कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउडका घनिष्ठ

रणवीर सिंह र अर्जुन कपुरलाई बलिउडका बेस्ट बडिज मानिन्छ । यी दुईको मित्रता यति प्रगाढ छ, उनीहरूले एकअर्कासँग कुरा नगरेको दिन हुँदैन ।

बलिउडका घनिष्ठ

‘गुन्डे’ का यी दाजुभाइलाई स्क्रिनमा समेत खुब रुचाइन्छ । रणवीरले एउटा भारतीय पत्रिकासँग भनेका थिए, ‘हामी जथाभावी कुरासमेत गर्छौं । अनि वाहियात म्यासेजहरू आदनप्रदान गर्दै मरीमरी हाँस्छौं ।’ 

रणवीर र अर्जुन बेलाबखत एकअर्काको खुलेर प्रशंसा गरिरहेका हुन्छन् । रणवीरका अनुसार अर्जुन धेरै कुरा जान्दछन्, हँसिला र ज्ञानी छन् । अर्जुन यति चित्ताकर्षक छन्, गफ गर्न थालेपछि छुट्टिनै मन लाग्दैन रे । ‘उनी कोठामा छिरेपछि हजार वाटको बत्ती बालेझैं गरी माहोल चम्किन्छ,’ रणवीरले भने, ‘उनी वास्तवमै गज्जब मान्छे हुन् ।’ आफूहरूबीच धेरै कुरामा समानता भएकाले बात मार्ने विषयको कहिल्यै खडेरी नपर्ने उनले बताए । 

अर्जुनलाई भने आफूहरूले मित्रताको नाता जोगाइराख्न सकेकामा गर्व लाग्छ । व्यावसायिकताका नाममा सम्बन्धहरू सतही हुने फिल्मी जगत्मा आफूहरू उदाहरण बन्न खोजेको उनले बताएका छन् । ‘हामी दुई जना उस्तै–उस्तै छौं,’ उनले भने, ‘र, फरक पनि छौं । यद्यपि, हाम्रो बोन्डिङ अचम्म खालको छ । कामबाहेक अरू कुरामा पनि हामी मिल्छौं । त्यसैले हाम्रो सम्बन्ध दह्रो बनेको हो ।’

एकअर्काको कामको सराहना गर्ने बानी त छँदै छ, उनीहरू व्यक्तिका रूपमा पनि एकअर्काको सम्मान गर्छन् । ‘हाम्रो व्यक्तित्व बिलकुल भिन्न छ,’ अर्जुनले भने, ‘तर, रुचि खुब मिल्छ । उनलाई जुन प्रकारको सिनेमा मन पर्छ, मलाई पनि त्यस्तै मन पर्छ । उनका र मेरा रुचिहरू उही छन् । दुई फरक व्यक्ति कतिसम्म समान हुन्छन् भन्ने कुरा हामीलाई हेरे थाहा पाइन्छ ।’ 

फिल्म क्षेत्रमा आउनुअघि नै उनीहरू राम्रा साथी थिए । ‘गुन्डे’ को सहकार्यपछि दुईबीचको सम्बन्ध थप मौलायो । अर्जुनका काका अनिल कपुरका कारण पनि उनीहरूको निकटता बढेको बताइन्छ । रणवीर अनिलका ठूला प्रशंसक हुन् । दुवै भतिज पुस्ता अनिलको नक्कल गरिहिँड्छन् । कतिपय कार्यक्रममा उनीहरू एकसाथ एमसी गरिरहेका देखिन्छन् । 

मित्रताको जति चर्चा गरे पनि बलिउडमा सम्बन्ध टिकाउन निकै मुस्किल पर्छ । रणवीर र अर्जुनबीच पनि एकताका फाटो आइसकेको थियो । रणवीरकी तत्कालीन गर्लफ्रेन्ड अनुष्का शर्माका कारण उनीहरूको ब्रोमान्स झन्डै टुटयो । ‘लुटेरा’ फिल्मको छायांकनका क्रममा रणवीर सोनाक्षी सिन्हासँग नजिक भएका थिए । त्यही बेला अनुष्का अर्जुनसँग समय बिताउन थालिन् । रणवीर भाउन्निए ।

त्यो बेला रणवीर–अर्जुनले एकसाथ सुटिङ गर्न समेत नमानेको हल्ला बलिउडमा फैलेको थियो । तर, यस्ता कुराहरू प्रायोजित भएको अर्जुनको दाबी छ । उनले आफूहरूबीच फाटो ल्याउन खोज्ने धेरै भएकाले जे पायो त्यही कुरा बाहिर आउने गरेको बताएका छन् । ‘हामीबीच मनमुटाव भएको कुरा हामीलाई नै थाहा छैन,’ रणवीरकै पार्टीमा भेटिएका बेला अर्जुनले भनेका थिए, ‘मैले उनलाई चिनेको वर्षौं भइसक्यो । फिल्म सफल भएका बेला उनी कहिलेकाहीं मेरै घरमा आएर पार्टी गर्छन् । हामीबीच शीतयुद्ध चल्ने कुरै भएन ।’

रणवीरले पनि अर्जुनकै बोली दोहोर्‍याउने गरेका छन् । आफूहरूबीच झगडा गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । 

प्रकाशित : चैत्र ३, २०७३ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?