१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लोकनृत्यमा मितेरी साइनो

काठमाडौं — ठ्याक्कै नेपालकै हिमाली क्षेत्रबाट आएका जस्तै कलाकारको टोली । भेषभूषा पनि लगभग उस्तै । तर, उनीहरू भारतको अरुणाचल प्रदेशबाट आएका थिए । भुकृटीमण्डपस्थित पार्कमा शुक्रबार यो टोलीले लोकनृत्य प्रस्तुति दियो । उनीहरूलाई नेपाली लोक कलाकारहरूले पनि साथ दिए । दुई देशका लोक नृत्यमार्फत कलाकारहरूले मितेर साइनो गाँस्ने कोसिस गरे ।

लोकनृत्यमा मितेरी साइनो

नेपाल–भारत मानव विकास एवं मैत्री संघले यस्तो अवसर जुराइदिएको हो । अरुणाचल प्रदेशको मन्पा जातिको परम्परागत तोवाङ गायन एवं नृत्य निकै रोचक थिए । बौद्ध धर्मावलम्बीको १२ वर्ष चक्रअन्तर्गतको सेर्तुक्पेन समुदायको बार्दोछाम नृत्य पनि लोभलाग्दो थियो ।

यो प्रस्तुतिमा कलाकारहरूले बाघ, भेडा, बाँदरजस्ता विभिन्न जनावरको मुकुन्डो लगाएर नाचेका थिए । यो नृत्यले हरेक वर्ष फेरिने वर्षचक्र र त्यसमा जनावरहरूको प्रतीकात्मक सम्बन्धलाई प्रष्ट पारेको थियो । अरुणाचल प्रदेशमा प्रचलित सिंह नृत्य पनि आकर्षक थियो । यसमा कलाकारहरू भिक्षु र तीन वटा सिंहको रूपमा मञ्चमा प्रस्तुत भएका थिए । भालेपोथी मृग नृत्यले पनि दर्शकलाई लोभ्यायो ।

अरुणाचलकै बुगुन समुदायको नृत्य र मन्पा समुदायको अर्को धिराङ नृत्य पनि नेपाली दर्शकका लागि रोचक बनेको थियो । अरुणाचलका चर्चित कलाकारहरू ताम्रिन छिरिङ, दोर्जी खाण्डु थुँगन, लोप्सङ छोन्जुर, तेन्जिङ टासी, रिन्चिन ल्हामु, थुक्तेन छोम्बे, कुन्चो ल्हामु, साङ्गे छोमु, दावा योटन, लेकी छोम प्याङ, सबनम ग्लो, नाम्गे वाङ्मो फिन्हया, नवाङ छोटेन, सोनाम पेमा, कुञ्जाङ ल्हाट्रोन, फुन्चु ख्रिमे, रिन्चिन नर्वो लगायतले प्रस्तुति दिएका हुन् ।

नेपालका तर्फबाट सांस्कृतिक संस्थानले हुड्केली र थारू नृत्य प्रस्तुत गर्‍यो । भारतीय संस्कृतिक केन्द्र र भारतीय दूतावासका तर्फबाट भने मञ्जुश्री नृत्य र तामाङ सेलो प्रस्तुत गरिए । कार्यक्रमको उद्घाटन भारतीय कार्यबाहक राजदूत विनय कुमारले गरेका थिए ।

प्रकाशित : चैत्र ५, २०७३ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?