२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हाकु कालेले लुटे दर्शकको मन

कान्तिपुर संवाददाता

लन्डन — पहिलोपटक बेलायत आएका नायक सौगात मल्ल (हाकु काले) दुई साता लामो बसाइमा अनगिन्ती सम्झना लिएर सोमबार नेपाल फिरेका छन् ।

हाकु कालेले लुटे दर्शकको मन

बेलायतमा नेपाली चलचित्रप्रेमी उनको कल्पनाभन्दा उल्लेख्य भेटिए । ‘नेपाली फिल्म मन पराउने दर्शकहरू बेलायतमा अत्याधिक हुनु हुँदो रहेछ,’ सौगातले कान्तिपुरसँग भने, ‘यसले नेपाली चलचित्रको बजार भविष्य अन्तर्राष्ट्रिय क्षेत्रमा उज्ज्वल रहेको संकेत दिन्छ ।’ 

सौगातको यसपटकको भ्रमण ‘लुट २’ को प्रवद्र्धन र भेटघाटमै बित्यो । घुमेका ठाउँमध्ये लन्डनब्रिज, कर्नवाल उनलाई औधि मन परेछ । ‘अन्य कतिपय ठाउँको त नाम नै याद भएन,’ उनले भने, ‘यसपटक फिल्म सो र भेटघाटले समय बित्यो ।’

नेपाल फर्किएर अर्जुनकुमारको ‘फाटेको जुत्ता’ सहित केही प्रोजेक्टमा व्यस्त रहने उनले सुनाए । कलाकारद्वय दयाहाङ राई र सौगात मल्ल नेपाल उड्नु अघिल्लो दिन आइतबार सफारी सिनेमा हल, हयारो लन्डनमा ‘लुट २’ प्रदर्शनका क्रममा दर्शकमाझ झुल्किए । आफ्नो फिल्म हेर्न दर्शक ओइरिएको देखेर ती कलाकार दंग देखिन्थे । 

‘बेलायत बसाइ साँच्चिकै अविस्मरणीय रह्यो,’ सौगातले थपे, ‘दर्शकहरूसँगै बसेर फिल्म हेर्न पाउँदा ज्यादै रमाइलो लाग्यो ।’

सफारी सिनेमा हलको सो हेर्न झन्डै चार सय दर्शक उपस्थित थिए । कलाकारहरूसँग तस्बिर खिचाउन दर्शकहरू तँछाडमछाड गरिरहेका देखिन्थ्यो । पहिलो पटक अल्डरसट प्रिन्सेस हलमा भएको रेड कार्पेट प्रिमियर सो पनि हाउसफुल थियो । दयाहाङले पनि बेलायत बसाइ उपलब्धिमूलक रहेको बताए । उनले नेपाली फिल्म मन पराइदिने दर्शक र आफ्नो फिल्म बेलायतमा प्रदर्शन गर्ने गोर्खा वरियरप्रति आभारसमेत व्यक्त गरे ।

प्रकाशित : फाल्गुन २५, २०७३ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?