हुनका लागि राजधानी पस्नैपर्छ भन्नेहरूका लागि उनीहरू अपवाद हुन् । जसले पूर्वका गाउँघरमै बसेर नेपाली लोक, आधुनिक संगीतलाई देशविदेशसम्म लोकप्रिय बनाउन सफल भएका छन् । उनीहरू मात्र होइनन् । कतिपय संघर्षरत नयाँ पुराना स्रष्टाहरू गाउँघरबाटै आफ्नो अनेक सिर्जना जन्माइरहेका छन् । यी पुराना र चर्चित स्रष्टाहरूको एउटै सामूहिक विचार छ, ‘पूर्वबाटै उदाइयो, पूर्वमै अस्ताउने रहर छ । राजधानी खाल्डोमा भन्दा बाहिरै धेरै माया पाइएको छ ।’

प्रकाशित : फाल्गुन १९, २०७३ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT